काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको पहिचान गर्न चार महिनाको अवधिमा एक लाख भन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । जसमध्ये ४ सय २ जना संक्रमित भेटिएका छन । जसमध्ये एक जना सरकारी चिकित्सक समेत छन ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)बाट संक्रमितको कन्ट्याक्ट टे«सिङमा संलग्न चिकित्सकलाई कोरोना संक्रमण पोजेटिभ पाइएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले अग्रपङतिमा रहेर कन्ट्राक्ट टे«सिङमा संलग्न चिकित्सकमा कोरोना संक्रमण पोजेटिभ पाइएको पुष्टी गरे । उनले भने,‘कन्ट्याक्ट टे«सिंङमा संलग्न रहेको बेला कोरोना भाइरस संक्रमण भएको हुन सक्ने आशंका छ ।’ कपिलवस्तु जिल्लामा उनी कन्ट्याक्ट ट्रेसिङमा गएका थिए ।
संक्रमित चिकित्सकको बारेमा विस्तृत खुलाइएको छैन । उनी २३ वर्षका हुन । छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका ती चिकित्सक पहाडी जिल्लाका हुन । तर, उनको अस्थायी ठेगाना भने ललितपुर रहेको छ ।‘छात्रवृत्तिमा एमबीबीएस सकेर कोरोना संक्रमणको टे«सिङका लागि काम गरिरहेका थिए ।’ महानिर्देशक श्रेष्ठले भने । ती चिकित्सक करारमा संलग्न थिए । यी चिकित्सकसँगै हालसम्म तीन जना नर्समा कोरोना संक्रमणको पुष्टी भइसकेको छ । सबैजना आइसोलेसनमा रहेका छन ।
३६ जिल्लामा संक्रमण फैलियो
विगत चार महिनाको अवधिमा मुलुकका ३६ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ । कोरोना पोजेटिभ भेटिएका मध्ये पुरुष ३ सय ४० जना र महिला ६२ जना रहेका छन ।संक्रमितमध्ये दुई जनाको ज्यान गएको छ भने ३७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन । संक्रमित भए ÷नभएको छुट्याउन दुईवटा विधिबाट १ लाख ७ हजार बढीको परीक्षण भएको छ । रगतबाट जाँच गरिने द्रुत विधि आरडीटि परीक्षणको संख्या ७४ हजार ६ सय ४९ पुगेको छ । त्यस्तै खकारबाट संकलन गरि गरिने परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर)विधिबाट गरिने परीक्षण ३२ हजार ६ सय ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार,गत चौबिस घण्टामा पीसीआर विधिबाट २ हजार २ सय ८० भएको छ । काठमाडौं उपत्यका लगायत मुलुकमा १९ वटा विभिन्न प्रयोगशालामा पीसीआरको परीक्षण भइरहेको छ । फिल्डमा गएर गर्न सकिने आरडीटी विधिबाट ५ हजार ८९ वटा परीक्षण भएका छन ।
गत माघ ९ गतेदेखि नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको थियो । सोहि बेलादेखि आरडीटि र पीसीआर परीक्षण शुरु भएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर परीक्षण शुरु गरिएकोमा चैत दोस्रो सातादेखि काठमाडौं उपत्यका बाहिर पनि परीक्षण विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र्र प्रसाद श्रेष्ठका अनुसार, उमेरगत दृष्टिले संक्रमित म ध्ये अधिकांशको उमेर २१ देखि ३० वर्ष रहेको छ । प्रदेश अनुसार सबैभन्दा बढी संक्रमित प्रदेश नं ५ मा रहेका छन । बागमति र प्रदेश नं ५मा गरि दुईजना संक्रमितको ज्यान गएको छ । सबैभन्दा बढी सीमावर्ती जिल्लामा बाँकेमा संक्रमितको संख्या अधिक देखिएको छ । यस जिल्लामा मात्र ८१ जनामा संक्रमण रहेको छ ।
विदेशबाट आएका व्यक्तिहरुलाई परीक्षणको लागि क्वारेन्टाइनमा राखिएको छ । २१ हजार ६ सय २३ जना विभिन्न क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेहरुमा सबैभन्दा धेरै प्रदेश नं ५का बढी छन । यस प्रदेशमा १३ हजार ६ सय ३८ रहेका छन । मुलुकभर ६१ हजार २ सय ४५ वटा क्वारेन्टाइन बेड संख्या रहेको छ ।
अस्पतालको आइसोलेसनमा बस्नेको संख्या ४ सय ५७ पुगेको छ । काठमाडौं उपत्यका भित्र १७ र उपत्यका बाहिर ४ सय ४० जना आइसोलेसनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । सबैभन्दा बढी प्रदेश नं मा १ सय ८८ जना आइसोलेसनमा रहेका छन । मुलुकभर आइसोलेसन बेड संख्या तीन हजार ४ सय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यका उच्च जोखिममा
काठमाडौं उपत्यकामा गरिएको नमूना परीक्षणमा चिकित्सक सहित नयाँ संक्रमित भेटिएका छन । काठमाडौंमा तीन जना, भक्तपुरमा र ललितपुरमा एक÷एक गरि पाँच जना नयाँ कोरोना पोजेटिभ विरामी फेला परेका छन । ललितपुर जिल्लाका संक्रमित चिकित्सक हुन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को अगुवाईमा संक्रमितको कन्टयाक्ट टे«सिङको कार्य अघि बढाइएको डा. देवकोटाले जानकारी दिए । संक्रमितको स्थायी ठेगाना र काठमाडौंको अस्थायी बसाईका सम्बन्धमा ट्रेसिङ भइरहेको छ ।
त्यस्तै,उपत्यकाको सरसफाई सम्बन्धी केन्द्रहरुमा गरिएको आरडीटी विधिबाट गरिएको परीक्षणमा ३१ वटामा पोजेटिभ पाइएको छ । गोंगबु क्षेत्रबाट लिइएको नमूना संकलनमा १५ वटा पोजेटिभ आएको छ । भृकुटीमण्डप क्षेत्रमा ३२ वटा पोजेटिभ पाइएको छ । २ सय ४६ वटा पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । कालिमाटी क्षेत्रमा गरिएको आरडीटी विधिबाट सात सय नमूना परीक्षण गरिएकोमा तीनवटा पोजेटिभ पाइएको छ ।
काठमाडौं उपत्यका भित्र केहि दिन यता २ हजार २ सय ३६ वटा आरडीटी र १ हजार १९ वटा पीसीआर विधिबाट विभिन्न क्षेत्र र केन्द्रहरुमा फोकस गरेर नमूना संकलन र परीक्षण गरिएको डा. देवकोटाले जानकारी दिए । ‘ पीसीआरको नतिजा आइसकेको छैन ।’ उनले भने ।

