काठमाडौं । स्वस्थ र दीर्घायु बन्न चाहनु हुन्छ ? त्यसका लागि धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन त्याग्नु पर्छ । कोरोना भाइरस (कोभिड–१९)र अन्य नसर्ने रोगबाट जोगिन सुर्तिजन्य पदार्थको सेवनबाट टाढै रहनु पर्ने विज्ञहरुको सुझाव छ ।
सुर्तिजन्य पदार्थको सेवन मानवस्वास्थ्यकोलागि अति घातक देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तिजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाति रोग विशेषज्ञ डा. निरज बम भन्छन,‘ हातमा चुरोट लिएर मुखमा च्याप्ने बानीले कारोना संक्रमणको जोखिम बढाउँछ । धुम्रपान सेवनले फोक्सोमा असर गर्छ । स्वासप्रश्वास प्रणालीमा क्षति पुरयाउँछ । रोग प्रतिरोधात्मक क्षमतामा असर गर्ने हुँदा अम्मलीमा कोरोनाको संक्रमणले जटिलता ल्याउँछ ।’ न्युमोनिया,क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज(सीओपीडी),ब्रोङकाइटिस,दमलगायतका श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व नै धुम्रपान भएको डा. बमको भनाई छ ।
सुर्तिजन्य पदार्थ सेवनले फोक्सोमा पहिले नै क्षति गराइसक्ने हुँदा कोभिड १९ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए । श्वासप्रश्वासका साथै मस्तिष्क, मुटु र रक्तसंचारप्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ । दीर्घ जीर्ण रोगहरु क्यान्सर,दम, मुटुरोग,खोकी ,मधुमेह जस्ता रोग लाग्नुको प्रमुख कारण पनि सूर्तिजन्य पदार्थ भएको चिकित्सकको भनाई छ । तर, सुर्तिजन्य उद्योगले चलाखीपूर्ण बजार रणनीति अपनाउँदै १५ हजारभन्दा बढी किसिमका स्वादमा सुर्तिजन्य पदार्थ उत्पादन गरि आकर्षण गर्न खोजेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञडा.प्रकाशराज न्यौपानेले धुमपानका कारण रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताउँछन । उनले भने, ‘ सुर्तिजन्य सेवन गर्नेलाई कोरोनाको संक्रमणले गम्भीर बनाउँछ । रोगप्रतिरोधात्मक क्षमता न्युन हुने भएकोले मृत्यु हुने जोखिम पनि बढी हुन्छ ।’ डा. न्यौपानेका अनुसार, धुम्रपानबाट फोक्सो , पिसाबथैली , मुख, जिब्रो, घाँटी, खानेनली लगायत शरीरका विभिन्न अंगको क्यान्सर हुन्छ ।
नसर्ने रोगको मुख्य कारण पनि सुर्तिजन्य पदार्थको सेवनलाई लिइन्छ । डब्लुएचओको तथ्यांक अनुसार, विश्वभर झण्डै ८२ लाख मानिसको मृत्यु धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने गर्दछ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तिजन्य पदार्थको सेवनको कारण मृत्यु हुने गरेको छ । सँगै बस्ने व्यक्तिले खाएको चुरोटको धुवाँको असरका कारणले झण्डै १२ लाखको मृत्यु हुने गर्छ । वरिष्ठ छाति रोग विशेषज्ञ डा. बम भन्छन,‘ अभिभावकले धुम्रपान सेवन गरिरहेका छन भने छेउँमा बसेका बालबालिकामा प्रभाव पार्छ । बालबालिकाको शारिरिक एवं मानसिक विकासमा नकारात्मक असर गर्छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक वर्ष २७ हजार मानिसको मृत्यु धुमपान तथा सुर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक तीनजना नेपाली मध्ये एक जना धुम्रपान तथा सुर्तिजन्य पदार्थको अम्मली भएको देखिन्छ । सूर्तिजन्य पदार्थ सेवन नियन्त्रण र नियमन गर्न विश्वव्यापिरुपमा ऐन, कानुन र निर्देशिका जारी गरि कहिल्यै सेवन नगर्ने र गर्नेलाई पनि लतबाट छुटाउन विश्वव्यापि अभियान र कार्यक्रम भइरहेका छन । तरपनि,सेवनकर्ताहरुको संख्या अपेक्षाकृत घटेको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का निर्देशक डा. बासदेव पाण्डेका अनुसार , देखासिकी, साथीहरुको संगत,तनाबबाट मुक्त भइने भ्रम सेवनकर्तामा देखिन्छ । डा. पाण्डे भन्छन,‘ बालिबालिकाले पनि खरिद गरेको र सार्वजनिक स्थलमै सेवन गरिरहेको पाइन्छ ।सेवन नगर्न भित्रि मनैदेखि अभिप्रेरित गर्नु सबैको दायित्व हो । कानुन भएपनि कार्यान्वयन गर्न नसक्नु कमजोरी हो ।’
सुर्तिजन्य उद्योगले विभिन्न कार्यक्रम र पार्टीहरु आयोजना गर्ने, विद्यालय छात्रवृत्ति प्रदान गर्ने,आकर्षक डिजाइन र मनोरन्जनका माध्यमहरुमा प्रचारप्रसारगर्ने, विद्यार्थी लक्षित शैक्षिक संस्था वरिपरि विज्ञापन सामग्री प्रदर्शन गर्ने लगायतका प्रबद्र्धनात्मक कार्यका लागि ८० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेको छ ।
३१ मे लाई विश्व धुम्रपान रहित दिवसका रुपमा विश्वभर मनाइन्छ । यस वर्ष आइतबार सुर्तिजन्य उद्योगहरुले गर्ने छलकपटपुर्ण प्रबद्र्धनबाट युवाहरुलाई बचाऔं । उनीहरुलाई धुमपान तथा निकोटिनबाट हुने असरहरुको रोकथाम गरौं भन्ने विषयवस्तुमा आधारित भई विश्व धुमपान रहित दिवस मनाउने कार्यक्रम रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण सार्वजनिकरुपमा समुहगतढंगले मनाउन भने कठिनाई भएको छ ।

