कैलाली- सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार भारतबाट फर्केर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका एक जनामा कोरोना पुष्टि भएको छ।
नाकामा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
बैतडीको दोगडाकेदार गाउँपालिका घर भएका ती युवामा कोरोना पुष्टि भएसँगै अहिले स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा राखिएको स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले बताए। ‘कोरोना पुष्टि भएको छ’, अवस्थीले भने, ‘दोस्रो चरणको हो वा होइन भन्ने अहिले भन्न सकिने अवस्था छैन।’
भारतमा धमाधम अहिले दोस्रो चरणका कोरोना संक्रमण फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको छ।
भारतका केही प्रदेशमा पुनः लकडाउन गर्न लागिएपछि रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरु पुनः स्वदेश फर्किन लागेका छन्। स्वदेश फर्किन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको निर्देशक अवस्थीले बताए।
कोरोना भाइरसको पहिलो चरणको महामारी सुरु हुँदा भारतबाट सुदूरपश्चिम प्रदेशका थुप्रै नेपालीहरु स्वदेश फर्किँएका थिए। त्यो क्रममा उनीहरुकै माध्यमबाटसमेत नेपालमा कोरोना संक्रमण फैलिएको थियो।
भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिएझै दोस्रो लहर पनि फैलिने जोखिम बढेको डा. अवस्थीले बताए। ‘पछिल्ला दिनमा नेपालमा मानिसहरूको व्यवहार पुनः पुरानै अवस्थामा फर्किनु पनि चिन्ताको विषय हो’ डाक्टर अवस्थीले भने, ‘मानिसको यस्तो व्यवहारले सिस्टम थाक्न थालेको छ। त्यही मौका हेरेर बसेको कोरोना पुनः सक्रिय बन्न सक्छ।’
कोभिड–१९ पहिलो लहरलाई फैलन नदिन भारतबाट स्वदेश फर्केकालाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको थियो भने संक्रमितहरुलाई आइसोलेसनमा राख्ने गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका आइसोलेसन बन्द अवस्थामा छन्।
आज एक जनामा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य निर्देशनालय दीपायलले चार जिल्ला स्वास्थ्य कार्यालयलाई नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याउन पत्र पठाएको छ।
गड्डाचौकी र त्रिनगर नाकामा राखिएको हेल्थ डेस्कले परिक्षण गर्न सुरु गरेको निर्देशक अवस्थीले बताए। हामीले अहिले भारतबाट घर फर्कने नागरिकलाई गड्डाचौकी र गौरिफण्टामा हेल्थ डेस्क राखी पुनः परिक्षण शुरु गरेका छौं अवस्थीले भने, बन्द रहेका आइसोलेसनलाई सञ्चालनमा ल्याउन स्थानीय तहहरुसँग अनुरोध गरिएको छ।

