काठमाडौं । अस्वस्थ महसुस गर्नु भएको छ भने उपचार गराउन जाँदा निजी साधन नै प्रयोग गर्नुहोस । उपत्यकामा संक्रमणको दर बढिरहेकोले सार्वजनिक यातायातको प्रयोग झन जोखिमपूर्ण हुन सक्छ ।
कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सार्वजनिक यातायातमा नचढ्न सुझाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन, ‘अनुहार हेरेर कसलाई कोरोना संक्रमण छ , छैन भन्न सकिंदैन ।कतिपय संक्रमितमा लक्षण पनि देखिंदैन । सबैले सावधानी अपनाउन जरुरी हुन्छ ।’
काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमणका केसहरुमा वृद्धि भइरहेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)का निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उपत्यकाबाहिर बाट प्रवेश गरेका व्यक्तिहरुमा कोरोना संक्रमणका नयाँ लक्षण देखिएको छ । कोरोना संक्रमणको जोखिम यथावत रहेको उल्लेख गर्दै उपचारका लागि बाहेक अन्य बेलामा घरबाहिर ननिस्कन डा. पाण्डेको आग्रह छ । ‘स्वास्थ्य संस्था जानु परेमा सार्वजनिक यातायात प्रयोग नगर्नुहोस । स्वास्थ्य संस्था जाँदा र वा घरपरिवारका सदस्यसँग रहँदा पनि भौतिक दुरी कायम राखेर अनिवार्य मास्क प्रयोग गर्नु पर्छ ।’ डा. गौतमले भने ।
उपत्यका भित्रनेमा कोरोनाका लक्षण
एक महिनायता काठमाडौं उपत्यकामा लक्षण सहितका संक्रमितको संख्यामा वृद्धि भएको छ । झण्डै एक प्रतिशत लक्षण सहितका संक्रमित भेटिएकोमा अहिले वृद्धि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।
जन्मस्थलबाट कर्मस्थल काठमाडौं उपत्यका भित्रने नयाँ आगन्तुकमा कोरोनाका नयाँ लक्षणहरु देखिएको हो । सरकारले साउन ७ गते लक डाउन अन्त्यको घोषणा गरेसँगै उपत्यका भित्रनेको संख्या झन बढेको छ । इडीसीडीका निर्देशक डा. पाण्डेका अनुसार, झण्डै ९९ प्रतिशत संक्रमितहरु लक्षणविहिन छन । डा. पाण्डे भन्छन,‘ काठमाडौंका रैथाने भन्दा पनि बाहिरबाट आएकाहरुमा लक्षण देखिएको छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले पछिल्लो साता बेग्लै खालका लक्षण भएका संक्रमितहरु उपचाररत रहेको बताउँछन । ‘ पहिले पहिले खोकी लाग्ने भनेर पटक पटक भनिरहयौं । अहिले लक्षणहरु अलि फरक खालको देखिएको छ । गन्ध थाहा नपाउने, नाक बन्द हुने , घाँटी खसखस गर्ने , टाउको दुख्ने , बढी थकाई महसुस हुने खालका लक्षणहरु देखिएका छन । ’ डा. राजभण्डारीले भने । खोकी लाग्ने, स्वासप्रश्वासमा जटिलता भएका बिरामीहरुलाई अक्सिजन दिनु पर्ने अवस्था आउने उनले बताए ।
रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार, नयाँ संक्रमितहरुलाई बढीमात्रामा ज्वरो र खोकी लाग्ने को समस्या देखिएको छ । कतिपयलाई श्वासप्रश्वासका समस्या छ । यी सबै कोरोना संक्रमितका लक्षणहरु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यस अघि जनाइसकेको छ । तर, नेपालमा यस अघि लक्षणविनाका संक्रमित फेला परेका थिए ।
नयाँ रोग भएकोले विदेशमा भइरहेका उपचारपद्दति र अभ्यासबाट सिक्नु पर्ने डा. राजभण्डारीले बताए । शुक्रराज अस्पतालमा सघन उपचार कक्ष( आइसीयु)मा तीन जना र आइसोलेसनमा २१ जना गरि २४ जना नयाँ संक्रमितहरु उपचाररत छन । पाटन अस्पतालमा पनि पछिल्लो समय लक्षण सहितका संक्रमित उपचाररत छन ।
सीमापारी भारतको सीतामडि, मोतिहारी, बितिया र सीमावारी नेपालको पर्सा, सप्तरि लगायतका सीमावर्ति जिल्लाबाट आएकाहरुमा नयाँ लक्षण देखिएको चिकित्सकहरु बताउँछन । ‘जन्मस्थलबाट पछिल्लो दुई हप्ताभित्र कर्मस्थलमा फर्कंदा कोरोनाको संक्रमण बोकेर आएको पाइयो ।कोहि नाई छन । कोहि तरकारी र फेन्सि पसले छन । ’ डा. राजभण्डारीले भने । संक्रमणको उच्च जोखिम क्षेत्र (विदेश र सीमावर्ती जिल्ला)बाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने अवस्था रहेको डा. राजभण्डारीको सुझाव छ ।
१८ हजारको परीक्षण गरिने
कोरोना संक्रमणको परीक्षणको लागि पीसीआरको परीक्षणको दायरा बढाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, प्रयोगशालाको क्षमता प्रति दिन ६ हजार ३ सय ६० जनाको रेकर्ड रहेको छ । नयाँ सरकारी र नीजि ल्याबमा ३ हजार परीक्षण गर्न सक्ने क्षमता छ । ११ वटा एक्सटेन्सन मेशिन जडान पछि परीक्षण दायरा झन फराकिलो हुने छ । हालसम्म मुलुकभर पीसीआर परीक्षण गर्न सक्ने क्षमता १८ हजार १ सय ६० छ । उनले भने, ‘निकट भविष्यमै दिनमा १८ हजार १ सय ६० परीक्षण गर्न सकिने छ । ’

