काठमाडौं ।सरकारसँगको वार्ता शुक्रवार भंग भएपछि डा. गोविन्द केसी पक्षधर आन्दोलनमा उत्रिएको छ । काठमाडौं लगायत मुलुकका विभिन्न जिल्लामा डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन भएको छ ।
सहमतिमा कायम गर्नबाट सरकारी वार्ता टोली पछि हटेको जनाउँदै दबाबस्वरुप सोलिडारिटी फर डा. केसी अलायन्सले शनिवार काठमाडौंमा प्रदर्शनमा गरेको छ । डा. केसीका सहयोगी प्रितम सुबेदीले सरकारी संवेदनहिनताका कारण वार्ता प्रक्रियामा अवरोध आएको बताए । उनले अन्नपूर्णसँग भने,‘ सत्याग्रहिलाई मृत्युशैयामा राखेर सरकारले खेलवाड गरिरहेको छ ।डा. केसीका वार्ता टोली र सरकारी वार्ताटोली बीच शनिवार वार्ता हुन सकेन ।’
शनिवार माइतीघरमा गरिएको प्रदर्शनमा बोल्दै डा. केसी पक्षीय वार्ता टोलीका सदस्य एवं अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले वार्तालाई गम्भीरताका साथ नलिएको बताए । शुक्रवार भएको वार्तामा पनि सरकारी टोली पन्छिएको उल्लेख गर्दै उनले भने,‘म्यान्डेट छैन भन्दै सरकारी टोली वार्ताबाट पन्छिएको हो । ’
यसैबीच नागरिक समाज बाँकेको संयोजनमा जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि अनशन सुरु गरिएको हो । त्यसैगरी अनशरनरत डा. केसीको समर्थनमा नुवाकोटका युवाहरुले प्रदर्शन गरेका छन् । शनिबार दिउँसो सदरमुकाम विदुरस्थित लोकतान्त्रिक चोकमा भेला भई उनीहरुले आधा घण्टा प्रदर्शन गरे ।
अनशन त्याग्न आग्रह
२७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयको लेटर प्याडमा विज्ञप्ति जारी गर्दै सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलेसचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रान्त रहेको बेला अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् ।
डा. केसीका मागप्रति सरकार संवेदनशील भएको र असोज २२ र २३ गते सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच मागका सम्बन्धमा छलफल भएको भन्दै अनशन अन्त्य गर्न अनुरोध गरिएको छ । ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड–१९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त भएको अवस्थामा परिस्थितिलाई मनन एवम् आत्मसाथ गर्दै अनसन अन्त्य गरिदिनुहुन प्रा. डा. गोविन्द केसीलाई वार्ता समिति विनम्रतापूर्ण हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा डा. केसीले अघि सारेका सबै माग र विषयवस्तु कार्यान्वयनको चरणमा रहेको दाबी गरिएको छ ।
सरकारले बुधबार शिक्षा सचिव मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा.दिलिप शर्मा सदस्य छन् ।
केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको छ । डा. केसी वार्ता टोलीको सदस्यमा डा अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन ्।
भदौ २९ गते जुम्लाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । डा. केसीको यो १९ औं अनशन हो । आइतबार उनी अनशन बसेको २८ दिन पुगेको छ ।

