काठमाडौं । विश्वव्यापिरुपमा महामारि फैलाइरहेको कोरोना भाइरसका पोजेटिभ पाइएका नेपाली संक्रमितहरु उपचार गर्न छोडेर भाग्न थालेका छन । यसरी अस्पतालबाट भाग्ने क्रममा मावलीमा गएर बसेको पाइएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसन वार्डबाट भागेका दुवै संक्रमितमध्ये एक जना मावलीबाट पक्राउ परेका छन्। बुधबार अपरान्ह अस्पतालको आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर संक्रमितद्धय भागेका थिए । जसमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए। अर्का संक्रमित भने बुधबार राति मावलीघरबाट पक्राउ परेका हुन्।
आइसोलेसन वार्डबाट भागेका वीरगन्ज १६ इनर्वाका संक्रमित जाबेद मिया, पर्साको धोबीनी गाँउपालिका ३ हरिहरपुरस्थित मावलीघरबाट बुधबार राति पक्राउ परेका हुन्। हरिहरपुरस्थित मावली घरमा मिया पुगेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। मियालाइ मावलीघरबाट नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर बुधबार राति १२ बजे वीरगन्जको नारायणी अस्पतालमा ल्याएर राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
अस्पतालबाट हाम फालेर भागे पछि सुरुमा इनर्वास्थित आफनै घरमा पुगेका थिए। तर परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि घरमा प्रहरी पुग्नु अगाडी नै उनी कुलेलम ठोके । मोबाइल छाडेर सुईकुच्च ठोकेका मिया वीरगन्जमा दुध बेच्न मावली गाँउ हरिहरपुरबाट आएका एक जना व्यक्तिको साइकलमा चढेर बुधबार बेलुकी मावलीघरमा पुगेका थिए।
मियाँलाइ साइकलमा चढाएर हरिहरपुर पुर्याउने ती व्याक्तिलाई पनि बुधबार रातिदेखि नै धोबीनी ४ लंगडीको क्वारेन्टाइनमा राखिएको छ। यस्तै मियाको मावलीघरका चार जना बालबालिकालाई पनि बिहीबार बिहान क्वारेन्टाइनमा राखिएको छ। मियाँसंगै भागेका अर्का संक्रमित पर्साको विन्दवासीनी गाँउपालिकाको बहुअर्वाभाठाका राजनाथ यादवलाइ भने प्रहरीले बुधबार नै साँझ नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ।

