काठमाडौं । कोरोना भाइरस संक्रमणबाट जनताको जीवन रक्षा गर्नेकार्यलाई उच्च प्राथमिकता दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर वार्षिक बजेट सार्वजनिक गरेका छन ।
संघिय संसदको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०७७/०७८को बार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेका छन । यो कुल बजेटको झण्डै ६ दशमलव १४९ प्रतिशत हो । संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने बजेटको मुख्य उद्देश्य रहेको अर्थमन्त्री डा. खतिवडाले प्रष्टयाएका छन ।
यस सरकारको तेस्रो वर्षको बजेट प्रस्तुत गर्ने अवसर पाएका डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा विगतका वर्षभन्दा बढी बजेट विनियोजन गरेका छन । यद्यपि,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कुल बजेटको झण्डै १० प्रतिशत बजेट विनियोजन गर्नु पर्ने जनाएको छ । ‘ सामान्य अवस्थामा कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हो । तर, अहिले झन कोरोना भाइरस संक्रमण लगायतको विषम अवस्थामा दश प्रतिशत भन्दा बढी बजेट छुटयाइनु पथ्र्यो ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने ।
विगतमा कुल बजेटको पाँच प्रतिशत भन्दा न्युन बजेट विनियोजन हुँदै आएको थियो । विगतमा स्वास्थ्य क्षेत्रमा छुट्याइएको भन्दा यो बजेटको आकार सबैभन्दा बढी हो । कोरोना लगायत संक्रामक तथा अन्य रोगबाट सिर्जना हुने स्वास्थ्य जोखिम न्युनिकरण गर्न रोगको रोकथाम, नियन्त्रण र उपचारकालागि गुणस्तरीय स्वास्थ्य सेवा , पूर्वाधार विकास , औषधि एवं उपकरण र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा विस्तार गर्न उच्च प्राथमिकता दिई बजेट वृद्धि गरिएको छ ।
आगामी वर्षको बजेट विगतका आर्थिक वर्षहरुमा विनियोजन गरिने स्वास्थ्य क्षेत्रमा बजेट भन्दा झण्डै २२ अर्ब बढी रहेको छ । आर्थिक वर्ष २०७६ /०७७ मा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो कुल बजेटको ४ दशमलव ६ प्रतिशत थियो । त्यस्तै आर्थिक वर्ष २०७५ /०७६ सालमा स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरिएको थियो ।
के के छन, विशेषता ?
कोरोना भाइरसले निम्त्याएको नयाँ परिस्थितिले सिर्जना गरेको नयाँ चुनौती सामना गर्नेतर्फ बजेट केन्द्रीत देखिएको छ । ‘कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने गहन जिम्मेवारी बोध गरेको छुँ । शताब्दीकै यस विषम परिस्थितिमा सबैको सहयोग र ऐक्यबद्धताले वर्तमान चुनौति सामना गर्न सकिन्छ भन्ने दृढ विश्वास छ ।’ डा. खतिवडाले भने ।
कोरोना परीक्षणको दायरा विस्तार, थप क्वारेन्टाइन केन्द्रको स्थापना , भरपर्दो उपचार सेवा विस्तार र नागरिकको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको छ । कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि तत्काल आवश्यक पर्ने औषधि,उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट विनियोजन गरिएको छ । चिकित्सक संघका अध्यक्ष डा. कार्की कोरोनाको लागि विनियोजित बजेट न्युन भएको बताउँछन । ‘कोरोना संक्रमितहरु बढिरहेका छन ।कोरोना संक्रमण दुई ÷तीन महिनापछि निर्मुल हुन्छ भन्ने सोंच राखेर न्युन बजेट विनियोजन गरेको देखियो ।’ डा. कार्कीले भने ।
चिकित्सक , स्वास्थ्यकर्मी तथा प्रयोगशालामा कार्यरत कर्मचारीको लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था सहित सेवामा उत्पे्ररित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । कोरोना लगायत अन्य संक्रामक रोग विरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मी पाँच लाख रुपैंया सम्मको निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको छ । संघका अध्यक्ष कार्कीले चिकित्सक लगायत स्वास्थ्यकर्मीको सेवा सुविधामा वृद्धि नगरिएको बताए । ‘स्वास्थ्यकर्मीको सेवा सुविधामा उल्लेखनीय वृद्धि गरि मनोबल बढने गरि बजेट आएन ।’ उनले भने ।
अर्थमन्त्री डा. खतिवडाले कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने गहन जिम्मेवारी भएको बताएका छन । कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तारलाई बजेटमा प्राथमिकता दिइएको छ । स्वास्थ्य पुर्वाधार निर्माण, स्तरोन्नति र स्वास्थ्य जनशक्ति विकासमा जोड दिइएको छ ।
आगामी वर्ष काठमाडौं उपत्यकामा ३ सय शैयासम्मको छुट्टै सरुवा रोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २ सय ५० शैयाका आइसीयु बेड स्थापना गरिने छ । सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल संचालन गरिने भएको छ । पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशि, नारायणि, भरतपुर,भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नति गरि विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने भएको छ । स्वास्थ्य पुर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्टिय मापदण्ड अनुरुपको बनाउन, सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न बजेट विनियोजन गरिएको छ । गुणस्तरीय आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभुत अस्पताल निर्माण गर्ने नीति लिइएको छ । सोही नीति अनुसार आगामी वर्ष थप २ सय ७२ अस्पताल स्थाना गर्न १४ अर्ब २७ करोड विनियोजन गरिएको छ । साबिकका जिल्ला र अन्चल अस्पतालको स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको छ ।
एक चिकित्सक , एक स्वास्थ्य संस्थाको व्यवस्थाको शुरु गरिने भएको छ । स्थानीय तहका स्वास्थ्यसंस्थामा चिकित्सकको व्यवस्था गरि नसर्ने रोगको जाँच सहितको आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन ५ अर्ब १० करोड वित्तिय हस्तान्तरण हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।
तीन वर्ष भित्र सबै नागरिकमा स्वास्थ्य विमा गरिने छ । आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई स्वास्थ्य बिमाको दायरामा ल्याइने भएको छ । स्वास्थ्य विमा कार्यक्रममा ७ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा एबं महिलामा हुने पाठेघर तथा स्तन क्यान्सर जस्ता घातक रोग पहिचान र उपचारको लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ । आगामी वर्ष नेपाललाई पुर्ण खोपमुक्त मुलुक घोषणा गर्न बजेट व्यवस्था गरिएको छ ।
विपन्न नागरिकलाई घातक रोग एवं ज्येष्ठ नागरिक तथा बालबालिकाको मुटुरोगको निःशुल्क उपचार गर्न र क्षयरोग एडस तथा यौनरोग र कुष्ठरोग नियन्त्रण कार्यक्रम संचालन गर्न ४ अर्ब २२ करोड विनियोजन गरिएको छ । त्रिवि,चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी र युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन , अध्यापन तथा तालिम सहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपर स्पेशियालिटि केन्द्र स्थापना गरिने छ । स्वदेशमै संक्रामक लगायत सबै प्रकारका रोगको परीक्षण गर्न दक्ष प्राविधिक तथा आधुनिक उपकरण सहितको अन्तर्राष्टिय स्तरको राष्टिय रोग निदान केन्द्र स्थापना गरिने छ ।
निरोगी नेपाल निर्माण अभियानलाई अघि बढाउन आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र संचालन गरिने छ ।प्रदेश स्तरमा संक्रमाक तथा सबै प्रकारको रोगको उपचार गर्न दक्ष प्राविधिक तथा आधुनिक उपकरणसहितको अन्तराष्ट्रिय स्तरको राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिने भएको छ ।
सहिद गंगाल राष्ट्रिय हृदय रोग केन्द्र, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, कान्ती बाल अस्पताल, वीर अस्पताललगायतका विशिष्टिकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक सेवासहित स्याटलाइट संचालन गर्न विशेषज्ञ सेवा नपुगेका दुर्गम ठाउँका लागि भरपर्दो टेलिमेडिसिन सेवा संचालनमा ल्याउन बजेट विनियोजन गरिएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल, बीपि कोइराला क्यान्सर अस्पताल, जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा सञ्चालन आवश्यक पूर्वाधार विकासको लागि आवश्यक बजेट छुटाइएको छ ।
यसैगरी सरकारले आगामी आर्थिक वर्षमा टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। स्वास्थ्य सेवाको अतिरिक्त स्वच्छ र सन्तुलित आहार, सन्तुलित व्यायाम, सरसफाईसहितको स्वास्थ्य जीवन शैली अवलम्बन गर्न प्रोत्साहित गर्ने भएको छ। आयुर्वेद लगायतका वैकल्पिक उपचार पद्धतिको प्रर्वधन गर्र्दै रोग प्रतिरोधात्मक बढाउन तथा मानसिक स्वास्थ्य सेवा बढाउन सामुदायिक संस्थाको सहभागितमा आरोग्य केन्द्र, व्यामशाला र योगकेन्द्र सञ्चालन गर्ने भएको छ।
विपद तथा महामारिको समयमा नीजि स्वास्थ्य संस्थालाई उपयोग गर्ने व्यवस्था मिलाइएको छ । नेपाल अनुसन्धान परिषद्लाई संक्रामक रोग नियन्त्रणको अनुसन्धान गर्न सक्षम निकायको रुपमा विकास गरिने छ । नेपाल औषधि लिमिटेड क्षमता विस्तार गर्ने घोषणा गरिएको छ ।
मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च कदर गर्दै निशुल्क स्वास्थ्य विमा लाई निरन्तरता दिई यातायात खर्च दोब्बर बनाइएको छ । स्वास्थ्य सेवाको दरबन्दीलाई पुनराअवकोलन गरी स्वास्थ्य कर्मीको संख्या थप गरिने भएको छ ।सेन्टर फर डिजिज कन्ट्रोल, फुड एण्ड ड्रग एडमिनिस्टे«शन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरणको स्थापनाको लागि प्रारम्भिक कार्य गर्न बजेट विनियोजन भएको छ ।
राजमार्गमा ट्रमा सेन्टरको स्थापना गरिने भएको छ। मुलुक भर एउटै फोन नम्बरमा सम्पर्क गरी बिरामीलाई सहज र सुलभ रुपमा एम्बुलेन्स सेवा गर्न सक्ने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पताल सञ्चालनमा एकरुपता ल्याई व्यस्थित गरी एकीकृत छाता ऐन तजुमा गरिने भएको छ।
१ हजार ४२ संक्रमित
काठमाडौं । बिहीबार थप एक सय ५६ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९०)संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।
प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित पाँच जनाको ज्यान गएको छ । कुल १ सय ८७ जनाले कोरोना संक्रमण पछि निको भएका छन । जसमध्ये १ सय ४४ पुरुष र ४३ महिला छन् । प्रदेश १ मा निको भइ घर फर्किएका ३० जना छन् । त्यस्तै प्रदेश २ मा १सय १, प्रदेश ३ मा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।
मुलुकभर ८सय ५९ जना आइसोलेसनमा उपचाररत छन् । प्रदेश १ मा ९९ जना, प्रदेश २ मा ३सय १३ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश ५ मा ३ सय २९ जना, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।
अहिले क्वारेन्टाइनमा ८६ हजार ५७ जना छन् ।
कति भयो परीक्षण ?
अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार चार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना परीक्षण गरिएको छ ।

