काठमाडौं : महामारीको रूप लिएको कोरोना भाइरस संक्रमण कायमै छ। पछिल्लो २४ घण्टामा ८७ जनालाई संक्रमण पुष्टि भएको छ। दक्षिण एसियामा कोरोना खोप लगाउने दोस्रो मुलुक नेपालमा पनि मन्त्री र सांसदले खोप लगाएका छन्। सर्वसाधारणका लागि सरकारले घरदैलोमा फागुन २३ गतेदेखि खोप अभियान सञ्चालन गरेको छ।
सांसद र मन्त्रीको प्रतिक्रिया
सतर्कता पनि अपनाउनु पर्छ
संसद् अधिवेशनको आह्वान भएको बेला ठ्याक्क खोप लगाउन पाइयो। पहिलो चरणको खोप लगाएको ८ देखि १२ सातापछि दोस्रो डोज खोप लगाउनुपर्छ। खोप लगाउन पैसा तिर्नु पर्दैन। खोप लगाएपछि ढुक्क हुनु हुँदैन। सतर्कता पनि अपनाउनुपर्छ। मास्क लगाउनुहोस्। भौतिक दूरी कायम गर्नुहोस्। साबुनपानीले हात धुनु होस्। संक्रमणको जोखिममा रहेका ज्येष्ठ नागरिकलगायत सबैले निःशुल्क खोप लगाउनु होस। खोप लगाएको छु भनेर हेलचेक्र्याईं नगर्नुहोस् ।
माधवकुमार नेपाल, सांसद, नेकपा
थप खोप खरिद गर्ने प्रक्रिया
सहजतापूर्वक नै खोप लगाएँ। छलफल गर्दा सबैलाई खोप उपलब्धताको चिन्ता रहेको पाएँ । खोप अभियान जारिरहन्छ कि रहँदैन भन्ने जिज्ञासा छ। खोपप्रतिको धारणा सकारात्मक पाएँ। जिल्लामा पनि उत्साह छाएको छ। सम्बन्धित मुलुकको सहयोग बेगर खोप प्राप्त गर्न कठिन छ। थप ५० हजार डोज खोप खरिद गर्ने प्रक्रिया पनि अघि बढेको छ। प्रदेश सरकारको भूमिका पनि महŒवपूर्ण छ। आपसमा समन्वय भइरहेको छ। सरकार के को लागि हो ? जनताको जीवनसँग जोडिएको विषयमा पनि सरकारले काम गर्दैन भने त्यस्तो सरकारको के काम भयो र ? खोप लगाए पनि मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्नुपर्छ।
हृदयेश त्रिपाठी मन्त्री, स्वास्थ्य तथा जनसंख्या
खोप सबैले लगाउनुपर्छ
कोरोनाविरुद्धको खोप लगाउने मुलुकमा नेपाल दक्षिण एसियामा दोस्रो हो। कोरोना संक्रमणबाट सुरक्षा प्रदान गर्न खोप सबैले लगाउनु पर्छ। खोपप्रति अविश्वास गर्न आवश्यक छैन। विभिन्न अध्ययन अनुसन्धानपछि खोपको आविष्कार भएको छ। प्राथमिकताका आधारमा पहिला र दोस्रो खोप लगाउन हार्दिक अनुरोध गर्न चाहन्छु।
ईश्वर पोखरेल, उपप्रधानमन्त्री।
खोप अभियानमा सहभागी बनौं
खोप लगाउन पोखराबाट काठमाडौं आएँ। सरकारले खोपको खरिद र उपलब्धतामा गरेको कार्य सराह्रनीय छ। सबैजना खोप अभियानमा सहभागी भइदिनुहोस्। अग्रपंक्तिमा कार्य गर्नेले लगाइसकेका छन्। अब ज्येष्ठ नागरिकलगायत सर्वसाधारणलाई पनि खोप लगाउने अभियान सुरु हुन लागेको छ। सबैजना खोप अभियानमा उत्साहजनक ढंगले सहभागिता जनाउनु होला।
प्रेमप्रसाद तुलाचन, सांसद नेकपा
खोप लगाउन पाउँदा खुसी
मेरो भिनाजुलाई कोभिड संक्रमण हुँदा एक महिना अस्पताल बस्नु प¥यो। मेरो बहिनी, ज्वाईंलाई पनि संक्रमण भयो। कोरोना संक्रमण हुँदा बहिनीको सासूआमालाई गुमाउन पुग्यौं। खोप कहिले आउला भन्ने लागेको थियो। आपसमा भेटघाट गर्न पनि डर थियो। खोप लगाउन पाउँदा खुसी लागेको छ। खोप लगाउँदा संक्रमणविरुद्धको रोग प्रतिरोधात्मक शक्तिले बढ्छ। सबै जनताले खोप लगाउनु पर्छ।
डिला संग्रौला, सांसद, नेपाली कांग्रेस
भाइरसविरुद्ध लड्ने सामथ्र्य
खोप उत्पादन गर्ने वैज्ञानिकलाई धन्यवाद दिन चाहन्छु। खोप आयात गरेर निःशुल्क लगाउन पाएकोमा नेपाल सरकारलाई पनि धन्यवाद। कोरोना भाइरसविरुद्धको खोपको उपयोगले नकारात्मक असर परेको छैन। कोरोना भाइरसविरुद्ध लड्ने सामथ्र्य खोपले प्रदान गर्छ। खोप लगाउने अभियानमा सहभागी बनौं। खोप लगाएर जीवन रक्षा गर्न सबैलाई हार्दिक आग्रह गर्दछु।
खगराज अधिकारी, सांसद, नेकपा
त्रसित नबनौं
सरकारले विभिन्न उमेरका व्यक्तिलाई खोप लगाउने अभियान अघि सारेको छ। परिवारका सदस्यले घरमा रहनु भएका वृद्धवृद्धालाई खोप केन्द्रमा लगेर खोप लगाउन लैजानु हुन अनुरोध गर्न चाहन्छु। खोप लगाएपछि सामान्य ज्वरो पनि आउन सक्छ। ज्वरो आउनु भनेको खोपले काम गरेको हो भन्ने कुरा स्वास्थ्यकर्मीले बुझाउनु भएको छ। ज्वरो आउँछ भनेर त्रसित नहुनोस्।
गंगा चौधरी, सांसद नेकपा
खोप लगाउने क्रम संसारभर
कोरोनाविरुद्धको खोप लगाएँ। खोपको बारेमा विभिन्न अफवाह पनि सुनिएको छ। अफवाहको पछि नलाग्नुहोस्। कोरोना भाइरसविरुद्धको खोप लगाउनुहोस। खोप लगाउँदा आफूलाई मात्र होइन अरूलाई संक्रमण सार्ने डर हुँदैन। खोप लगाए पनि भौतिक दूरी कायम राख्ने र साबुनपानीले हात धुन छोड्नु हुँदैन। संसारभरि खोप लगाउने क्रम छ। नेपालमा पनि ज्येष्ठ नागरिकदेखि सबै उमेरसमूहका व्यक्तिले सुरक्षित हुनका पनि खोप लगाउन अनुरोध गर्दछु । निःशुल्क दिइरहेको खोप लगाएर कोरोना संक्रमण रोक्नको सहयोग गर्न अपिल गर्दछु।
प्रकाशमान सिंह, सांसद,नेपाली कांग्रेस

