कात्तिक अन्तिम साता काठमाडौं आएकी थिइन्, भारतीय पत्रकार सुहासिनी हैदर । त्यही बेला उनले लिएको अन्तर्वार्ताले काठमाडौंको राजनीति तरंगित बन्यो । शीर्ष नेताबीच आरोप–प्रत्यारोपको शृंखला चल्यो ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौताका विषयमा नेपाली नेताबीच नै मतैक्य भइसकेको थिएन । ‘द हिन्दू’ मा सार्वजनिक पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ताले यो विषयलाई थप चर्को बनाइदियो । अन्तर्वार्तामा दाहालले ओलीले पहिला चीन भ्रमण गरेर ‘चाइना कार्ड’ खेल्न थालेको बताएका थिए ।
‘द हिन्दू’ की कूटनीतिक मामिला सम्पादक सुहासिनीले प्रधानमन्त्री ओलीकै अन्तर्वार्ता लिन चाहेकी थिइन् । सम्भव नभएपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग प्रयास गरिन् । त्यो पनि नमिलेपछि पूर्वप्रधानमन्त्री दाहालसँग कुरा गरेकी थिइन् ।
यसअघि पनि पटकपटक नेपाल आएकी उनले प्रधानमन्त्री ओली र सुशील कोइरालाको अन्तर्वार्ता लिइसकेकी छन् । तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफदेखि भुटानकी महारानी (आमा) असी दोर्जी वाङ्मोसम्मको अन्तर्वार्ता लिएकी उनले दक्षिण एसिया मात्र नभई विश्व भू–राजनीतिबारे महत्त्वपूर्ण रिपोर्टिङ गरेकी छन् । बेनजिर भुट्टोको हत्यादेखि पाकिस्तान र बंगलादेशका चुनावी रिपोर्टिङ गरेकी सुहासिनीले पत्रकारिता गरेकै ३० वर्ष बितिसक्यो ।
खासमा उनी तथ्याकंशास्त्रकी विद्यार्थी हुन् । उनलाई एमबीए गरेर ‘इन्भेस्टमेन्ट सेक्टर’ मा जाने रुचि थियो । ‘अमेरिका पढ्न जाने तयारीमा थिएँ, न्युज डक्युमेन्ट्रीमा अफर आयो,’ उनी भन्छिन्, ‘पहिलेदेखि नै मलाई समाचारप्रति रुचि थियो । डक्युमेन्ट्री गरेपछि मेरो भविष्य यतै पो हो कि जस्तो लाग्यो ।’
सन् १९९३ तिरको कुरा हो, त्यतिबेला भारतमा टेलिभिजनका नाममा दूरदर्शन मात्र थियो । न्यु दिल्ली टेलिभिजन (एनडीटीभी) ले सुरुमा प्रडक्सन हाउसका रूपमा दूरदर्शनमा समय किनेर कार्यक्रम उत्पादन गर्थ्यो । त्यतिबेला टेलिभिजन पत्रकारिता खासै अभ्यास पनि भएको थिएन ।
भारतीय जनसञ्चार संस्थान (आईआईएमसी) र जामिया मिलिया इस्लामियाले पत्रकारितामा ‘अन्डरग्राजुएट’ कोर्स पढाउँथे । त्यसैबीच सुहासिनीले अमेरिकाको बोस्ट विश्वविद्यायलयबाट ‘प्रसारण पत्रकारिता’ मा स्नातकोत्तर गरिन् । सन् १९९५ देखि २००५ सम्म सीएनएन इन्टरनेसनलमा आबद्ध उनले सुनाइन्, ‘सीएनएनमा संयुक्त राष्ट्र संघबाट रिपोर्टिङ गरें, पछि भारत फर्किएँ ।’ सीएनएन दक्षिण एसिया ब्युरो, दिल्लीमै काम गरेकाले उनले दक्षिण एसिया घुम्ने मौका पाइन् । त्यसपछि करिब १० वर्ष भारतीय च्यानल सीएनएन–आईबीएनमा काम गरिन् । टेलिभिजनपछि उनको यात्रा मोडियो छापा पत्रकारितातिर । ‘हिन्दू’ मै काम गरेको पनि १० वर्ष भइसक्यो, जहाँ उनी साप्ताहिक अनलाइन कार्यक्रम ‘वर्ल्डभ्यु’ पनि चलाउँछिन् । ‘हेर्दाहेर्दै पत्रकारितामा ३० वर्ष बितिसकेछ । म भन्छु कि, जसलाई पत्रकारितामा रुचि छ, उसले हरेक बिहान आजको स्टोरी के छ भनेरै सोच्नुपर्छ । राम्रो रिपोर्टिङ गरिएको छ भने मात्र साँझ चैनले सुत्न पाइन्छ । तपाईं यदि पत्रकारितामा रमाइरहनुभएको छ भने यो नै उत्तम जागिर हो,’ सुहासिनी भन्छिन् ।
समाजका अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि महिला सहभागिता न्यून रहेको उनको भनाइ छ । ‘पत्रकारिताको इन्ट्री लेभलमा महिला बढी हुन्छन्, तर १० वा १५ वर्षपछि हेर्नुभयो भने न्युजरुममा पुरुषकै वर्चस्व हुन्छ,’ पत्रकारितामा महिलाका अड्चनबारे उनी भन्छिन्, ‘जागिर कतिबेला सकिन्छ, खाना के खाने, घर कतिबेला जाने, तलब पनि धेरै हुँदैन । त्यसैले पनि पत्रकारितामा महिलालाई प्रोत्साहित गरिएको हुँदैन ।’ त्यसो त केही समय ‘हिन्दू’ मा महिला सम्पादक थिएँ । अहिले ‘हिन्दू’ को अध्यक्षमा निर्मला लक्ष्मण छिन् । आमसञ्चार संस्थानका केही पदमा महिला पुगे भन्दैमा समस्यै छैन भन्न नमिल्ने सुहासिनीको भनाइ छ । ‘सबैभन्दा बढी मीटूको आरोप पत्रकारमाथि नै लागेको थियो । यसको अर्थ पत्रकारिता क्षेत्र महिलालाई सहज छैन भन्नु नै हो । त्यसैले पनि महिलाहरू लामो समय पत्रकारितामा टिक्न सक्दैनन्,’ उनको तीतो अनुभव छ, ‘कहिलेकाहीं यो असाइनमेन्ट तिमी नगर भन्ने सम्पादक पनि भेटिन्छन् । एक पटक मलाई एक जना सम्पादकले भने– तिम्रा स–साना बच्चा छन्, भो, तिमी युद्ध रिपोर्टिङ गर्न नजाऊ ।’
सीएनएनमा छँदै उनी रिपोर्टिङका लागि द्वन्द्वग्रस्त कश्मीर गइन् । त्यतिबेलासम्म उनी टीभीमा ‘अनएअर’ भएकी थिइनन् । १९९६ को कश्मीर–चुनाव उनैले कभर गरिन् । सन् २००० मा श्रीनगर विस्फोटमा उनी घाइतेसमेत भइन् । हातमा लागेको चोट ५ वर्षपछि बल्झियो, शल्यक्रिया नै गर्नुपर्यो । उक्त विस्फोटमा २३ जनाको मृत्यु भएको थियो, जसमा हिन्दुस्तान टाइम्सका फोटो पत्रकार पनि थिए । ‘बम आक्रमणमै परेपछि धेरैले भने– अब तिमीले सोच्नुपर्छ । तिम्रा छोराछोरी स–साना छन् । कतिपयले त मर्यौ भने तिम्रो परिवारलाई सरकारले सिलाइ मसिन दिन्छ समेत भनेका थिए ।’ तर उनले जस्तोसुकै परिस्थितिमा पनि पत्रकारिता नछाड्ने दृढता गरिसकेकी थिइन् ।
लिबिया र सिरियाको रिपोर्टिङ
सन् २०११ मा मुअम्मर गद्दाफी–नियन्त्रित लिबियाबाट रिपोर्टिङ गर्ने भारतीय पत्रकार हुन्, सुहासिनी । अरब–आन्दोलनको बेला थियो त्यो । भिसा लिन गएकै दिन भारतका लागि लिबियाका राजदूतले राजीनामा दिएका थिए । ‘उनले भने– मैले तपाईंलाई भिसा त दिएँ तर म अब प्रतिपक्षीमा छु । उनीहरूले मान्छन् कि मान्दैनन्,’ उनले सुनाइन् ।
उनी भारतीयको उद्धार भइरहेको भेगमा रिपोर्टिङ गर्न चाहन्थिन् । लिबियामा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले उडान बन्द गर्न थालिसकेका थिए । जोर्डनतिरबाट जाँदा उनीसहित दुई जना यात्रु मात्र थिए । जहाज अवतरण गर्ने बेलामा बाहिरबाट त्रिपोली आउने अन्तिम उडान हो भनेर घोषणा गरियो । उनीहरू पुग्नेबित्तिकै राजदूतले भनेजस्तै भयो । प्रहरीले भन्यो, ‘तपाईंको भिसाले काम गर्दैन, भित्र आउन सक्नुहुन्न ।’ एकछिनको गलफत्तीपछि प्रहरीले उनीहरूलाई अनुमति दियो । गद्दाफीको समर्थनमा पनि र्याली निकै ठूलो थियो । नेटो सेनाले बमबारी सुरु गरिसकेको थियो । लिबिया रिपोर्टिङ निकै नै चुनौतीपूर्ण थियो सुहासिनीका लागि ।
उनका नजरमा गद्दाफी ‘कलरफुर क्यारेक्टर’ हुन् । उनी बडीगार्ड सबै महिला राख्थे । त्रिपोलीमा उनको होटल थियो । सुहासिनीहरू पुगेका बेला गद्दाफीको होटलबाहेक पूरै त्रिपोलीमा इन्टरनेट बन्द गरिएको थियो । अन्तर्राष्ट्रिय पत्रकारहरू स्टोरी फाइल गर्न होटल नै आउनुपर्थ्यो । सुहासिनी त्यहीं बसेकाले सहज पनि भयो । अन्तिममा गद्दाफीले भागेर जानैपर्यो । ‘गद्दाफीको केही सीप लाग्नेवाला थिएन, सत्ताबाट बहिर्गमित हुने निश्चित थियो । हामी भारतको अन्तिम उद्धार उडानबाट फर्कियौं । फर्किनु पनि पर्थ्यो किनकि सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द भइसकेका थिए,’ उनी भन्छिन् ।
सिरियामा लिबियाभन्दा ठीक उल्टो भयो । ‘अमेरिकाले प्रयास त गरेकै हो तर असद हाबी भए,’ सुहासिनी सुनाउँछिन् । सन् २००० देखि बसर अल असद सिरियामा निरन्तर राष्ट्रपति छन् । ‘हामी इदबजारमा सुटिङ गरिरहेका थियौं, प्रहरीले नियन्त्रणमा लियो हामीलाई समात्यो । सिरियामा धेरैथरी प्रहरी छन्, तपाईंलाई थाहा हुन्न कि कुन प्रहरीले पक्राउ गरेको हो । उनीहरूले मसहित ३ जना महिला पत्रकारलाई चौकी लगे । भारतीय दूतावासमा सम्पर्क गरेपछि मात्र छाडियो । भारतीय इतिहास र असंलग्न पक्षधर भएकाले पनि धेरै देशमा हाम्रा लागि गुडविल छ,’ उनी भन्छिन् । भारतको ‘सफ्ट पावर’ ले धेरै ठाउँमा काम गर्ने गरेको उनको अनुभव छ । ‘अहिले धेरै मान्छे भन्ने गर्छन्– भारत शक्तिशाली भयो, अब त बल देखाउनुपर्छ । हाम्रो प्रभाव ती देशमा धेरै छ, जहाँ हामीले सफ्ट पावर देखाएका छौं,’ उनको टिप्पणी छ ।
लिबिया र सिरिया रिपोर्टिङ धेरै किसिमले सुहासिनीका लागि यादगार रहे । इजरायलले नाकाबन्दी गरेका बेला लेबनानसमेत पुगेर रिपोर्टिङ गरेको अनुभव उनीसँग छ ।
पत्रकार ‘पत्रकार’ मात्रै हुनुपर्छ
कारगिलको लडाइँपछि तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले शान्ति स्थापनाको प्रयास थालेका थिए । २००० जुन/जुलाईमा पाकिस्तान र आतंकवादी संगठनसँग समेत वार्ताको तयारी गरे । गृहसचिवले पनि हिजबुल मुजाहिद्दीनसँग वार्ता सुरु गरेका थिए । उनीहरूले युद्धविराम त गरे, तर वार्ता असफल भयो । वार्ता असफल भएको अर्को दिन उनीहरूले सरकारलाई सन्देश दिन चाहन्थे । त्यतिबेला उनीहरू डबल–बमको रणनीति अपनाउँथे । सानो बम कतै राख्ने, मान्छे भेला पार्ने, त्यसपछि त्यहाँ अर्को ठूलो बम हान्ने ।
सन् २००० मा श्रीनगर विस्फोटमा हिन्दुस्तान टाइम्सका फोटो पत्रकार मारिएकामा हिजबुल मुजाहिद्दीनले माफी मागेको घटना सुहासिनीेले स्मरण गरिन् । निष्पक्ष पत्रकारलाई पेसागत रूपमा धेरै उल्झन नआउने ठान्छिन् उनी । ‘जहाँ गए पनि पत्रकारको परिचयले मात्र जानुपर्छ । कुनै निश्चित समुदायको प्रतिनिधित्व गरेर रिपोर्टिङमा जाँदा समस्या आउँछ,’ उनी स्पष्ट छिन्, ‘म कुनै देशको संस्कृतिअनुसार त्यस्तै पोसाक लगाएर रिपोर्टिङमा जाँदिनँ । म जस्तो छु, पत्रकारका रूपमा त्यसरी नै जाने हो ।’ द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारका रूपमा जाँदा अपवादबाहेक धेरैले स्वागत नै गर्ने उनले अनुभव सुनाइन् । ‘उनीहरू तपाईंलाई आफ्नो कहानी सुनाउन मन पराउँछन् । पत्रकार तटस्थ हुन्छन्, हाम्रा कथा भन्नुपर्छ भन्ने लाग्छ उनीहरूलाई,’ सुहासिनी भन्छिन् ।
मोदीदेखि मुसर्रफसम्मको अन्तर्वार्ता
पत्रकारिता यात्रामा सुहासिनीले विश्वका थुप्रै नेता भेट्ने मौका पाइन् । उनीहरूसँगको कुराकानीमा उनले मानवीय पक्ष पनि बुझ्ने मौका पाइन् । ‘मैले नेताहरू मात्र होइन, उनीहरूका परिवारसँग पनि कुरा गर्ने मौका पाएकी छु । जनरल परवेज मुसर्रफसँग अन्तर्वार्ता लिएँ, उनकी पत्नी र आमासँग समेत कुराकानी गरें । मनमोहन सिंहसँगै उनकी पत्नी र छोरीको पनि अन्तर्वार्ता लिएँ,’ उनी भन्छिन्, ‘म एक किसिमले भाग्यमानी पनि हो ।’
गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीसँग उनले अन्तर्वार्ता गरेकी थिइन् । मोदीकी आमा र दाइसँग पनि कुरा गरिन् । ‘मुख्यमन्त्री मोदी र प्रधानमन्त्री मोदीमा केही फरक नै छैन । कार्यशैली उही हो, विचार उही हो,’ उनी भन्छिन् । उनी मोदी पढेको विद्यालय पनि गइन्, शिक्षकहरूसँग कुरा गरिन् । शिक्षकहरूले मोदीको स्तुतिगान गाए । कसैले मोदी गणितमा सिपालु थिए भने, कसैले अर्को कुनै विषयमा । त्यही कुरा सुहासिनीले मोदीलाई सुनाइन् । मोदीको जवाफ थियो, ‘वास्तवमा मलाई यी कुनै विषयमा रुचि पनि थिएन र म राम्रो पनि थिइनँ । मलाई केवल थिएटरमा मात्र रुचि थियो । प्रत्येक वर्ष रामलीलामा भाग लिन्थें ।’
भारतीय प्रधानमन्त्री मोदी मिडियाप्रति कटुता राख्ने व्यक्तिका रूपमा परिचित छिन् । गुजरातको मुख्यमन्त्री छँदा सुहासिनीले लिएको अन्तर्वार्ता प्रकाशनपछि उनले ‘गुजरात दंगालाई जोडेर आफूलाई गलत तरिकाले व्याख्या गरिएको’ टिप्पणी गरेका थिए । ‘तर त्यहाँ वास्तविक हिंसा भएकै हो । सरकारको नेतृत्व लिएका व्यक्तिमाथि प्रश्न उठ्नु स्वाभाविक नै थियो,’ उनी भन्छिन् । मोदी फेरि मुख्यमन्त्री भएकै बेला अन्तर्वार्ता लिने पक्का भएको थियो । सुहासिनी उनको घर पुगिसकेकी थिइन् । अन्तिममा अन्तर्वार्ता रद्द भयो । ‘उनी मसँग बोल्न चाहँदैनन् भनियो, केही प्रश्न उनलाई चित्त बुझेको थिएन,’ सुहासिनी भन्छिन्, ‘म यो अडानमा थिएँ कि प्रश्न त सोध्छु, जवाफ दिने/नदिने तपाईंको कुरा ।’
सुहासिनीका नजरमा अहिले ९० प्रतिशत भारतीय मिडिया सरकारलाई प्रश्न गर्दैनन् । ‘मैले बाहिर जाँदा पनि भारतीय मिडियाको आलोचना सुन्ने गरेकी छु । धेरै मिडियाले सरकारको दृष्टिकोण व्याख्या मात्र गर्छन् । उनीहरूले प्रश्न गर्दैनन् । केही राम्रा पत्रकार पनि छन् । तर धेरै सरकारबाट व्यवस्थापन भएको देखिन्छ,’ भारतीय मिडियालाई आत्मसमीक्षा गर्न उनको सुझाव छ ।
पछिल्लो समय समाचार नाफामुखी र वस्तुका रूपमा उत्पादन हुन थालेकोमा सुहासिनी चिन्ता व्यक्त गर्छिन् । पत्रकारिता नाफामुखी व्यवसायका रूपमा उदाएपछि समस्या देखिन थालेको छ । ‘अहिले त मिडिया मास मेनिपुलेसनका लागि समेत प्रयोग हुन थाल्यो । राजनीतिज्ञ, कर्पोरेट संस्थानहरू जनतालाई दिग्भ्रमित पार्न मास मिडियाको सहारा लिन थालेका छन्,’ पत्रकारिता भनेपछि सन्तुलित र तथ्यपरक हुनैपर्नेमा उनी जोड दिन्छिन् ।
दक्षिण एसियामा रुचि
विभिन्न कारणले दक्षिण एसिया ‘भाइब्रेन्ट’ क्षेत्र भएकाले पनि यहाँको राजनीति र कूटनीतिक मामिला उनको रिपोर्टिङको रुचिको विषय हो । उनले सुनामी, भूकम्प, आईसी–८१४ जहाज अपहरण लगायतका थुप्रै घटनाको रिपोर्टिङ गरेकी छन् । सन् १९९६ को बंगलादेशको चुनाव पनि उनले कभर गरिन् । ‘मैले यी वर्षहरूमा के गरेंभन्दा पनि जे गरें त्यसमा खुसी छु । मुसर्रफ भारतमा निकै अलोकप्रिय भएका बेला मैले उनको अन्तर्वार्ता लिएकी हुँ,’ उनी सम्झिन्छिन् ।
उनले भारतीय नाकाबन्दीका विषयमा पनि लेखिन् । नाकाबन्दीमा उनी र ‘हिन्दू’ अखबारको ‘स्ट्यान्ड’ के थियो त ? ‘हामीले निरन्तर लेख्यौं– यो गलत कदम हो । अन्जानमै भएको हो भने ‘रियल ल्याप्स’ हो । तर जानाजान हो भने त एकदमै खराब कदम हो । यस घटनाले भारतप्रति नेपालका युवा पुस्ताको धारणा नकारात्मक बनाउन भूमिका खेल्यो,’ उनले सुनाइन् ।
बुबा सुब्रमण्यमको प्रभाव
सुहासिनीका बुबा सुब्रमण्यम स्वामी भाजपाका नेता हुन् । उनी राज्यसभा सांसद र मन्त्रीसमेत बने । ‘हिन्दू राष्ट्रवादी’ को छवि बनाएका स्वामी कुनै बेला हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्र पढाउँथे । सन् २०११ मा मुस्लिम समुदायप्रति टिप्पणी गरेपछि उनी त्यहाँबाट हटाइए । नेपाल र नेपाली राजनीतिबारे बेलाबेला लेखिरहने उनले गत चुनावमा चितवन–२ मा राप्रपाका उम्मेदवार रहेका रवीन अधिकारी आफ्ना विद्यार्थी भएको भन्दै जितको शुभकामना दिएका थिए । स्वामीले हार्वर्डमा राजा वीरेन्द्रलाई समेत पढाएको सुहासिनी बताउँछिन् । स्वामी आफैंले फेसबुकमा यसबारे केही वर्षअघि लेखेका थिए, ‘नेपालसँगको मेरो नाता लामो छ । सन् १९६० को दशकमै मैले हार्वर्डमा पढाउने बेला एक जना अन्डरग्राजुएट विद्यार्थी भेटेको थिएँ, ती विद्यार्थी पछि नेपालका राजा भए ।’
राजनीतिक र सामाजिक विषयमा तिखो टिप्पणी गर्ने स्वामीको प्रभाव सुहासिनीमा कति छ त ? भन्छिन्, ‘हरेक परिवारमा फरक–फरक दृष्टिकोण भएका व्यक्ति हुन्छन् । बुबाले कहिल्यै पनि मलाई यो लेख/नलेख भन्नुभएन । मान्छेहरू उहाँलाई अनुदार भन्छन् तर उहाँ उदार नै हुनुहुन्छ ।’ बुबा राजनीतिज्ञ भएकाले छिमेकी मुलुकबारे चासो दिने कुरा स्वाभाविक नै भएको सुहासिनीको ठम्याइ छ । उनी सन् १९७८ तिरै बुबासँग काठमाडौं आएकी थिइन् । सानैमा त्यतिबेला उनले राजा वीरेन्द्रसँग भेट्ने मौका पनि पाइन् ।
नेपाली नेतामध्ये पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरल व्यक्तित्वबाट उनी निकै प्रभावित रहिछन् । सार्क सम्मेलनमा मोदीको भ्रमणपछि कोइरालासँगको भेट यसरी सम्झिन्छिन् सुहासिनी, ‘कोइराला मोदीलाई भर्खर विमानस्थल छाडेर आएका थिए । संयुक्त वक्तव्यमा ईपीजी उल्लेख भएकाले उनी निकै खुसी देखिन्थे । ऐतिहासिक उपलब्धि हात पर्यो भन्नेमा खुसी थिए ।’
प्रधानमन्त्री हुनुअघि दिल्लीका पत्रकार–सर्कलमा कोइराला लोकप्रिय नै रहेको उनले सुनाइन् । सार्क सम्मेलनको आयोजना गरेर पनि तत्कालीन प्रधानमन्त्री कोइरालाले एक किसिमको उपलब्धि हासिल गरे । सार्क सम्मेलन–२०१४ पछि क्षेत्रीय संगठन निष्क्रिय जस्तै भएको छ । भारत–पाकिस्तान विवादले पनि बिमस्टेकका गतिविधि बढ्दा सार्क भने सुस्त छ । उनी भन्छिन्, ‘दक्षिण एसिया भविष्यमा जलवायु परिवर्तन, आप्रवासन, खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा र ऊर्जा सुरक्षासम्बन्धी समस्याबाट गुज्रिने भएकाले क्षेत्रीय संगठनको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।’

