काठमाडौँ — कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प्रतिशतसम्म नयाँ प्रजातिको भाइरस पाइएको छ । संक्रमितमा स्कुले बालबालिकाको संख्या उल्लेख्य छ । मन्टेसोरीमा पढ्ने ३ वर्षे बालकमा समेत बेलायती भेरिएन्टसँग मिल्दोजुल्दो भाइरस पाइएको छ । स्कुले बालबालिकामा नयाँ प्रजातिको भाइरस उल्लेख्य देखिएकामा महामारी विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा काठमाडौं, पोखरालगायत ठूला सहरमा स्कुल जाने उमेर समूहमा संक्रमण बढिरहेको जनाउँदै शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन भनेको छ ।
बालबालिकामा संक्रमणको बढ्दो दरले जोखिम समूहका भनिएका बूढापाका, रोगी/बिरामीलाई थप संक्रमण हुने सम्भावना उच्च भएको छ । बालबालिकामा कोभिड–१९ को लक्षण एकदम कम देखिने गर्छ । लक्षण नदेखिए पनि उनीहरू संक्रमण सार्न सक्ने वाहक (एसिम्प्टोम्याटिक क्यारियर) हुन सक्छन् ।
‘बेलायतको भेरिएन्ट कम उमेरमा पनि बढी संक्रामक देखिएको छ । यसबाट हुने संक्रमण बढे हस्पिटल र आईसीयू/भेन्टिलेटरमा बस्ने दर बढ्छ,’ ईडीसीडीका निर्देशक डा. पौडेलले भने । केही दिनयता मुलुकमा कोभिड–१९ भएर सघन उपचारअन्तर्गत आईसीयूमा बस्ने ५० वर्षमाथि र ५० वर्षमुनिका उमेर समूहको संख्या उस्ताउस्तै देखिएको छ । कोरोना संक्रमणले अस्पतालका आईसीयूमा युवासमेत भर्ना हुन थालेका छन् । यसले युवाले बढी लापरबाही गरेको देखिएको चिकित्सकहरू बताउँछन् । केही महिनाअघि मुलुकमा कोभिड संक्रमण उत्कर्षमा रहेका बेला आईसीयूमा ५० वर्ष माथिका संक्रमित बढी हुन्थे । अहिले युवासमेत बढी मात्रामा संक्रमित हुन थाल्दा दैनिक संक्रमण दर ८ प्रतिशत नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार (चैत २६) मुलुकको दैनिक कोभिड संक्रमण दर ८.२८ प्रतिशत देखिएको छ । यो दर चैत २५ गते ७.२६, चैत २४ गते ६.१२, चैत २३ गते ५.८६, चैत २२ गते ५.०९, चेत २१ गते ४.६९ र चैत २० गते ५.०२ प्रतिशत थियो । चैत्र २७, २०७७अतुल मिश्र

