अनुप काफ्ले, अमेरिकी सञ्चारमाध्यम ‘रेस्ट अफ वर्ल्ड’का प्रधानसम्पादक हुन्। उनी केही समय ‘द काठमाण्डु पोस्ट’का प्रधानसम्पादक थिए। त्यति बेला उनले काठमाण्डु पोस्टको समाचार कक्षका साथै कान्तिपुर मिडिया ग्रुपकै ‘डिजिटल ट्रान्सफर्मेसन’को नेतृत्व गरेका थिए। त्यसअघि अमेरिकी समाचार कक्षमा एक दशक बिताउँदा उनले ‘वाशिंटन पोस्ट’को डिजिटल सम्पादकका रूपमा ६ वर्ष विदेश–मामिला डेस्कमा काम गरे। ‘बजफिड न्युज’मा विदेश डेस्क उपसम्पादकको हैसियतमा अन्तर्राष्ट्रिय समाचार ‘कभर’ गरे। उनले कोलम्बिया विश्वविद्यालयको ‘ग्य्राजुएट स्कुल अफ जर्नालिजम’ बाट स्नातकोत्तर गरेका छन्। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबारे नेपाली सञ्चारमाध्यमको कभरेजलाई लिएर काफ्लेसँग उकालोका लागि आमोद प्याकुरेलले गरेको कुराकानीः
भदौ २३ र २४ को जेन–जी आन्दोलनमा नेपाली मिडियाले खेलेको भूमिका कस्तो थियो?
नेपाली मिडियाले यस्तो हुँदैछ भनेर अनुमान गर्न सकेन। समाजमा भएको असन्तुष्टि, भ्रष्टाचार र नयाँ पुस्ताको आवाज मुलधारका मिडियामा आएको थिएन। हाम्रा मिडिया ठूला स्टोरी लेख्न चुके। आन्दोलन र त्यसपछिका दिनमा पनि प्रशस्त कभर भएन, मिडियामा धेरै ग्याप देखियो।
मिसइन्फरमेसन, डिसइन्फरमेसनलाई कसरी लेख्ने, के लेख्ने, के नलेख्ने, ठूला स्टोरीमा कसरी स्रोतसाधन खर्च गर्नेलगायत धेरै विषय यसअन्तर्गत आउँछन्। हाम्रा मिडिया पहिला पनि यो आन्दोलन कभर गर्न तयार थिएनन्। हामीले एउटा पुस्ताको आवाजलाई मात्र बोक्यौँ। अहिले पनि जसरी आन्दोलनबारे लेखिएको छ, त्यसमा ग्यापहरू देखिरहेको छु।
हामीले कस्ता खालका स्टोरी लेख्न छुटायौँ?
लेख्नुपर्ने विषय धेरै छन्। म बेलाबेला हेलिकप्टर भ्यु प्वाइन्ट भन्छु। अहिलेको घटना हेर्ने हो भने सामाजिक सञ्जालमा यो एपिसोड मौलाइरहेको थियो। हामी प्रस्थान विन्दुदेखि १०० सम्म किन यति छिटो पुग्यौँ? १, २, ३, ४, ५ मा सामाजिक सञ्जालको मुड एउटा थियो, ७ र ८ नम्बरमा पुग्दा कुन स्तरको गहिराइ आयो, त्यति बेला कस्तो भाष्य निर्माण भइरहेको थियो, त्यो रेटोरिक कसरी हिंसात्मक भयो– यो स्टोरी अझै पनि आएको छैन। एकदुई वटा स्टोरी नआएका होइनन्, तर ती घटनापछिका हुन्। सामाजिक सञ्जालमाथि नै गहन रिपोर्टिङ हुनुपर्छ जस्तो लाग्छ।
हामीले अरू पनि स्टोरी लेख्न छुटाइरहेका छौँ। आजसम्म बालेनको प्रोफाइल खै? मलाई बालेन खासमा को हो भन्ने खालका स्टोरी पढ्न मन लागिरहेको छ। यो आन्दोलनमा उसको ठूलो भूमिका थियो। अहिले नयाँ पुस्तामा परिचित अनुहार छन्, तिनीहरूको प्रोफाइल पनि छैन। यो आन्दोलनको पनि प्रोफाइल चाहिएको छ।
अहिले नयाँ पुस्ताको असन्तुष्टि भ्रष्टचारमा थियो, तर त्यसमा अरू पनि कुरा जोडिएका थिए। मानिसहरू समानता खाजिरहेका थिए। नेपो किड्स ट्रेण्डमा बेरोजगारका कथाहरू आएका थिए। धेरै मानिस बाहिर गएर काम गरिरहेका विषय थिए। यस्ता खालका कथा लेखिनुपर्छ।
तपाईंले हालै ‘एक्स’मा नेपाली मिडियाका सम्पादकहरूको प्रवृत्तिबारे चेतावनी दिँदै पोस्ट गर्नुभयो, किन?
मैले नेपाली मिडियामा एउटा ठूलो खाडल देखेको छु, अब यसलाई अभिशाप पनि भन्न सकिएला। नेपाली मिडिया रिपोर्टिङमा भन्दा पनि बढी कमेन्ट्रीमा केन्द्रित भएका छन्। बाहिरका मुलुकमा पनि कमेन्ट्री लेखिन्छ, त्यो गर्नु पनि पर्छ। तर, रिपोर्टिङले पनि त्यही ओज राख्छ। प्रधानसम्पादकले यसमा विशेष ध्यान दिनुपर्छ।
हाम्रा जति पनि सम्पादक हुनुुहन्छ, उहाँहरूलाई कमेन्ट्री र एनालाइसिस गर्न एकदम हतार हुन्छ। सजिलो पनि मान्नुहुन्छ। यो उहिलेदेखिको चलन हो। तर न्युजरूमलाई बलियो बनाउने, पाठक तान्ने वा पाठकको विश्वास जित्ने रिपोर्टिङले हो। हाम्रो न्युजरूममा नयाँ पुस्तालाई रिपोर्टिङ सिकाउने वा पुराना पुस्ताकै रिपोर्टरसँग पनि रिपोर्टिङको विषयमा गफगाफ हुँदैन। स्टोरी कसरी लेख्ने, कसरी डेप्थमा जाने, इन्भेस्टिगेट गर्ने, फ्रेमिङ गर्ने, एङ्गल दिने लगायत विषयमा सोचिँदैन। हुन त यहाँका विषयमा मसँग थोरै मात्र अनुभव छ, तर स्टोरी पढ्दा हामी रिपोर्टिङभन्दा पनि ‘ड्यांग दिने’ वा ‘ठोक्ने’ मा केन्द्रित छौँ। रिपोर्टिङभन्दा विचार दिन रूचाउछौँ। त्यही भएर त्यो ट्वीट लेखेको हुँ।
नेपाली मिडिया रिपोर्टिङ गर्दैनन् भनेर मिडिया आलोचकले पनि भनिरहेका हुन्छन्। यही आन्दोलनका समयमा पनि वास्तविक रिपोर्टिङ गरेनन् भन्ने छ। खासमा रिपोर्टिङ के हो, कस्तो हुनुपर्छ?
यसमा पनि ठूलो खाडल छ। मिडियाको काम शक्तिकेन्द्रलाई उत्तरदायी बनाउने हो, यसमा दुईमत छैन। तर मिडियाले मिडियालाई पनि उत्तरदायी र जिम्मेवार बनाउनु पर्छ। सोसल मिडिया छ, मिसइन्फरमेसन, डिसइन्फरमेसन हुन्छ। कति धेरै सामग्री गलत छापिरहेको हुन्छ। कति विचारहरू गलत छापिएको हुन्छ। टेलिभिजनमा अन्तर्वार्ता दिने राजनीतिज्ञ वा व्यापारीले गल्ती बोलिरहनु भएको हुन्छ। त्यसलाई फ्याक्टचेक गर्नुपर्छ।
हामीले मिडियाको बारेमा पनि लेख्नुपर्छ। आर्थिक रूपमा मिडियाको अवस्था के छ? हामी मिडिया संकटमा छ भनेर न्युयोर्क टाइम्स, भ्यानिटी फेयर, एट्लान्टिकमा पढिरहेका हुन्छौँ। यहाँ मिडिया संकटबारेको स्टोरी तलब आएको छैन वा ढिला भयो भन्ने खालको हुन्छ। तर संकट कसरी भयो भनेर गहिराइमा पुगेकै छैनौँ। विज्ञापनदाताले एक वर्ष पुग्दा पनि भुक्तानी गर्दैन। हाम्रा संस्थाहरूमा कार्यदक्षता मूल्यांकन गर्ने व्यवस्था छैन। हाम्रो श्रम कानूनले काम नगर्नेहरूलाई हटाउनै दिँदैन। यस्ता खालको कथा पनि आउनुपर्छ, किनभने पाठकलाई थाहा हुनुपर्छ।
मिडिया भनेको बिजनेस हो। बिजनेस नाफायोग्य हुन असाध्यै राम्रो कार्यसम्पादन चाहिन्छ। सबैकुरा बाहिरबाट सिक्नुपर्छ भन्ने छैन, तर मिडियाले मिडियालाई नै उत्तरदायी बनाउँदा पनि पाठकको विश्वास बढ्छ।
तपाईंले अहिले जे भन्नुभयो, त्यो मिडिया हाउसबाट खासै आउँदैन। तर, केही दिनअगाडि कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले मुलधारका मिडिया समयअनुसार परिवर्तन हुनुपर्छ भनेर एक्समै लेख्नुभयो। त्यस्ता कुरा मिडियामै औपचारिक रूपमा किन आउँदैन?
हाम्रा मिडियाको लिडरसिप एकदमै परम्परागत भयो। नयाँ पुस्ताका सम्पादकहरू आए पनि उहाँहरूले सिकेको कुरा पुरानै छ। नेपाली समाजमा सुधार गर्न वा नयाँ सिक्न एकदमै असहज मान्छौँ। सम्भवको ट्विट्को सन्दर्भमा ऊ भर्खरको छ, उसले यो समय र खाडल कहाँ छ भन्ने बुझेको छ। उसको आफ्नै पुस्ताको कथा आएको छैन नि त। त्यसकारण उसलाई त्यो (ट्विट) लेख्न सजिलो पनि भयो। नयाँ सिक्ने वा थप समृद्ध हुने भनेको कि चाहनाले, कि कसैले वा कुनै परिस्थितिले दबाब सिर्जना गर्नुपर्यो। कान्तिपुरको हकमा यो दुईवटै छ।
हामीले दैनिक कस्ता कथा भनिरहेका छौँ, कस्तालाई प्राथमिकता दिएका छौँ, कस्ता बिटमा केन्द्रित छौँ र हाम्रो पाठक को हुन्, के खोजिरहेका छन् भन्ने महत्त्वपूर्ण छ। हामी पाठकको कुरा खासै सुन्दैनौँ। पहिलाका पाठकलाई जे दिइरहेको हो, त्यही दिने भन्ने छ। तर पाठकले आफूलाई समृद्ध बनाइरहेको हुन्छ। हामी बढी पारदर्शी बन्नुपर्छ। हाम्रो श्रमशक्ति नयाँ देखिनुपर्छ।
हाम्रोमा अहिले पनि ‘क्लिकबेट’ संस्कार छ। यही आन्दोलनको समयमा पनि सनसनीपूर्ण हेडलाइन बनाइएको देखियो। संसारभर यस्तै हो कि, हाम्रोमा मात्र हुन्छ? तपाईंहरू ‘रेस्ट अफ वर्ल्ड’ मा के गर्नुहुन्छ?
हामी स्टोरी प्रकाशित गर्न हतार गर्दैनौँ। हामी हरेक दिनका समाचार पनि लेख्दैनौँ। तर फ्याक्ट चेकिङमा ध्यान दिन्छौँ। रिपोर्टर, कपी एडिटर, स्टोरी एडिटर र एडिटर चिफसम्म सबैले हामी कस्तो हेडलाइन राख्ने, कस्तो क्याप्सन राख्ने भन्नेमा ध्यान दिन्छौँ। बाहिर भएका कुरालाई कसरी रिपोर्ट गर्ने भन्नेमा टिमवर्क चाहिन्छ। नेपालमा अपडेट दिने खालको पत्रकारिता भयो। त्यो भनेको के भइरहेको छ, तत्काल लेखिहाल्ने। त्यो सान्दर्भिक होस् वा नहोस्, छुट्टै हाइपर लिंक बनाएर प्रकाशित गरिहाल्छौँ, सन्दर्भ चाहिँ छुटिरहेको हुन्छ। सन्दर्भ छैन भने पाठकलाई घाटा लगायो, यसबारे हामी खासै सोच्दैनौँ।
यसले समाचार कक्षमा कसरी असर पुर्याइरहेको छ?
एक त सन्दर्भ नहुने बित्तिकै पाठकलाई घाटा भयो। टुक्राटाक्री मात्र लेख्दा पूर्ण स्टोरी लेखेका छैनन् भन्ने हुन्छ। केपी ओली सार्वजानिक भएपछि केही अनलाइनले उनले के बोले भनेर मात्र लेखे। ‘केपी ओलीले भन्नुभयो–…’ भन्ने खालका समाचार आए। केपी ओलीको भूमिका ती दुई दिनमा के थियो, उहाँले कुन स्तरको रेस्पोन्स गर्नुभयो, उहाँको हठ के थियो, यी सबै समेटेर स्टोरी लेख्नुपथ्र्यो। नेताले जे बोल्यो, त्यो मात्र छाप्ने भनेर पाठकले प्रश्न गर्ने कारण यही हो। स्टोरीमा अलिकति ध्यान दिँदा आलोचनाबाट बच्न सकिन्छ।
नेपालका चर्चित अनलाइनहरू पनि चारपाँच लाइनका समाचार बनाइरहेका हुन्छन्। कतिपयले दिनमै १०० भन्दा बढी समाचार पोस्ट गर्छन्। त्यही कुरा सोसल मिडियामा पनि भेटिन्छ। पाठकले अनलाइन किन खोल्ने?
सबै कुरा वेबसाइटमा राख्नै पर्दैन, कतिपय त सोसल मिडियामा थ्रेड बनाएर राख्न मिल्छ। अलिकति लामो र गहन रिपोर्टिङ वेबसाइटमा राखे भइहाल्यो नि। बाहिरका कतिपय पब्लिकेसनले धेरै स्टोरी एक्समा नै ब्रेक गरिरहेका हुन्छन्। अपडेटहरू पनि एक्समै पढ्न सकिन्छ। रिसोर्सका हिसाबले पनि त्यो फाइदाजनक छ। वेबसाइटलाई विशेष खालको र सोसल मिडियालाई अपडेट गर्ने प्लेटफर्म बनाउँदा हुन्छ। यसो भयो भने हरेक पब्लिकेसनले आफ्नो छुट्टै पहिचान बनाउन सक्छ।
यो बीचमा मिसइन्फरमेसन, डिसइन्फरमेसन पनि खुब फैलियो, विशेषगरी सोसल मिडियामा। यस्तो बेला न्युज मिडियाले कस्तो भूमिका खेल्न सक्थे?
मलाई अहिले पनि मिडियाले रिपोर्टिङमै लगानी गर्नुपर्छ जस्तो लाग्छ। नेपालमा कति पत्रकार छन्, जसले एल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्छन् वा त्यही विषयमा दक्खल राख्छन्। यसमा मिडियाले लगानी गर्नुपर्छ। हामीलाई यो मेसिनरी के हो, कसरी काम गर्छ, कहाँबाट सञ्चालित भइरहेको छ भनेर थाहा हुनुपर्छ। यस्ता विषयमा रिपोर्टिङ गर्न रिसोर्स र माइन्डसेट दुवै चाहिन्छ। यहाँ मेनस्ट्रिम प्रकाशनगृह १०–२० वटा होलान्, तर कतिमा सोसल मिडियाबारे रिपोर्टिङ गर्ने पत्रकार छन् त? अथवा सोसल मिडिया सम्पादक छन्? मैले हेर्दा एकजना पनि छैनन्। हामीले त्यो क्षेत्रमा हात हाल्न सकेका छैनौँ।
छापा माध्यमहरू साँघुरिँदै जाँदा हामीले के गुमाइरहेका छौँ र न्यु मिडिया आइरहँदा के प्राप्त गरिरहेका छौँ?
मैले व्यावसायिक पत्रकारिता शुरू गरिसकेपछि दुईवटा कुरा निरन्तर आइरहेको छ, यो सन् २००८ देखिको कुरा हो। एक, होम पेजहरू मृत भए। दोस्रो, प्रिन्टको मृत्यु भयो। तर यी दुवै अहिले थप जीवन्त भएका छन्। हामी एकदम धेरै मिडियमको कुरा गर्छौं। पत्रकार भएपछि मोबाइल हुनुपर्छ, फोटो र भिडियो खिच्न आउनु पर्छ, अडियो रेकर्ड गर्न जान्नुपर्छ, कोडिङ गर्न सिक्नुपर्छ, रिपोर्टिङ गर्न सिक्नुपर्छ– हामी यतिधेरै स्किलमा केन्द्रित भइरहेका छौँ।
पत्रकारितामा सबैभन्दा महत्त्वपूर्ण रिपोर्टिङ हो। पत्रकारिता गर्नुहुन्छ भने रिपोर्टिङ के हो भनेर जान्नुपर्छ। पाठकले विश्वास गर्ने पनि त्यही हो। अहिले मिडियम मात्र परिवर्तन भएको हो। युरोपमा दुईचार वटा पब्लिकेसन कसरी फस्टाइरहेका छन् भने, उनीहरूले कम्युनिटी लेभलमा रिपोर्टिङ गरिरहेका छन्। मिडियम जति परिवर्तन भए पनि वा प्रिन्टलाई मृत भनिए पनि रिपोर्टिङमा केन्द्रित गरियो भने पाठकको विश्वास जित्न सकिन्छ।
हाम्रा धेरै पत्रकार अन्य पेसा वा उद्यमतिर गइरहेका छन्, सञ्चार उद्योगले यतै टिकाइराख्न सकेको छैन। यस्तो बेला आकांक्षी पत्रकार र मिडिया हाउसलाई के सल्लाह दिनुहुन्छ?
हाम्रो पत्रकारितामा ट्यालेन्ट पाइपलाइनको पनि कुरा छ। पत्रकारिता दिगो व्यापार हुनुपर्यो र यहाँ काम गर्नेले दैनिक जीवन पनि चलाउन सक्नु पर्यो। न्युजरूममा पुराना मान्छे जाने, नयाँ आउने भइरहेको छैन। यहाँ धेरै पब्लिकेसन छैनन्, जसले राम्रो पैसा दिन सकोस्। त्यही भएर मान्छे ‘स्टक’ हुन्छन्। हाम्रोमा नयाँ कुरा सिक्ने ठाउँ पनि भएन। बिट पनि परिवर्तन भएन। कति न्युजरूममा डेडवुडहरू हुनुहुन्छ। उहाँहरूलाई नयाँ कुरा सिकाउने हो कि! उहाँहरूलाई पोडकाष्ट पनि सिकाउने हो कि! फेलोसिप शुरू गर्ने हो कि! बिजनेस रिपोर्टिङ फेलोसिप, इन्भाइरोमेन्टल रिपोर्टिङ फेलोसिप शुरू गर्न सकिन्छ। उहाँहरूलाइ एक वर्षको फेलोसिप दिने, न्युजरूममा ल्याउने– यसरी एउटा बाटो तयार पार्न सकिन्छ।
म १७/१८ वर्ष हुँदा यहाँ इन्टर्नसिप एप्लाई गर्न खोजेँ। मेरो सपना कुनै दिन पत्रकार हुन्छु भन्ने थियो। आजको नयाँ पुस्ताले पत्रकारितामा भविष्य देख्छ कि देख्दैन? त्यसका लागि बाटो देखाइदिनुपर्यो, जुन अहिले कुनै न्युजरूममा छैन। तपाईं कति वर्ष सबएडिटरमा अड्किने, त्यसपछि असिस्टेन्टेन्ट सबएडिटर, यहाँ त असिस्टेन्ट सिनियर सबएडिटर पनि हुन्छ, त्यसपछि पावरलाई खुशी बनाइयो भने डेपुटी होला, अझ पावरलाई खुसी बनाइयो भने एडिटर होला। यो कार्यसम्पादनमा आधारित होइन, प्लिजिङमा आधारित भयो। कार्यसम्पादनमा आधारित हुँदा आत्मविश्वास आउँछ।
अमेरिकाजस्ता देशमा ठूला मिडियाले साना हाउसहरूसँग सहकार्य गरिरहेका हुन्छन्। त्यसो गर्नुको फाइदा के छ? नेपालमा त्यस्तो सम्भावना हुन्छ?
यो सम्भव छ। यसमा असजिलो मान्नुपर्ने कारण छैन। जब राम्रा दिमागहरू एकै ठाउँमा आउँछन्, पत्रकारितामा धेरै राम्रो काम गर्न सकिन्छ। उकालोकै उदारहण दिउँ न, यदि तपाईंहरूको दक्खल ‘गभर्नेन्स’ वा ‘करप्सन’ रिपोर्टिङमा हो भने त्यसमा असाध्यै राम्रो रिपोर्टिङ गर्न सक्नुहुन्छ। तपाईंहरूको स्टोरीको भ्युज कति आउँछ मलाई थाहा भएन। तर तपाईंहरूले टीभी स्टेसन वा मेनस्ट्रिम पेपरसँग सहकार्य गर्नुभयो भने त्यसको प्रभाव बढाउन सकिन्छ। प्रभाव तत्काल बढ्दा तपाईंहरूलाई पनि फाइदा भयो। अर्को पक्षलाई पनि फाइदा हुन्छ, किनभने उनीहरू दैनिक समाचार लेख्दालेख्दै त्यो गहिराइमा जानै भ्याउँदैनन्। प्रोपब्लिकाले अमेरिकामा धेरै मेनस्ट्रिम पब्लिकेसनसँग मिलेर काम गर्छ, यो एउटा उदाहरण हो।
पर बसेर हेर्दा देखिने नेपाली पत्रकारिता र यहाँ बसेरै काम गर्दाको अन्तर के रहेछ?
एकदम फरक छ। यहाँ रिपोर्टरलाई काम गर्न गाह्रो छ, किनभने स्रोतसाधन छैन। बाँच्न सक्ने पारिश्रमिक छैन। ट्रेनिङ छैन। यो रिपोर्टरले मात्र गरेर हुँदैन, मिडिया इन्डस्ट्रीले नै पत्रकारितालाई सहयोग गरिरहेको छैन। पाठकको पनि दोष छ जस्तो लाग्छ, किनभने हामीलाई सित्तैमा पढ्ने बानी लागिसक्यो। राम्रो पत्रकारिता पाउन आफूले पनि लगानी गर्नुपर्यो। यहाँको वास्तविकता पश्चिमा देशसँग तुलना गर्नै मिल्दैन। यहाँ धेरै चुनौती छन्।
साभार : उकालो डट कम

