काठमाडौं । कोरोना भाइरसको जोखिम न्युनिकरणको लागि सरकारले लक डाउन (बन्दाबन्दी) पछि खोप सेवा स्थगित हुँदा धादिङमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाटका ८ महिनाको बालक र २९ महिनाकी बालिका छिन ।
गत चैत २५ गते बालिकाको ज्यान गएको हो । त्यस्तै चैत ११ गते बालकको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । धादिङको बेनिघाटमा दादुराको संक्रमण बढी देखिएको छ । बेनिघाटमा १ सय १३ जनामा दादुरा संक्रमण देखिएको छ । गम्भीर अवस्थामा उपचारका लागि काठमाडौंको कान्ति बाल अस्पतालमा तीनजनालाई रेफर गरिएको थियो । उपचार पछि ती बालबालिका डिस्चार्ज भइसकेको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए ।
सात जिल्ला प्रभाव
धादिङ सहित सात वटा जिल्लामा दादुरा संक्रमण देखिएको छ । चार महिनादेखि ४० वर्ष उमेरका व्यक्तिहरुमा दादुरा देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
झापाको दमकका २१ वटा केस पाइएको थियो । त्यस्तै, ललितपुरको खोकनामा १८, काठमाडौंको कागेश्वरीमा १४,चितवनको राप्तीमा ८ ,सर्लाहीको बागमतिमा ६ र गोरखाको गण्डकी पालिकामा ५ वटा केस देखिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । काठमाडौंको कागेश्वरी र गोरखाको गण्डकीमा बैशाखमा दादुराका विरामी फेला परेका हुन ।पछिल्ला पाँच महिनायता धादिङ, झापा, सर्लाहि, ,काठमाडौ, ललितपुर चितवन, गोरखा गरि सातवटा जिल्लामा १ सय ८५ दादुराका विरामी भेटिएका छन ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक गौतमका अनुसार, प्रयोगशालामा गरिएको परीक्षण र चिकित्सकले जाँच गरेको आधारमा दादुराको संक्रमण पुष्टि भएको हो । ‘चार महिनादेखि ४० वर्षसम्मका खोप नपाएकामा दादुरा देखिएको छ ।’ उनले भने । दादुरा भएका विरामीमा भिटामिन ए लगायतको औषधिद्धारा उपचार गरिएको डा. गौतमले जानकारी दिए ।
खोप सुरु
वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार, कोरोना भाइरसको महामारिको समय पनि भएकोले खोप सेवा संचालनका लागि जारी गरिएको मार्ग दर्शनको अनुसरण गर्न निर्देशन दिइएको छ ।
दादुराको प्रकोप बढेपछि बैशाख १७ गतेदेखि धादिङमा दादुरा रुबेलको खोप सेवा शुरु गरिएको छ ।बैशाख २३ गतेसम्म सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको डा. गौतमले बताए ।
दादुरा प्रकोप क्षेत्रमा रहेका ६ महिनादेखि १५ वर्षसम्मका करीब २० हजार बालबालिकालाई खोप दिने कार्यक्रम रहेको डा. गौतमले बताए । खोप लगायतका आधारभुत स्वास्थ्य सेवाहरु समुदायमा रहेका स्वास्थ्य संस्थाले नै संचालन भए ÷नभएको यकिन गरि व्यवस्थापन र अनुगमन गर्नुपर्ने डा. गौतमको भनाई छ । ‘कोरोना भाइरसको त्रास भइरहेको विषम अवस्थामा राज्यको तीनवटै तहबीच समन्वय र सहजीकरण हुनु आवश्यक छ । ’ डा. गौतमले भने ।खोप र खोपजन्य सामग्रीको लागि कम्तीमा तीन महिनासम्मको लागि मौज्दात रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप सामग्रीको नियमित ढुवानी समेत भइरहेको छ । मुलुकभर १६ हजारभन्दा बढी खोप केन्द्रहरु रहेका छन ।
डा. गौतमका अनुसार, खोप सेवा संचालन गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने छ । खोप दिंदा कम्तिमा ३ देखि ६ फिट दुरी कायम राख्नु पर्ने डा. गौतमले जानकारी दिए । खोप दिने स्वास्थ्यकर्मीले पनि अनिवार्यरुपमा सर्जिकल मास्क, डिस्पोजेबल पन्जा प्रयोग गर्ने र आवश्यकता अनुसार नियमित साबुन पानीले हात धुनु पर्ने मार्गदर्शनमा उल्लेख छ । त्यस्तै, निरन्तर हयाण्ड सेनिटाइजरको प्रयोग गरेर खोप सेवा संचालन गर्नुपर्ने छ ।

