काठमाडौं । कोरोना भाइस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले शुक्रबार केही महत्वपूर्ण निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै सीसीएमसीले जेठ ६ गते विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
लकडाउन खुकुलो हुँदा संक्रमण बड्दै गएको भन्दै केन्द्रले अत्यावश्यक काम नभएर बाहिर ननिस्कने र बाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।
केन्द्रको बैठकका ९ निर्णय
क्वारेन्टाइनको स्तर विस्तार गर्दै लाने र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिने,
संक्रमण बढ्दै गएपछि आइसोलेसन केन्द्र व्यवस्थापन गर्ने । त्यसको जिम्मा प्रदेश सरकारलाई दिने, (रोजगारी दिने देश र रोजगारदाता कम्पनीले पनि खर्च नदिने श्रमिकको उद्धारका लागि गाइडलाइन बनाउने र शव व्यवस्थापनको निर्देशिका तयार गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई दिने,
स्वास्थ्य सामग्रीको थप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिने,
कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी र परिवारका सदस्यलाई आवश्यकता हेरेर जान र आउन छुट दिने,
वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकका हकमा श्रम मन्त्रालय र पढ्न जाने विद्यार्थीका हकमा शिक्षा मन्त्रालयलाई आवश्यकता हेरेर निर्णय गर्ने जिम्मेवारी,
कोरोना रोकथामाका लागि ३५ करोड रुपैयाँ प्रदेश मार्फत् पालिकालाई दिन निकासा,
कोरोना संक्रमण फैलिएको अवस्था हेरेर पालिकालाई पूर्ण सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिने । त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने,
क्वारेनटाइनको खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिनेलगायत निर्णय सीसीएमसी केन्द्रले गरेको हो ।
केन्द्रले कोरोना संकटमा २४ घण्टा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सञ्चार मध्यम र सबै निकायलाई आह्वानसमेत गरेको छ ।

