विषय : समुदायमा आधारित विपद् व्यवस्थापन समिति
देवका रेग्मी
अध्यक्ष, खयरघारी विपद व्यवस्थापन समूह, चितवन
विपद् व्यवस्थापन समूहमा कसरी पुग्ने ?
चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब २२ किमी पूर्वमा अवस्थित छ,खैरहनी नगरपालिका ।खैरहनी नगरपालिका वडा नं १० वडा कार्यलयबाट तीन मिनेटको दुरीमा रहेको खयरघारी विपद् व्यवस्थापन समूहकी अध्यक्ष देवका रेग्मीको घर पुग्न सकिन्छ ।
शुरुमा सानो ग्रामीण बजारको अवधारणाबाट अगाडी आएको हो । पूर्व पश्चिम राजमार्गको निर्माण पश्चात दु्रतगतिमा खैरहनी शहरीकरण भै रहेको छ । प्राचिन कालमा सो क्षेत्रमा प्रसस्त खयर घारीले भरिएको थियो । त्यो बेला खयरघारीको नामले परिचित रहेको खयरघारी शब्द अपभ्रंस भई खैरहनी भएको भन्ने भनाई रहेको छ ।
भौगोलिक अवस्था
समुद्री सतह देखि करिब १९० मी.उचाईमा रहेको छ । यस नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले उत्तर र दक्षिण भागमा बरावरी बाँडिएको छ । यस नगरपालिका उत्तरमा शक्तिखोर र सिद्धि, पूर्वमा विरेन्द्रनगर, भण्डारा पश्चिममा रत्ननगर नगरपालिका छ भने दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज अवस्थित छ । दक्षिण तर्फ प्राकृतिक सिमानाको रुपमा बुढी राप्ती नदीले खैरहनीलाई छुट्याएको छ । नियमित रुपमा राप्ती नदी र यसका शाखा नदीहरुले बगाएर ल्याएका कृषि योग्य मलिलो माटोको कारण यो क्षेत्र कृषिको लागि निकै उपयुक्त छ ।
परिचय : खैरहनी विपद् व्यवस्थापन समूह
चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं १० खयरघारी हो । गाउँकै नामबाट खयरघारि विपद् व्यवस्थापन समूह गठन भएको हो । समूहकी अध्यक्ष देवका रेग्मी हुनुहुन्छ । उहाँ एकल महिला हुनुहुन्छ । २०७८ सालमा समूह गठन भएको हो । २५ जनाको गठन गरेका छौं । २४ जना महिला र एक जना पुरुष हुनुहुन्छ । एक जना महिलाको नागरिकता नभए पछि पुरुष राखिएको हो । ५ ÷६ घर दलित परिवारका छन् । समूहमा अध्यक्ष देवका सहित ६ जना एकल महिला छन् । ३ ÷४ घरबाहेक अरुलाई खान पुग्दैन । खानपुग्ने जग्गा पनि छैन । सबैजसो ज्यालामजदुरी गरेर पेट पाल्ने हुन् ।
करिब ४ लाख २० हजारको बीउ पुँजी थियो । बीउ पूजीकोलागि मेड नेपालले पहिला ३ लाख दियो । त्यसपछि एक लाख २० हजार दियो । अहिले झण्डै ७ लाख जति भएको छ । समूहबाट लगानी पनि भएको छ । दुई लाख जति १२ प्रतिशत व्याजमा दिएका छौं । कोषमा १२ लाख जति भयो भने ६ प्रतिशत भन्दा पनि न्युन व्याज लिने सोंच बनाएका छौं । हाल ऋण लिएकाहरुले जीविकोपार्जनकोलागि गाईभैसि,बाख्रा, कुखुरा,हाँस, बंगुर, तरकारी खेति, टेलिरिङ गर्नु भएको छ । समयमा व्याज नतिर्नेलाई ५० रुपैंया जरिवाना पनि लिने गरेका छौं ।
खैरहनी विपद व्यवस्थापन समूह गठनको सोंच कसरी आयो ?
मौसमि र बेमौसमि विपद् भोगिरहेको गाउँ हो, खैरहनी । आकस्मिकरुपमा आउने विपद्ले स्थानीयलाई उठिबास लगाउँछ । विपद भनेकै आकस्मिक रुपमा आउने हो । विपद्मा अप्ठेरो पर्छ । पहिला विपद परेको बेला गाउँ छोडेर भाग्नु पथ्र्यो । पानी पर्यो की हामीलाई डर लाग्थ्यो । २०५२ र २०७३ सालको बाढीमा धेरैजसो घरै डुबे । धनजनको क्षति भयो । विपद् व्यवस्थापन भन्ने त थाहै थिएन ।
मेड नेपालबाट आउनु भएका व्यक्तिहरुले बुझाए पछि विपद् व्यवस्थापन भन्ने थाहा पायौं । काठमाडौंबाट चन्द्र पाण्डे लगायतका सरहरु आउनु भएको थियो । अहिले विपद व्यवस्थापन समूह गठन गर्दा आर्थिकरुपमा मात्र होइन मानवीयरुपमा परस्पर संगठित हुन सहयोग पुगेको छ । विपद् जोखिम पहिचान गर्छौं । जोखिमको विश्लेषण पनि सदस्यहरु मिलेर गर्छौं । अब विपद आयो भने मिलेर काम गर्न सक्छौं भन्ने महसुस भएको छ ।
के कस्ता विपद भोग्नु भएको छ ?
२०५० सालमा ठूलो राप्तीमा बाढी आयो । गाउँ नै छोडेर भाग्यौं । २०५०, २०५९ र २०७२ सालतिर ठूलो बाढी आएको थियो ।
हामी बीचमा छौं । पूर्वतिर झुम्रे खोला छ । मेरो घरबाट दुई मिनेट टाढा बुढीराप्ती छ । २०७२ सालमा झुम्रे खोला र बुढी राप्तीको बाढी आयो । पानीको सतह बढ्यो । ७३ घण्टा सम्म कहिं जान सकेनौं । भगवानको नाम लिंदै उद्धारको पर्खाइमा बसिरह्यौं ।
कोरियन सरकारले धेरै वर्ष अघि बुढी राप्तीमा ड्याम लगाइदिएको थियो । तर,मरमत भएको छैन । खोलाको सतहको उचाई बढेर ड्यामको बराबर भइसकेको छ । अहिले बाढी आएको त छैन । तर, जोखिम बढ्दो छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा छौं ।
बाढीबाट जोगिन के के प्रयासहरु भएका छन् ?
बुढी राप्तीमा पहिला कोरियन सरकारले ड्याम लगाइदिएको थियो । त्यसपछि मेड नेपालबाट मिनसरहरु आएर हेरेर जाली दिनुभएको छ । हामीले वडाबाट इञ्जिनियर बोलाएर जाली ढुंगा राखेर तटबन्ध गरेका छौं । मेड नेपालले रकम दिएको थियो ।
हामीले बुढी राप्तीमा शीरमा गएर अवलोकन गरेका थियौं । सामुहिक रुपमा वृक्षारोपण पनि गरेका छौं । पछिल्लो पटक हामीले २ सय ५० बृक्षारोपण गरेका छौं ।
अब बाढी आयो भने जोखिम पर्ने अनुमान गरेका छौं । खोला र ड्याम बराबर भइसकेको छ ।
उद्धार टोलि वा सामग्रि पनि राख्नु भएको छ की ?
उद्धार टोलि बनाएका छौं । मेड नेपालले नै दिएको लाइफ ज्याकेट ४ वटा दिएको छ । एउटा स्ट्रेचर छ । ६ वटा पञ्जा, तीनवटा कैंचि, डोरी, साइरन छ । कोहि रुखमा अड्किए भने उद्धारकोलागि डोरी पनि छ ।
समूह सदस्यहरुले वचत पनि गर्ने रहेछन् । वचत किन गर्नु पर्यो ?
आर्थिक समस्या भएको बेला सहयोग पुगोस भने वचत शुरु गरिएको छ । शुरुमा सदस्यहरुबाट प्रतिव्यक्ति एक शय रुपैंया वचत हुन्थ्यो । । अहिले २ शय वचत भइरहेको छ । विपद परेको बेला सै सापट कहाँ जाने माग्न ? अन्यत्र माग्न जाँदा कागजपत्र खोज्छन । ऋण दिने निकायले प्रक्रिया मिल्या छैन भन्छन । रकम वचत गरे पछि ऋण पनि पाइयो नि । विपद् परेका व्यक्तिलाई सहयोग गर्छौं ।
उपचारका क्रममा यहाँका एक मिर्गौला बिरामीको जनाको भारतमा मृत्यु भयो । परिवारलाई दाहसंस्कारमा लैजान समस्या भयो । हामी २५ जना सदस्यले २५ शय रुपैंया उठाएर सहयोग गरेर एम्बुलेन्समा पठायौं । छिमेकीको घरको परालको टौवामा आगो लागेको थियो । तत्काल हाम्रो विपद् समूहको उद्धार टोलिले टौवामा लागेको आगो निभाए । भिज्युअल पनि मोबाइलमा खिचेकी छुँ ।
वचत समूह सरकारी निकायमा पनि सूचिकृत भएको छ की ?
नगर र वडा कार्यालयमा गएर समूहलाई सूचिकृत गरेका छौं । सूचिकृत भए पछि सरकारी निकायमा अंगमा रुपमा रहन पाइयो ।
रुपान्तरण शिक्षा लिए पछि के फाइदा भयो ?
रुपान्तरण शिक्षा पछि गाउँलेहरु बोल्न सक्ने भएका छन् । पहिला परिचय दिन नसक्नेहरु थिए । आफ्नो नाम समेत भन्दैनथे । अहिले ढुक्कसँग आफ्नो परिचय दिन सक्ने भएका छन् । चेतना फैलिएको छ । कतिपय साईबर केसहरु प्रहरी चौकीमा पर्छ । एक बालिकाको विषयलाई लिएर केहि दिन अघि साईबर केस परेको थियो । महिलाहरु विभिन्न केसहरुमा वडा कार्यालय, प्रहरी कार्यालयमा गएर बोल्ने, समाधानमा सहयोग पुर्याउने कार्य गर्दै आउनु भएको छ ।
अहिले बैठक बस्ने, माईन्युट लेख्न सक्ने भएका छन् । नेतृत्व गर्न समेत तयार छन् ।
स्रोत व्यक्ति
१ . देवका रेग्मी, अध्यक्ष, खयरघारी विपद व्यवस्थापन समूह, चितवन ९८४५०७९५१२
२. वडा नं १० का वडाध्यक्ष चन्द्र विक्रम चौधरी, मोबाइल नं ९८५५०६५३४२

