काठमाडौं ःसुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामै संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ ।
निषेधाज्ञा लागू हुँदा गत १६ वैशाखमा संक्रमण दर ४२.०५ प्रतिशत रहेको सुदूरपश्चिममा बिहीबार संक्रमण दर ४४.६५ प्रतिशत छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुुसार १६ वैशाखमा प्रदेशभर पाँच सय ८५ नमुना जाँच गर्दा दुई सय ४६ मा संक्रमण पुष्टि भएको थियो । बिहीबार मात्रै प्रदेशभरि एक हजार सात सय ७६ नमुना परीक्षण गर्दा सात सय ९३ जनामा संक्रमण पुष्टि छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले अहिले कुनै दिन संक्रमण दर ६० प्रतिशतसम्म पुग्ने गरेको बताए । लकडाउनमा संक्रमण र मृत्युदर दुवै बढेको उनले स्विकारे । ‘पहिलो संक्रमण दर ३०–४० प्रतिशतसम्म थियो । अहिले ६० प्रतिशतसम्म पुग्छ,’ उनले भने, ‘संक्रमण भयावह रूपले फैलिसकेको छ ।’
सुदूरपश्चिममा सबैभन्दा पहिले निषेधाज्ञा जारी भएका कैलाली–कञ्चनपुरमा पनि संक्रमण दर घटेको छैन । यी दुई जिल्लामा निषेधाज्ञाको सुरुवातमा भन्दा अहिले संक्रमण दर उच्च रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । बिहीबार मात्र कैलालीमा आठ सय ४६ नमुना परीक्षण गर्दा चार सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा पहिलो दिन यहाँ परीक्षण गरिएका दुई सय ७८ मध्ये एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
१६ वैशाखमा परीक्षण गरिएका ६१ मध्ये ३६ जनामा संक्रमण देखिएको कञ्चनपुरमा बिहीबार ९४ मध्ये ६१ जनामा संक्रमण पुष्टि भएको छ । लकडाउनको सुरुमा पनि कुनै दिन भने संक्रमण दर उच्च देखिएको थियो । संक्रमण बढेपछि यहाँका अन्य जिल्लामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका थिए । अहिले सबै जिल्लामा संक्रमण दर बढ्दो छ । स्वास्थ्य सावधानी नअपनाउँदा निषेधाज्ञामा पनि संक्रमण दर बढेको चिकित्सकले बताएका छन् ।
अधिकांश संक्रमित होम आइसोलेसनमा
प्रदेशमा अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । प्रदेशभरि अहिले १० हजार पाँच सय ८० जना सक्रिय संक्रमित रहेको निर्देशनालयले बिहीबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।धनगढीमा मात्रै एक हजार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका धनगढी उपमहानगरका स्वास्थ्य संयोजक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

