काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको जेठ २० गते ज्यान गएको हो।
मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो। मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन्।
मुख्यमन्त्री शाहले भनेका छन्, ‘ कोरोनाबाट बलोचको निधन भएको छ । उनी पार्टीका मेहनती र कर्मठ सदस्य थिए। उनको प्रतिस्थापन गर्न कठिन हुनेछ।’
अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ हजार ६२१ को मृत्यु भइसकेको छ। त्यस्तै ७६ हजार ३९८ संक्रमित हुँदा २७ हजार ११० निको भइसकेका छन्।

