काठमाडौं । मुलुकमा शुक्रवार (असोज १६) २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, ९ सय ६५ महिला सहित २७ सय २२ संक्रमितको शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि शुक्रवार काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढेको छ ।
काठमाडौं उपत्यकामा मात्र १६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४ सय ७० महिला सहित १२ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार, काठमाडौं उपत्यका सहित घनावस्ती भएका सहरहरुमा संक्रमण बढेको बढेको छ ।
यो सँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
यसैगरि शुक्रवार कोरोना भाइरस संक्रमणबाट हालसम्मकै सबैभन्दा धेरै निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, तीन हजार ३सय ७ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको छ । यो ७३ दशमलव ६ प्रतिशत हो । यसैगरि कोरोना संक्रमण पनि हालसम्मकै उच्च देखिएको छ ।
शुक्रबार १४ हजार ७ सय ६० जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ७ सय ६० जना रहेका छन् । संस्थागत आइसोलेशनमा ९ हजार ४ सय ७४ जना रहेका छन् । अहिले चार हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । शुक्रबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।
तत्काल लकडाउन हुँदैन ः स्वास्थ्य मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण बढ्दै गएपनि तत्काल लक डाउन घोषणा गर्ने योजना नरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसँग भेटघाटमा मन्त्री ढकालले तत्काल लक डाउन नहुने बताए । हल्लाको पछि नलाग्न अनुरोध गर्दै मन्त्री ढकालले संक्रमणबाट जोगिन सुरक्षा मापदण्ड अपनाउने सोंचको विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

