विराटनगर : कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेसँगै नजिकिएको रङ्गहरुको पर्व होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङमा सुरक्षा संयन्त्र सक्रिय भएर लागेका छन् ।
यस वर्ष मोरङमा समुदायस्तरमा होली मनाउन रोक लगाइएको छ । जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समितिले सबैमा आग्रह गरेको छ । समितिको मंगलबार बसेको बैठकले आग्रह अस्वीकार र नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको नयाँ लहरलाई मध्यनजर गर्दै होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय बैठकमा भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । कोरोनाको संक्रमण समुदायस्तरमा फैलन नदिन यसवर्ष समुदायमा होली खेल्न रोक लगाएर कडाइ गरिने उनको भनाइ छ ।
जमघट र भीडभाड गरेर समुदायमा होली खेल्दा कोरोना संक्रमण थप फैलने तथा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने जोखिम बढेपछि होलीका सन्दर्भमा कडा निर्णय लिनु परेको जानकारी प्रजिअ निरौलाले दिए । नेपालसँगको खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा संक्रमण फैलन थालेपछि र कोरोनाका कारण संसारभर नै कडाई भइरहेको अवस्थामा सुरक्षा समितिले होली पर्व समुदायमा मनाउन रोक लगाएको हो ।
प्रजिअ निरौलाका अनुसार यसवर्ष परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन सबैमा अनुरोध गरिएको छ । त्यस्तै होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रमहरु गर्न रोक लगाइएको उनको भनाइ छ । नियमको पालना नगर्नेमाथि प्रचलित कानुन अनुसार कारबाही हुने निरौलाले बताए ।
उनका अनुसार भेलाजम्मा भएर होली पर्व मनाउन रोक लगाउन र भीडभाड नगरिकन परिवारका सदस्यबीच पनि स्वास्थ्य मापदण्डको पालना गर्दै होली खेल्ने वातावरण बनाउन गृह तथा स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको छ । परिपत्र र सुरक्षा समितिको बैठकको निर्णय अनुसार नै कडाई गरिने जानकारी प्रजिअ निरौलाले दिए ।
‘कोरोनाबाट बच्न सकेमा हामीले मनाउने चाडपर्वहरु फेरि पनि आइरहन्छन्,’ उनले भने, ‘त्यही भएर सुरक्षित हिसाबले बाहिरफेरो नगइ सबैले होली मनाउँदा संक्रमणबाट जोगिन सकिन्छ ।’ होलीलाई सुरक्षित र सङ्क्रमणरहित रुपमा सम्पन्न गर्न त्यही अनुसारको जनशक्ति र सुरक्षाकर्मी परिचालन गरिने जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए । होली पर्वलाई लक्षित गर्दै प्रदेश १ को राजधानी विराटनगर लगायत मोरङ जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारेर लगिएको उनको भनाइ छ । होली लक्षित सुरक्षा व्यवस्था मिलाउन र आवश्यक सुरक्षाको प्रबन्ध गर्न एसपी खड्का आफै प्रहरी टोली लिएर फिल्डमा निस्कने भएका छन् । फिल्डमा रहेर उनले सुरक्षा व्यवस्था मिलाउनेदेखि लिएर आवश्यक सुरक्षाकर्मी परिचालनसम्मको नेतृत्व सम्हाल्ने भएका छन् ।
एसपी खड्काले कोरोना फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको अवस्थामा जबरजस्ती र इच्छाविपरीत लोला हान्ने, रङ्ग दल्ने तथा अन्य गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने जानकारी दिए । होलीलाई सुरक्षित बनाउन पोसाक र हतियारसहितका तथा सादा पोसाकका सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिसकिएको उनको भनाइ छ । नियमविपरीत जाने जोकोहीलाई पनि छुट दिन नसकिने र तत्काल कानुनी कारबाहीको दायरामा ल्याइने एसपी खड्काले स्पष्ट पारेका छन् ।

