काठमाडौं । नेपालमा प्रतिदिन औसत ३७५ रूपैयाँ (३.२ अमेरिकी डलर)भन्दा कम आय हुने नेपालीहरूको अनुपात झन्डै ५१ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ ।
बैंकले आफ्नो वार्षिक बैठकका पूर्वसन्ध्यामा जारी गरेको दक्षिण एसियाली गरिबी प्रतिवेदन (म्याक्रो पोभर्टी आउटलूक२०२०)ले दैनिक १७५ रूपैयाँ (१.५ अमेरिकी डलर)को सीमाभन्दा कमको आयमा जीविका चलाइरहेको नेपालीको अनुपात १५ प्रतिशत रहेको भन्दै त्योभन्दा माथिल्लो सीमामा आधा जनसंख्या न्यून-मध्यम आयको गरिबी रेखामुनि रहेको जनाएको हो ।प्रतिदिन १.९ अमेरिकी डलरको अन्तर्राष्ट्रिय गरिबी सीमारेखाले विकासशील देशहरूको गरिबीको वास्तविक अनुपात देखाउन नसक्ने भन्दै पछिल्लो समयमा न्यून-मध्यम तहमा रहेका देशहरूका लागि ३.२ डलरको सीमा मानिनु पर्ने अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । विश्व बैंकले हालैमात्र नेपाललाई अतिकम विकसितबाट न्यून–मध्यम आय भएको देशको सूचीमा राखेको छ ।
कोरोना भाइरस महामारी कोभिडका कारण नेपालमा सन् २०२० मा गरिबी बढ्ने बैंकले उल्लेख गरे पनि कति प्रतिशतले गरिबी बढ्ने छ भनेको छैन ।‘जीविकोपार्जनमा कोभिडले उत्पन्न गरेका अवरोध र परिवारको खपतमा आएको संकुचनले गरिब, कमजोर र अनौपचारिक क्षेत्र गतिविधिहरूमा संलग्न परिवारहरूमा असन्तुलित ढंगले प्रभावित भएका छन्,’बैंकको प्रतिवेदनमा भनिएको छ,‘यिनै कारणहरूले सन् २०२० मा नेपालमा गरिबी बढ्ने सम्भावना छ ।’
बैंकले गरिबीसम्बन्धी पुरानो (सन् २०१० र ११) तथ्यांकले गरिबीका अनुपातमा सुधार देखाउने तथा राष्ट्रिय श्रम बजारको सन् २०१७ र १८ को तथ्यांकले कोभिड पूर्वका अवस्थामात्र झल्काउने भएकाले गरिबीको अनुपात वृद्धिसम्बन्धि प्रक्षेपणलाई अनिश्चित तुल्याएको बताएको छ ।
कोभिडले श्रम क्षेत्रमा पारेको प्रभावबारे बैंकले क्षेत्रीय सर्वेक्षण गरिरहेको र त्यसबाट प्राप्त हुने नयाँ तथ्यांकले २०२० को अन्तिम चौमासिक अवधिमा रोजगारीमा पारेको क्षति र पुर्नबहालीका लागि विकास क्रमको अवस्था थाह पाउन मद्दत पुग्ने बैंकको विश्वास छ ।बैंकले सन् २०२० मा नेपालको वृद्धिदर ०.२ प्रतिशतमात्रै रहेको र जारी लकडाउन तथा अन्य अवरोधलगायतका कारणले सन् २०२१ मा वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने जनाएको छ । कमजोर आर्थिक वृद्धिदरले गरिबी बढाउनमा भूमिका खेल्छ ।‘नकारात्मक पक्षमा कोभिड कायमै रहेको अवस्थामा निरन्तर अवरोध र राहत कार्यान्वयन गर्नका लागि कमजोर राष्ट्रिय क्षमताले आर्थिक वर्ष २०२१ ९आव २०७७र७८०मा आर्थिक वृद्धिदरलाई ०।१ प्रतिशतमा झार्न सक्छ र सम्भवतः गरिबी बढाउने छ,’ बैंकले भनेको छ ।
तर, यदि कोभिडविरुद्ध प्रभावकारी खोप उपलब्ध भयो भने २ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल हुनसक्ने बैंकको भनाइ छ । बैंकका अनुसार नेपालमा धनी र गरिबबीचको खाडल मापन गर्ने गिनी कोफिसिन्ट सूचक ३२.८ छ ।

