बुटवल । दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामा हालै गएको पहिरोले विस्थापितको उद्धार र राहतको व्यवस्था तत्काल गर्न सांसद सरस्वती गौतमले माग गरेकी छिन ।
प्रदेश नं ५ को प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले बाढी पहिरोबाट ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचार, विस्थापितलाई राहत,पुनस्र्थापना,बसोबासको व्यवस्था गर्न प्रदेश सभामुख मार्फत ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद गौतमले भनिन, ‘बाढी पहिरो जनधनले मुलुकभर ठूलो क्षति भएको छ । क्षति प्रति दुःख व्यक्त गर्न चाहन्छु । बाढीपीडितहरुलाई राहत र जोखिममा परेकालाई शीघ्र व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
के भएको थियो, बंगलाचुलीमा ?
दाङको दुर्गम मानिने बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिनीमा बुधबार बिहान करीव ३ बजेतिर खसेको पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको थियो । पहिरोले पुर्दा साकिनेकी २४ वर्षिया बाटुली बिक र उनकी २ वर्षिया छोरी आयुष्मा बिकको ज्यान गएको थियो । जेठी छोरी मामा घर गएकोले सकुशल रहेकी छिन् । बाटुलीकी श्रीमानले दुईवर्ष अघि आत्महत्या गरेका थिए ।
घरमा रहेका ५ परिवारमध्ये अन्य ३ जना सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासु, ससुरा र जेठाजु बस्दै आएका थिए । भुईतला मात्रै रहेको सो घरको उत्तर तर्फ सुतेका आमा छोरीको ज्यान जाँदा दक्षिण तर्फ सुतेका अन्य ३ जना भने बाँच्न सफल भएका हुन् । घोराही बजारबाट करीव ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बंगलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा छन । केही दिनयताको लगातारको वर्षातका कारण बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढावाका अधिकांश बस्ती पहिरोको जोखिममा परेपछि स्थानीय १५ घर परिवार बिस्थापित भएका छन् । वडा नं २ मा गएको पहिरोले मिनबहादुरको घर र गोठ पनि बगाएको छ ।
घोराही –स्वर्गद्धारी सडक अनुगमन गर्न माग
सांसद गौतमका अनुसार, अहिले बंगलाचुलीका तीन वटा वडा जोखिममा छन । वडा नं ७ ढावामा १५ घर परिवार जोखिममा भएको कारण चौरमा त्रिपाल टाँगेर राखिएको र जीवन कष्टकर रहेको सांसद गौतमले शुक्रवारको प्रदेश सभा बैठकमा जानकारी दिइन ।
वडा नं २ मा प्रदेश सरकारबाट पर्ने गत वर्षको ५ करोड बजेट असारमा काम शुरु गर्दा वस्ती जोखिममा परेको छ । ‘छरिएको ढुंगा र डोजरले खनेको बाटोमा ढुंगा,माटो यत्रतत्र छरिएका छन । पानी पर्दा पहिरो वस्तीमा झर्ने भएकोले पहिरो खसेमा घरहरु पुरिने संभावना रहेको छ । जनता त्रसित छन ।’ सांसद गौतमले भनिन् । दाङ, घोराही हुँदै प्यूठानको स्वर्गद्धारी पुग्ने वडा नं २ को सडकमा व्यापक भ्रष्टाचार भएको भन्ने जनगुनासो रहेको उल्लेख गर्दै सांसद गौतमले बाटोको अनुगमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएकी थिइन ।

