काठमाडौं । मास्क नलगाई लखरलखर हिंडडुल गर्दै हुनुहुन्छ भने अबदेखि सचेत हुनुहोस । अन्यथा ठाउँको ठाउँ जरिवाना तिर्नु पर्ला नि । मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गराउने भएको छ ।
मास्क र सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्काबीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ जरिवानाको व्यवस्था गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई जरिवाना रसिद नै पठाइसकेको छ ।परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले प्रशासनबाट १ सय रुपैयाँ दरको जरिवाना रसिद आइसकेको बताए ।
संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैवा जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।‘प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सावधानी नअपनाउनेलाई ठाउको ठाउ जरिवाना लिएर कारबाही गर्न निर्देशन दिइसक्नु भएको छ, बिहीबार नै प्रशासनबाट आवश्यक मात्रामा जरिवाना रसिद नै पाइसकेका छौं,’ ज्ञवालीले भने ।
अब सार्वजनिक स्थलरसडक तथा गल्लीमा प्रहरी परिचालन गरेर मास्क नलगाउनेबाट जरिवाना असुलिने उनले स्पष्ट पारे ।‘जोखिम बढ्यो तर मानिसमा संक्रमणको त्रास र डरको मात्रा घट्दै गएको पाइयो ।थुनेर पनि सम्भव छैन, जरिवानाको अनुभूति भएपछि कानुन कार्यान्वयनमा सहज हुन्छ भनेरै मास्क नलगाउनेलाई कारबाही गर्न लागिएको हो ।’एसएसपी ज्ञवालीले भने ।

