काठमाडौं । प्यूठान जिल्ला झिम्रुक –७ का नविन बस्नेत पक्राउ परेका छन् ।

१९ वर्षिय बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन (रयापर एशोसिएसन) नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्रि पोष्ट गर्ने , प्रतिक्रिया जनाउने कार्य भइरहेको भन्ने विभिन्न माध्यमबाट सूचना तथा निवेदनको आधारमा पक्राउ गरिएको हो ।
हाल कावासोती नगरपालिका –१६ बस्दै आएका बस्नेत महिलालाई अपमान गरि हैरानी दिने, सामाजिक सद्भाव,शिष्टाचार विरुद्धको सामग्रि पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरि विद्युतीय (ईलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा(१) बमोजिम कसुर गरेको खुल्न आएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी कार्यलय नवलपरासी ( वर्दघाट सुस्तापूर्व) समेतको सहयोगमा असोज ३० गते नवलपरासी कावासोतीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर व्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक नविन्द अर्यालका अनुसार, पक्राउ गरिएका बस्नेतमाथी थप अनुसन्धान भइरहेको छ ।

