काठमाडौं । हेल्थ फाउण्डेशन नेपालको बोर्ड र कार्यकारी समितिमा नयाँ पदाधिकारी चयन भएका छन्। बोर्डमा निर्देशक बिनिता अधिकारी र उप निर्देशक डा. खगेन्द्र दाहाल चयन भएका छन् । त्यस्तै अध्यक्ष डा. अशोक देवकोटा, उपाध्यक्ष मुना तिम्सिना र डा. मनोज भट्टराई, महासचिव द्रोण पाण्डेय, कोषाध्यक्ष बिमला देवकोटा सहित २३ सदस्यीय कार्यकारिणी समितिको छनोट गरिएको छ ।
सन् २०१२ को शुरुमा अमेरिकामा बस्ने नेपाली युवा स्वास्थ्य व्यवसायी सहित केहि अमेरिकी शुभेच्छुक स्वास्थ्यकर्मीले नेपालको स्वास्थ्य सेवामा योगदान गर्ने ध्येयले फाउण्डेशन स्थापित गरिएको थियो । यसले हाल स्वास्थ्य र कम्प्युटर साक्षरता कार्यक्रम, मानसिक स्वास्थ्य र पुनर्वास, ग्रामीण स्वास्थ्य क्लिनिक, पोषण परियोजना, चेपाङ स्वास्थ्य परियोजना र नसर्ने रोग परियोजना लगायतका क्षेत्रमा काम गरिरहेको छ ।
यस अघि फाउण्डेशनले सातौं वार्षिक सम्मेलन ‘नेपालमा स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल टेक्नोलोजीको सदुपयोग,भविष्य नजिक छ’ भन्ने नाराका साथ सम्पन्न गरेको थियो । दुई दिने उक्त सम्मेलन नोभेम्वर ६ र ७ मा फेसवुक लाइभ र जूमको माध्यमबाट आयोजना गरिएको थियो । सम्मेलनले दुई वर्षको लागि नयाँ कार्यसमिति पनि चयन गरेको हो । जूम र फेसवुक लाइभ गरी १५० भन्दा वढी सहभागी वार्षिक कार्यक्रममा उपस्थित भए ।
२५ हजार डलर संकलन
नोभेम्वर ६ को मनोरञ्जनात्मक साँझमा नेपाल र अमेरिका निवासी चर्चित कलाकारले साँगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । बरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उनले कमेडि प्रस्तुत गरे । गायक स्वरुप आचार्यका कर्णप्रिय गीतका साथ कलाकार सुमन कोइरालाले भरपुर मनोरञ्जन दिए । कार्यक्रममा कलाकारहरु बिपिन घिमिरे, सुजाता वर्मा, स्वजन रघुबंसी, नरेश प्रजापति,हृतिका श्रेष्ठ लगायतले गीत-नृत्य र वाद्यवादन प्रस्तुत गरेका थिए । कार्यक्रममा टेक्सास र ओक्लाहोमा निवासी गायकहरु सुबिन सिल्वाल, रोकेन ब्यञ्जनकार, सूरज भट्टराई, र बिवस लामा लगायत कलाकारहरूले पनि गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मनोरञ्जनका साथ झन्डै २५ हजार अमेरिकी डलर कोष संकलन गरिएको फाउण्डेशनका महासचिव द्रोण पाण्डेयले जानकारी दिए । फाउण्डेशनले वार्षिकोत्सवबाट ५० हजार अमेरिकी डलर संकलन गर्ने उदेश्य राखेको छ । कोष संकलन जारी रहेको महासचिव पाण्डेयले बताए ।
नोभेम्वर ७, दोस्रो दिन वैज्ञानिक शत्र र वन्द सत्र तोकिएको थियो। राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको प्रमुख आतिथ्यमा वैज्ञानिक सत्र सम्पन्न गरिएको थियो । डा. पुनले आविस्कार केन्द्र र फाउन्डेसन को कोभिड १९ को व्यवस्थापनमा गरिएको सहकार्यको प्रसंसा गरे । भविष्यमा अझ वढि सहयोग र सहकार्यको अपेक्षा राख्दै उनले संगठनका लागि विशेष सन्देश र एचएफएनसँग अझ बढी सहयोग गर्ने इच्छा व्यक्त गरे । डिजिटल स्वास्थ्य टेक्नोलोजीका विशेषज्ञ संजय पौडेल, नेपालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवर, संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले कार्यपत्र एवं अनुभव प्रस्तुत गर्नुभयो।
नेतृत्वदायी भुमिकामा रहेका सदस्यहरुले विभिन्न परियोजनाहरू र उपलब्धिहरूको बारेमा प्रस्तुत गरेका थिए । डा. अशोक देवकोटाले २०१९\२० को फाउण्डेशन गतिविधि र आर्थिक विवरण प्रस्तुत गरेका थिए । मानसिक रोग विशेषज्ञ डा. श्रीधर पौडेलले “हेल्थ फाउण्डेशन नेपाल : मानसिक स्वास्थ्य परियोजना’ प्रस्तुत गरेका थिए । डा. मनोज भट्टराईले ‘डिजिटल स्वास्थ्य साक्षरता परियोजना र यसको भविष्य’ प्रस्तुत गरेका थिए । त्यस्तै मुटुरोग विशेषज्ञ डा. यशस्वी पोखरेलले दाङ जिल्लामा फाउण्डेशनद्धारा सञ्चालित मुटु, मिर्गौला, उच्चरक्तचाप लगायतका नसर्ने रोग परियोजना सम्बन्धि अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
हेल्थ फाउण्डेशन नेपाल (नेपाल) का निर्देशक मदन भट्टले ‘एचएफएन नेपालमा एक राष्ट्रिय संगठनको रूपमा विकसित हुँदै’ प्रस्तुत विषयक आधारपत्र प्रस्तुत गरेका थिए । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) का अध्यक्ष डा. भूपेश खड्काले एएनएमएफ र एचएफएनको बिच सहकार्यलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिंदै विशेष सन्देश दिए । एचएफएन नेपालका अध्यक्ष डा. रञ्जन सापकोटाले नेपालमा स्वास्थ्य सेवा सुधार गर्न एचएफएनको भूमिकाका बारे विशेष टिप्पणि गरेका थिए ।

