कोरोना भाइरस परिवारमा कोभिद-१९ सबै भन्दा कान्छो र अरु प्रजातिको तुलनामा कमजोर देखिन्छ।आगामी दिनहरुमा यो भाइरसको बारेमा थप जानकारी आउदै गर्दा आजको मितिसम्मको तथ्यांकलाई आधार मान्ने हो भने बिगतमा देखिएको बिशेष गरेर कोरोनाका अरु प्रजातिहरु जस्तै मर्स तथा सार्स कोरोना भाइरस भन्दा यसको मृत्युदर धेरै कम देखिन्छ।यधपी यसको प्रशारण गति तिब्र र संख्याको हिसाबमा धेरै हुनसक्दछ। हाल यसको मृत्युदर ३ देखि ४ प्रतिशतको हाराहारीमा देखिएको छ भने मर्स झन्डै ३० र सार्स १० प्रतिशतको हाराहारीमा छ। झन्डै ८० प्रतिशत जतिमा कोभिद-१९ को संक्रमण सामान्य हुने, र ति व्यक्तिहरु स्वस्थ केन्द्रसम्म नआउदा तिनीहरुको गणना मृत्युदरको प्रतिशतमा जोडिएको छैन। तर यदी ति व्यक्तिहरु पनि तथ्यांकमा समाबेश गरिएर हेर्ने हो भने कोभिद-१९ को मृत्युदर अति न्यून हुने निश्चित छ।यसमा धेरै बैज्ञानिकहरु पनि सहमत भएको देखिन्छ। यस मानेमा यो कोभिद-१९ प्रजाति बिशेष गरेर अरु महामारीको रुपमा फैलिएको कोरोना परिवारको अरु प्रजाति भन्दा धेरै कम घातक भनिएको मान्न सकिन्छ।
चीनको वुहान शहरबाट फैलीएको अनुमान गरिएको यो भाइरस चीन बाहिर हाल विश्वको झन्डै एक सय असी देशहरुमा फैलिसकेको छ।कोभिद-१९ बिभिन्न कारणहरु ती देशहरुमा पुगेको भएता पनि ती सबै देशहरुमा सो भाइरसले समुदायमा व्यापकता पाएको भने होइन।विश्वका हरेक देशका मानिसहरु भने आफ्नो देशमा यसले भयाबह स्थिति ल्याउछ कि भनेर त्रासमा बाचेको भने देखिन्छ जुन नेपालमा पनि छ। यसो भन्दै गर्दा हामीले गएको ३ महिनामा यसले कति देशमा भयाबह स्थिति ल्यायो भनेर संख्यामा हेर्ने गरेको देखिदैन। संचार मध्यमहरुबाट आउने समाचारमा पनि संक्रमण फैलिएको देशको संख्या हेर्ने र महामारी फैलिएको देशहरुको बारेमा बढी चासो दिने/ लिने गरेको पाहिन्छ तर यस्तो भयाबह स्थिति कति देशहरुमा थियो वा छ भनेर कसैले पनि सोचेको भने पाहिदैन।वास्तवमा भन्नु पर्दा अहिलेसम्म चीन, कोरिया, इरान र इटालीमा यो भाइरसको अति प्रभाबमा परेको देखिन्छ।अर्को शब्दमा भन्नु पर्दा,विश्वमा कोभिद-१९ देखिएको लगभग २ प्रतिशत देशहरुमा मात्र यसले भयावह महामारीको रुप लिएको देखिन्छ। अरु केहि देशहरुमा कोभिद-१९ शुस्त गतिमा रहेको वा नियन्त्रणमा राखेको देखिन्छ।यसको मतलब कोभिद-१९ पुगेको विश्वको हरेक देशहरुमा यसले उत्तिकै प्रभाब वा मानबिय क्षति पार्न सक्ने क्षमता नराख्ने प्रष्टै देखिन्छ।
हाल विश्वमा कोभिद-१९ र फ्लु भाइरस संगसंगै घुमेको देखिन्छ।यो पंक्तिकारले कोभिद-१९ महामारीको उत्कर्षमा पुग्दा एक व्यक्ति चीन पुगेर फर्कने बित्तिकै उच्च ज्वरो आउने, श्वास प्रश्वासमा कठिनाई हुने र खोकी लाग्ने भएर अस्पताल आउदा स्वस्थ परिक्षण र उपचार गरेको थियो ।जो कोहिले पनि ति व्यक्तिमा कोभिद-१९ को संक्रमण भएको हुनसक्छ भनेर शंका गर्न सक्दछ र त्यो सोच गलत पनि होइन तर प्रयोगशाला परिक्षणबाट फ्लु “ए”को संक्रमण देखियो अर्थात् त्यो बेलामा चीनमा कोभिद-१९ संगै फ्लुको भाइरस पनि घुमिरहेको प्रष्टै देखिन्थ्यो।नेपालमा पनि यो पंक्तिकारले सिन्धुपाल्चोकको एक गाउमा लगभग पुरै रुघा खोकी ज्वरो देखिदा धेरैले त्यसलाई कोभिद-१९ को संक्रमण होला भनेर शंकामा त्रासमा बसेको पाइएको थियो तर बिरामीहरुको नमुना परिक्षण गर्दा हंगकंग फ्लुको नामले चिनिने फ्लु “एच ३” देखियो। हामीले फ्लु वा रुघा खोकी लाग्दा पनि सबैभन्दा पहिले कोभिद-१९ लाई नै बढी प्राथमिकता दिदा रहेछौ भन्ने देखिन्छ।बितेका चार पाच महिनामा अमेरिकामा मात्र अनुमानित झन्डै १३ देखि २२ हजारको हाराहारीमा फ्लुबाट उत्पन्न जटिलताबाट त्यहाका नागरिकहरुको मृत्यु भएको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जनाएको छ।तर कोभिद -१९ ले तिन महिना बितिसक्दा पनि आजको मितिसम्म बिश्वभरिको मृत्यु हुनेको संख्या दश हजार भन्दा पनि कम भएको देखिन्छ।यसको अर्थ कोभिद-१९ को कारणले थप धेरै मानिसको मृत्यु होस् भन्न खोजिएको होइन तर फ्लु भाइरसको तुलनामा यो भाइरस धेरै कमजोर रहेछ भन्ने प्रष्टै देख्न सकिन्छ यधपी यस संक्रमणको उतार चाडप आगामी दिनमा कस्तो हुन्छ भनेर हेर्न अरु केहि हप्ता भने कुर्नु पर्ने नै हुन्छ।
फ्लु र कोभिद-१९ को सर्ने प्रकृति र लक्षणहरु लगभग उस्तै भएकोले पनि यहाँ तुलना गर्न खोजिएको हो।फ्लुले बिशेष गरेर बालबालिका, दिर्घ रोगी तथा बृदबृदा आधिलाई बढी प्रभावित पारेको देखिन्छ।फ्लु भाइरसले युवाहरुलाई पनि उत्तिकै जोखिममा पारेको देखिन्छ तर कोभिद-१९ को बारेमा गरिएको अनुसन्धानहरुको निस्कर्षले बालबालिकाहरुमा यसको प्रभाब लगभग नगन्य वा शुन्य प्राय भएको देखाएको छ।अझ नवजात शिशुमा समेत कोभिद-१९ को संक्रमण देखिदा पनि कडा अथवा मृत्यु नभएको देखिएको छ ।यसले बिशेष गरेर बृदबृदा त्यो पनि ७०-८० बर्ष भन्दा माथिकोलाई मात्र बढी प्रभावित वा बढी मृत्यु गराएको देखिएको छ ।यसरी सरसर्ती हेर्दा, कोभिद-१९ को बिशेष प्रभाब एउटा मात्र उमेर/समूह प्रति बढी/बिशेष लक्षित भएको देखिन्छ।
विश्व स्वस्थ संगठनका अनुसार फ्लु भाइरसले संक्रमण गरेको दिनदेखि देखि लक्षण देखिने समयसम्मको अवधि कोभिद-१९ को भन्दा छोटो हुने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने समय अन्तरल पनि कोभिद-१९ भाइरसको भन्दा छिटो छिटो हुने उल्लेख गरेको छ।यसबाट पनि कोभिद-१९ को एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गति फ्लु भाइरसको भन्दा कम भएको देखिन्छ।नेपालमा देखिएको पहिलो कोभिद-१९ को बिरामीबाट नजिकको सम्पर्कमा आहेका अरु व्यक्तिमा सरेको देखिदैन/छैन तर फ्लुको संक्रमण बिद्यालय/गुम्बा/ वा सार्बजनिक स्थलहरुमा कसैलाई देखे लगभग त्यहाँ भएका सम्पूर्ण व्यक्तिहरुलाई पनि त्यहि समयमा संक्रमण हुने गरेरको प्रशस्त उदाहरणहरु छन।यसबाट पनि कोभिद-१९ को भाइरस सर्ने/सार्ने कुरामा पनि फ्लु भाइरस भन्दा कम क्षमता रहेछ भन्ने देखिन्छ।
चीनका अनुसन्धानकर्ताहरुले कोभिद-१९ ले फेरी दोश्रो पटक संक्रमण गरेमा यसको लक्षण कडा नहुने वा रोग नै नदेखिने प्रारम्भिक तर सानो अनुसन्धानको नतिजा हालै सार्बजनिक गरेको थियो।यो अनुसन्धान बादरमा गरिएको थियो।यो अनुसन्धान प्रारम्भिक चरणमा रहेको भएपनि यसले एकपटक संक्रमण गरिसकेकोलाई फेरी बिरामी बनाउन नसक्ने रहेछ भन्ने संकेत भने गरेको देखिन्छ।यधपी यसप्रकारको अनुसन्धान मानबमा गरेपछि अझ प्रष्ट हुनेछ।तर फ्लुले भने हरेक सिजनमा आफ्नो जेनेटिक रुपलाई परिवर्तन गर्दै (नेपालमा बिशेषत मार्च र अगस्त महिनामा) अत्यधिक मानिसलाई संक्रमण गरी मृत्यु समेत गराउने गर्दछ।यसर्थमा, भोलि कोभिद-१९ बिरुद्धको खोपको विकास भएको अवस्थामा सो खोपले अत्यधिक वा पूर्ण सुरक्षा दिन सक्ने देखिन्छ तर फ्लु भाइरसको खोप विकास भैसकेको भएपनि यसले पूर्णरुपमा सुरक्षा दिने गरेको दिदैन।
कोभिद-१९ भाइरस, कोरोना परिवारको सबै भन्दा कान्छो र नया प्रजाति भएकोले मानिसहरुमा कौतुहलता/जिज्ञासा र धेरै जानकारी थाहा नभएकोले संगसंगै त्रासको शृजना पनि गरेको छ।धेरैको मन मस्तिष्कमा कोभिद-१९ को संक्रमण हुने बितिकै मृत्यु हुन्छ भन्ने छाप ब्याप्त भएको पाहिन्छ। तर कोभिद-१९ भाइरस आफनै कोरोना भाइरस परिवारमा अरु प्रजाति भन्दा कम घातक र उस्तै लक्षण तथा सर्ने प्रकृति भएको फ्लु भाइरसको तुलनामा कम सक्रिय हुने देखिएको छ।त्यसो हो भने, “के कोभिद-१९ भाइरस हामीले सोचे भन्दा कमजोर रहेनछ त?” संयोजक, क्लिनिकल रिसर्च युनिट,शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

