(काठमाडौं)
झन्डै एक दशक लामो जेलयात्रापछि सन् १९९९ डिसेम्बर १७ मा चेम्गाङबाट बाहिरिँदै गर्दा भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले धेरै कुरा सम्झिएका थिएनन् । बरु त्यही जेलको भित्तामा आफूले लेखेको गीता मन्त्र सम्झिएका थिए– गीता गङ्गा च गायत्री…।
रिजाल जेलबाट निस्केर केही वर्ष थिम्पु बसे । त्यसपछि फुन्चोलिङ, जयगाउँ, सिलिगुडी, कोलकाता हुँदै दिल्लीमा अड्किए । जीवनरक्षा र सुरक्षाका हिसाबमा नेपाल जानू नै ठीक भनेर उनी श्रीमती कौशिलालाई लिएर सन् २००३ को दसैंछेकमा गोरखपुर–भैरहवा नाका हुँदै काठमाडौं भित्रिए ।
टेकनाथ सन् १९८९ डिसेम्बर १६ मा नेपाली भूमिबाटै समातिएर थिम्पु (भुटान) पुर्याइएका थिए, कुनै सुपुर्दगी नियमनको तरतिवबिनै । मानौं, यी टेकनाथ पात्र कुनै अन्तर्राष्ट्रिय आपराधिक गिरोहका नाइके हुन्, जसलाई बुझाउन पाएर नेपालका तत्कालीन राजा वीरेन्द्रले भुटानका राजा जिग्मे सिङ्गे वाङचुकलाई तिरिनसक्नुको गुन लगाएका थिए । आश्चर्य, यी अधिकारवादीको पक्राउ (बिनापुर्जी), सुपुर्दगी (बिनासन्धि) र थुना (रबुना, वाङ्दी र चेम्गाङ) बारे नेपाल सरकारले कहींकतै सरोकार नराखेरै आफ्नो असंलग्नदेखि पञ्चशीलको कूटनीतिक सिद्धान्तलाई ‘शिरोपर’ गरिरह्यो । भुटानी जेलमा रिजालसहितका अधिकारकर्मीलाई कोचिएपछि भुटान राज्यले दक्षिणी भुटानका ल्होत्साम्पा र सेरछोक्पा समुदायलाई छानीछानी देशनिकाला गर्ने ताण्डव सुरु गर्यो ।
त्यसपछि एउटै प्रश्न उब्जिरह्यो– शरण लिएर बसिरहेको एउटा व्यक्तिलाई जुन देशले एउटा अज्ञात आतंकवादीलाई झैं रातारात सुपुर्दगी गराएर थिम्पु उतारिदिएको थियो, शरणागत त्यही देशमा, उही माटोमा टेकनाथ फेरि पनि शरण खोज्दै
किन आए ?
‘म जाऊँ कहाँ ? आफ्नो जन्मकर्मको थलो भुटानमा बस्ने ठाउँ दिइएन । छिमेकी भारतमा सधैं जासुस र षड्यन्त्रका तानाबाना मात्रै थिए । मर्नैर् परे पनि आफ्नै भाषा बोल्ने, अपनत्वबोध हुने नेपाली माटोमै मरुँला भनी फर्किएर आएको थिएँ,’ टेकनाथले धेरै पटक लेखेका छन्, बोलेका छन् । फेरि भुटानी शासकको जातीय सफायाको वितण्डाले उनी नेपाल दोस्रो पटक आइपुग्दा झापा–मोरङका शिविरमा मात्रै १ लाखभन्दा
बढी भुटानी नागरिक शरणार्थी हैसियतमा थुप्रिइसकेका थिए ।
शरणार्थी घरफिर्तीका नाममा नेपाल–भुटान वार्ता, वर्गीकरणसहितका अनेक प्रपञ्च चलिरहे, ढाकछोप जारी रह्यो । त्यो बेला आफ्ना नागरिकको ससम्मान घरफिर्ती र शरणार्थीको हकअधिकारका निम्ति टेकनाथ एउटा आवाज बनिरहे । काठमाडौंमा राष्ट्रसंघ कार्यालय र रत्नपार्कमा विभिन्न चरणका अनशनमा उनी उत्रिए । त्यस क्रममा शरणमा आएका नागरिकको जीवनरक्षामा दालचामल, नुनतेल, चिउराभुजा दिन गोविन्दप्रसाद श्रेष्ठ (रत्न पुस्तक भण्डार), ज्ञानीशोभा तुलाधर (नमुना फेसन कलेज), कृष्ण पहाडी, सुरेशचन्द्र पोखरेल (हाल अमेरिका) सहितका शुभेच्छुक टेकनाथको आवाज र मानवीय सत्कर्म पछ्याउँदै साथमा हिँडिरहेका हुन्थे ।
िि
िवर्षौं बितेर गए । कुनै समयका भुटानमा राजकीय परिषद्का सल्लाहकार, राज्यसभा सदस्य र दक्षिणी भुटानको लामिडाँडा क्षेत्रका निर्वाचित विधायक ‘डासो टेकनाथ रिजाल’ का विरुद्ध सिंगो राज्य खनिएपछि उनी हक–अधिकारका निम्ति अनशन र विज्ञप्तिमा सीमित हुँदै गएका थिए । भुटानी शरणार्थीलाई अमेरिकासहितका मुलुकमा पुनर्बसोबास गराइने भएपछि शरणार्थी प्रतिनिधि नेताका तर्फबाट सहमति जुटाउने प्रयत्न चलेको थियो । त्यसमा माध्यम बनेका थिए तत्कालीन अमेरिकी राजदूत जेम्स मोरियार्टी । तर, मोरियार्टीसमक्ष विरोध जनाउँदै पुनर्बसोबासको कागजातमा सही नगर्नेमध्येमा दुई नेता पनि थिए– एक जना डा. भम्पा राई र अर्का डासो टेकनाथ ।
भम्पा वा टेकनाथको यस्तो ‘अकेला’ आवाजको सुनुवाइ किन हुन्थ्यो र ! आफ्नो इच्छा र परिबन्दअनुसार सन् २०१६ सम्ममा १ लाखभन्दा बढी भुटानी शरणार्थी अमेरिका, बेलायत, क्यानडासहितका पश्चिमा मुलुकमा बसोबासमा गइसकेका थिए । त्यही हूलमा टेकनाथका तीन छोराहरू कमल, त्रिविक्रम र नृपेन्द्र पनि बाहिरिए ।
यी सबै घटना अघि बढिरहेकै बेला टेकनाथको मोबाइलमा कुनै अज्ञात ठेगानाबाट भुटानको चेम्गाङ जेलभित्रको एउटा तस्बिर आइपुग्यो, जहाँ एउटा भित्ताको संकेत थियो, लेखिएको थियो— गीता गङ्गा च गायत्री… ।
त्यो तस्बिर र अरू केही प्रमाण आएपछि निकै हतारमा (२०७८ भदौ मसान्ततिर) फोन गरेका टेकनाथले मलाई ‘भाइ, तुरुन्त बिर्तामोड आउनुपर्यो, भेट्ने काम परेको छ’ भने ।
भोलिपल्ट बिर्तामोड पुग्नासाथ रिजालले आफ्ना केही साथीभाइको नाम सम्झिए, जो सन् १९९९ सम्म त्यही चेम्गाङ जेलमा सँगै सजाय बेहोर्ने साथीभाइ थिए— गंगाराम ढकाल, रामबहादुर राई, भक्तबहादुर राई, हर्कबहादुर गुरुङ, प्रकाश मगर, छेवाङ रिन्जिन र अरू । अझै खोजीनिती गर्दा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को दर्तामा रहेका यस्ता राजबन्दीको संख्या ३८ भन्दा बढी फेला पर्यो । उनीहरू सन् १९९३ यता भुटानमा थुनिएका छन् । यस काममा नाम–पहिचान प्रमाणीकरण जुटाउनमा नेदरल्यान्ड्स (हेग) बस्ने शरणार्थी अधिकारकर्मी राम कार्कीले ‘नसोचेको’ सहयोग गरेका थिए ।
भुटानका जेलमा राजबन्दी हैसियतमा बसिरहेका नेपालीभाषी र अन्य गुमनाम ल्होत्साम्पा/सेरछोक्पाका बारेमा यसरी टेकनाथमार्फत पहिलो पटक बाहिरी जगत्ले थाहा पाउन सकेको थियो । यो खुलासासहितको ‘तीन दशकदेखि भुटानी जेलमा राजबन्दी’ समाचार २०७८ कात्तिक १२ मा आएको थियो । यो समाचारपछि, आफूलाई सधैं खुसीसुखी राष्ट्रको सूचकांकमा राखेर ‘ह्यापी इन्डेक्स’को दुहाइ दिँदै हिँड्ने भुटानमाथि अमेरिकी ह्युमन राइट्स वाचले पनि प्रश्न उठाएको थियो ।
िि
िसमय बित्दै गयो । राजबन्दीको समाचार आएपछि पनि नेता टेकनाथ अनेक मुद्दा र सरोकारमा सम्पर्कमा आइरहे । नेपाल सरकारको संरक्षण र न्यूनतम सेवासुविधासहित रहे/बसेका शरणार्थी नेता रिजालको सधैंको मुद्दा शिविरमा रहेका ६ हजारभन्दा बढी शरणार्थीको हक–अधिकारका पक्षमा केन्द्रित हुन्थ्यो । अर्को पटक २०७९ को सुरुवातमै भएको भेटघाटमा ‘नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको सक्रियता’ बारे उनले केही मौखिक र केही लिखित प्रमाणसहित जानकारी गराएका थिए । आफूले यस्तो गिरोहको सक्रियताबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लसहितलाई अवगत गराइसकेको बताएका थिए । टेकनाथको भनाइ र फेला परेका अरू प्रमाणकै भरमा पहिलो पटक २०७९ जेठ ३१ मा कान्तिपुरमै अर्को समाचार आएको थियो— ‘भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली’ शीर्षकमा ।
यो समाचारपछि केही साता र महिनासम्म गिरोहका बारेमा छिटपुट समाचार आइरहे र फेरि सेलायो सबै कुरा । गिरोहका केही नाइके पक्राउ परेर रातारात छुट्कारा भइसकेको कुरा पछि मात्रै थाहा भयो ।
यही हल्लाका अन्य आधार र प्रमाण खोजिरहेकै बेला एउटा स्रोतले झापा, काकडभिट्टा बोलाएर २०७९ फागुन अन्तिम सातामा एउटा प्रतिवेदन हातमा थमायो, जहाँ अमेरिका जान लालायित ८७५ जना नक्कली भुटानी र सक्कली नेपालीको नाम थियो, नक्कली शरणार्थीको परिचयमा ।
पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गृह मन्त्रालयले बनाएको कार्यदलले तयार गरेको प्रतिवेदनभित्रका त्यही नाम र अनुसूची केलाउने क्रममा फेरि नेता टेकनाथ सहयोगी बनेका थिए, बिर्तामोड बजारमा । भुटानी नागरिकको नाम बेचेर र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइने यस कर्तुतमा करोडौं रुपैयाँको चलखेल भएको र यसमा सिंहदरबारका वरिष्ठतम् राजनीतिक तथा प्रशासनिक अधिकारीहरू जोडिएको पुष्टिका आधार समात्न टेकनाथले सहयोग गरेका थिए । त्यही प्रमाण र अरू सोधखोजपछि २०७९ चैत १३ मा ‘अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली’ शीर्षकमा कान्तिपुरमा समाचार आयो । संयोगले उक्त समाचारको अन्तिम तयारी गर्दै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो गिरोहका नाइकेद्वय केशव दुलाल र सानु भण्डारी तथा सहयोगी टंक गुरुङ पक्राउ परिसकेका थिए ।
नेता रिजालले भुटानी शरणार्थी गिरोहको अन्तर्य पहिल्याउन र भुटानभित्र जेलमा थुनिएका राजबन्दीको यथास्थिति बाहिर निकाल्न दिएको दुई पटकको त्यो साथ उल्लेख्य थियो नै । जबकि यही नक्कली शरणार्थी गिरोहको मुद्दामा तानिएर
आज उनै डासो टेकनाथसमेत केन्द्रीय कारागार चलान भएका छन् ।
शरणार्थी नेता रिजालले भुटानका ल्होत्साम्पा र सेरछोक्पा समुदायमाथि गरिएको अत्याचारको नालीबेलीसहित लेखेको कृति ‘निर्वासन’ को भूमिकामा इन्द्रजित राईको पादटिप्पणी छ, राई पनि शरणार्थी गिरोहको योजनाकारका रूपमा शुक्रबार केन्द्रीय कारागार चलान भएका छन् । ‘भुटानका टेकनाथ रिजाललाई अन्तर्राष्ट्रिय रूपमै प्रसिद्धि पाएका मानवअधिकारकर्मी तथा भुटानको प्रजातान्त्रिक आन्दोलनका एक अभियन्ताका रूपमा मैले बुझेको थिएँ । दुई दशक पहिले उहाँको नामसँग परिचित भएदेखि नै उहाँसँग भेट गर्न म उत्सुक थिएँ र भुटानी नागरिकका खासगरी ल्होत्साम्पाका अधिकारहरूका लागि उहाँले गरेको संघर्षको वृत्तान्त उहाँबाटै सुन्ने प्रबल इच्छा थियो,’ इन्द्रजितले लेखेका छन् ।
कुनै बेला आफ्नो छवि, अडान र अठोटमा निकै दरिला नेता देखिएका टेकनाथ आज न्यायिक फैसलाको कठघरामा तानिएका छन् । उनले आत्मवृत्तान्त ‘निर्वासन’ को एक सन्दर्भमा लेखेका छन्– ‘भुटान डरलाग्दा डाँकुहरूले भरिएको देश हो । डाँकुको चंगुलमा परेर हामी नेपालीभाषी कति आफ्नै गाउँ र माटोबाहिर पुग्यौं भने कति माटोभित्रै चंगुल खेपिरहेका छौं ।’
संयोग के छ भने उनलेले लेखेको ‘निर्वासन’को यो डाकुको चंगुल विगतमा भुटानभित्रको थियो, अहिले भने नेपालभित्र फैलिएको छ । जे–जता र जुन परिबन्द भए पनि डासो टेकनाथसँग इतिहास छ । इतिहास सधैं जित्नेको मात्रै हुन्छ भन्ने होइन, इतिहास हार्नेको पनि हुन्छ । अनेक परिबन्द र परिपञ्चका कारण टेकनाथ इतिहासमा हारेर पनि सम्झिइरहने पात्र बनेका छन् । साभार : कान्तिपुर
हार्नेको पनि बन्छ इतिहास !
हार्नेको पनि बन्छ इतिहास !
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

