काठमाडौँ,विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्।
शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्।
अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए। डा. गेहब्रेयससले भने, “डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।”संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । यही हप्ता विश्वका केही सरकारप्रमुख र खोप निर्माता कम्पनीले यस समस्यालाई सम्बोधन गर्ने काम सुरु गरेको उल्लेख गर्दै त्यसले आफू खुसी भएको पनि उनले बताए ।
महानिर्देशक गेहब्रेयससले केही धनी मुलुकले खोपको धेरै मात्रा किनेको र न्यून जोखिममा रेहका समूहलाई खोप लगाइरहेको बताए । केही मुलुकले बालबालिका र किशोरकिशोरीलाई खोप लगाइरहेको उल्लेख गर्दै उनले यसलाई पुनर्विचार गरी त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन पनि अनुरोध गरेका छन् ।
न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ । अहिले पनि ती मुलुकहरुमा कोरोना संक्रमितको जीवन बचाउन रातदिन खटिरहेका स्वास्थ्यकर्मीले खोप लगाउन नपाएको उनले बताए । अहिलेसम्म न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत मात्रै खोप आपूर्ति भएको उनले बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित सङ्ख्या बढिरहेको देखेर डब्ल्यूएचओको त्यस्तो मूल्याङ्कन आएको हुनसक्ने बताए।के सङ्क्रमितको सङ्ख्या बढ्नु आपत्कालीन अवस्था देखिनका लागि एउटा आधार होइन र?
डा. गौतमले भन्छन्, “सङ्क्रमितको सङ्ख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर छ। शुक्रवार केही घटेको छ। एक सातामा अझ कम हुन्छ होला।”
गौतमले यस बीचमा विशेष अवस्था भनेर डब्ल्यूएचओसँग कुनै विशेष सहायता नमागिएको बताए।उनले भने, “डब्ल्यूएचओले त्यस्तो ठानेको भने उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय गर्नेछ।”
नेपालको अवस्था के छ?
नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ।गएको दुई सातामा नेपालमा एक लाख १० हजार ७६५ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।त्यस्तो सो अवधिमा १,३७१ जनाको मृत्यु पुष्टि भएको छ।तर स्वास्थ्य प्रवक्ताले आपत्कालीन अवस्थाको रूपमा कुनै विशेष सहयोग नलिईकन डब्ल्यूएचओबाट घटना पहिचान र त्यसलाई नियन्त्रणमा राख्न नेपाल कार्यालयबाट सामान्य सहयोगहरू मात्र लिइरहेको बताएका छन्।
उनको भनाइ छ, “नेपालको जोड सरसहयोग लिन परे भारत र चीनसँगै पहिले पहल गर्ने छ। त्यहाँबाट आपूर्तिहरू पनि सहज रूपमा गर्न सकिन्छ।
“नेपालमा सङ्क्रमण सुरु भएयता कुल सङ्क्रमितको २५ प्रतिशत गत दुई सातामा थपिएका हुन् भने कुल मृत्युको २९ प्रतिशत मृत्यु गएको दुई सातामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
शुक्रवारसम्म नेपालका काठमाण्डूमा ३०,४५२ जना सक्रिय सङ्क्रमित छन् भने अन्य दुई जिल्ला रुपन्देही र ललितपुरमा सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्। थप चार जिल्लामा ३५ सयभन्दा बढी, थप पाँच जिल्लामा दुई हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
कुल १९ जिल्लमा १,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।नेपालमा बिरामीका लागि आवश्यक पर्ने अक्सिजन अभाव उच्च रूपमा बढेको र अस्पतालमा शय्या र चिकित्सकहरू अभाव रहेका विवरण आएका छन्।
शुक्रवार बीबीसीको साँझपखमा बोल्ने क्रममा प्रवक्ता गौतमले ‘सङ्क्रमित हुने र अस्पतालबाट छुट्नेको अवस्था नजिक-नजिक आइपुग्ने अवस्थामा’ व्यवस्थापन गर्न सकिने बताएका थिए।
उनले सरकारी अस्पतालहरू सबै अब कोभिड अस्पताल बनेकाले ‘अब शय्या थपिइरहेकोले तीन चार दिन अघिजस्तो समस्या नरहेको’ बताएका थिए। तर निको हुनेको दर केही बढे तापनि शुक्रवार मात्र ८५२० सङ्क्रमित थपिँदा ६१३५ निको भएको विवरण सार्वजनिक भएको थियो। बीबीसी

