काठमाडौं : श्वासप्रश्वासका माध्यमबाट सर्ने क्षयरोगबाट नेपालमा दैनिक औसत ४६ जनाको मृत्यु हुने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा वार्षिक १७ हजार क्षयरोगीको ज्यान जाने गरेको बताए। यस तथ्यांकलाई आधार मान्दा दैनिक औसत ४६ जनाको मृत्यु हुने गरेको देखिन्छ। नेपालमा औसत २५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको छ।
आर्थिक वर्ष २०७५/७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार प्रत्येक वर्ष करिब ६९ हजार क्षयरोगी थपिने गरेका छन्। हाल नयाँ तथा पुराना क्षयरोगीको संख्या १ लाख १७ रहेको केन्द्रले जनाएको छ। जसमध्ये झन्डै ४१ हजार नयाँ बिरामी उपचारको दायरामा नआएको निर्देशक डा. भट्टचनले सुनाए। क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेको केन्द्रले जनाएको छ।
यस्तै पछिल्लो १९ महिना अवधिमा बाँकेमा ५८ क्षयरोगीको मृत्यु भएको छ। साउनदेखि पुससम्म २० जनाको ज्यान गएको छ। १९ महिनामा ४१ पुरुष र १७ महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक छ। क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन मानव नेपालीका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ३८ जनाको मृत्यु भयो।

