काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा आइपुग्दा बल्ल नेपालमा कोरोना भाइरसको भेरियन्ट पत्ता लागेको छ । हाल मुलुकमा तीब्र रुपमा संक्रमण फैलाउन कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील जारी गर्दै नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, नेपालमा हालसम्म परिवर्तित भाइरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।
मुलुकका विभिन्न भागबाट गत साता संकलित कोरोना संक्रमितका ३५ वटा नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समन्वयमा इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टीग्रेटिभ बायोलोजी , इण्डियामा जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नतिजा अनुसार ९७ प्रतिशत(३४ वटा)मा (बी.१.६१७.२) नयाँ भेरियन्ट पाइएको छ । तीन प्रतिशतमा (बी.१.६१७.१) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलमा उल्लेख छ । ‘यो परिवर्तित भाइरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।’ अपिलमा भनिएको छ ।
डब्लुएचओले सन् २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापि भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण समेत रहेको अध्ययनहरुबाट पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीद्धारा जारी अपील जारी गर्दै संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन अनुरोध गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाई
कोरोना संक्रमणको पोजेटिभ आएका केसहरुको परीक्षण गर्न पठाएका थियौं । जिन सिक्वेन्सिङ गर्दा त्यसको बनावट अहिलेसम्म भेटिएका कोभिड १९का जुन जुन भेरियन्टहरु थिए । त्यो भन्दा फरक आएको छ । अहिले यतिमात्र थाहा छ । फरक आउँदाखेरी रोगको प्रकृति कसरी अगाडि बढ्छ ? ती संक्रमितलाई के के लक्षण थियो ? कतिजनाको मृत्यु पनि भएको छ की ? भन्ने तर्फ पनि अब हामी हेर्छौं । भविष्यमा पनि हेर्दै जान्छौं । त्यसको नामाकरण गर्न पनि बाँकी नै छ । कत्तिको घातक छ ? भन्ने पनि हेर्नु पर्छ । जो जो संक्रमितबाट नमूना संकलन गरिएको थियो । तिनीहरुका लक्षण के के थिए ? भन्ने सोध्नु पर्छ । कतिजना त जीवित नै छन् । उनीहरुबाट अध्ययन गरेर भन्न सकिन्छ । पुरानो भेरियन्टसँग मिल्दाजुल्दा थिए की थिएनन ? त्यसको आउटकम कस्तो भयो ? कति दिनमा ठीक भयो ? मृत्यु कतिजनाको भयो ? यी सबै कुरा हेरे पछि यो कति खतरनाक छ भन्ने भन्न सकिन्छ । अहिले नै त्यो भनिहाल्न सक्ने बेला भएको छैन । हामी अध्ययनमै छौं । यसको जीन सिक्वेन्स हेर्दा खेरी भारतमा भेटिएको भेरियन्ट भन्दा फरक छ । यो भिन्दै छ । यस्तो अन्यत्र कहिंकतै देखिएको छ की छैन भनेर लिटरेचर हेर्न बाँकी छ । अन्त पनि यस्तो खालको देखिएको छ की छैन त्यो हेरिसके पछि कुन ठाउँमा देखियो ? कहाँ कहाँ देखियो ? कहाँ कहाँ यसले प्रभाव पार्यो ? भन्न सकिन्छ । तर, एउटा कुरा जरुर के भन्न सकिन्छ भने यसले हामीले लगाइरहेको भ्याक्सिनले कति प्रिभेन्ट गर्छ ? यसको मृत्युदर कति छ ? यो कति भाइरोलेन्ट छ ? यसले के के असर गर्न सक्छ ? पोष्ट कोभिडमा पनि यसले के के सिक्युलीहरु छोड्छ ? भन्ने कुरा चाहिं विस्तारै खुल्दै जान्छ । बढी खतरनाक पनि हुन सक्छ ।

