काठमाडौं उपत्यकामा पैदलयात्रु निकै जोखिममा छन् । सवारी दुर्घटनामा बर्सेनि औसत ६८ पैदलयात्रुले ज्यान गुमाउने गरेको तथ्यांक छ । पछिल्लो दुई वर्षयता सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर चालकपछि मृत्यु हुनेमा पैदलयात्रु छन् । ०७४ मा एक सय ९४ दुर्घटनामा पैदलयात्रु ९३, मोटरसाइकल र स्कुटर चालक एक सय ११, ट्रक चालक र यात्रु चार, साइकलयात्रु तीन, बसका चालक र यात्रु आठ र कारका चालक चार जना छन् । गतवर्ष पनि दुई सय ९४ जनाको मृत्यु भएकोमा मोटरसाइकल र स्कुटरका एक सय १५ जना र पैदलयात्रु ९३ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । मृत्यु हुने पैदलयात्रुमध्ये जेब्रा क्रसमा बाटो काट्ने र सडकमा हिँड्ने यात्रु रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उपत्यकामा कतिले ज्यान गुमाए ?
वर्ष मृतक पैदलयात्रु
२०७० ५३
२०७१ ५७
२०७२ ६५
२०७३ ७९
२०७४ ६३
२०७५ ९३
स्रोत ः ट्राफिक प्रहरी महाशाखा
पैदलयात्रु सधैं असुरक्षित
काठमाडौं – सिभिल अस्पतालका एनेस्थेसिया डा. प्रभु जोशी आइतबार ‘मर्निङ वाक’मा थिए । बाटो काट्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा ७० वर्षीय उनको घटनास्थलमै मृत्यु भयो । बानेश्वरस्थित संसद् भवनअगाडिबाट बाटो काट्दै गर्दा गाडीले ठक्कर दिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले बताए । ठक्कर दिने सवारीको भने पहिचान हुन सकेको छैन । ‘संसद् भवन अगाडिबाट शंखमूलतर्फ जान लाग्दा ठक्कर दिएको देखिन्छ,’ उनले भने, ‘ठक्कर दिने सवारीको नम्बर नखुलेकाले खोजी जारी छ ।’ सडकको सीसी क्यामेराबाट पनि ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । मर्निङवाकमा उनी एक्लै भएको र सर्वसाधारणसमेत सडकमा न्यून भएकै कारण गाडीको पहिचान हुन नसकेको रेग्मीले बताए ।
एक साताअघि ललितपुरको एकान्तकुना यातायात कार्यालयअगाडि पनि मोटरसाइकलको ठक्करबाट ५० वर्षीया सेवेनकुमारी आलेको मुत्यु भएको थियो । कात्तिक ३० मा बा६५प ७०४७ र को२९प ९१६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा आले घानमा परिन्, बीएन्डबी अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो ।
बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदलयात्रुले ज्यान गुमाएका छन् । कात्तिक १७ मा भक्तपुरको ठिमीस्थित क्षयरोग अस्पतालअगाडिको सडकछेउबाट हिँडिरहेका पैदलयात्रु विष्णु नेपाली र भेदीमाया नेपालीलाई बा५३प २४८७ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । उपचार क्रममा उनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा गत महिना एक हजार सात सय ९७ सवारीसाधन दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । मृत्यु भएका मध्ये ९ जना पैदलयात्रु नै छन् । दुर्घटनामा पैदलयात्रु कति घाइते हुन्छन् भन्ने यकिन तथ्यांक ट्राफिक प्रहरीसँग पनि छैन । ‘उपत्यकामा हुने अधिकांश दुर्घटनामा घाइते र मृत्यु हुनेमा पैदलयात्रु नै बढी छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रविकुमार पौडेलले भने । शनिबार तीन जिल्लामा भएका ३४ वटा दुर्घटनामा पैदलयात्रुलाई ठक्कर दिएको घटना मात्रै ९ वटा छन् । यसले पनि पैदलयात्रा असुरक्षित रहेको प्रस्ट हुन्छ ।
महाशाखाको तथ्यांकअनुसार उपत्यकाका दुर्घटनामा मृत्यु हुनेमा ५० प्रतिशत पैदलयात्रु छन् । हरेक वर्ष ५० भन्दा बढी पैदलयात्रुको मृत्यु हुने गरेको प्रहरी उपरीक्षक पौडेलले बताए । उनका अनुसार ०७० मा ५३ जना पैदलयात्रुको मृत्यु भएकामा ०७१ मा ५७ जना, ०७२ मा ७६ जना, ०७३ मा ७९ जना, ०७४ मा ६३ र गत वर्ष ९३ जना पैदलयात्रुले दुर्घटनामा ज्यान गुमाएका छन् । साउनदेखि असोसम्म ५९ जनाको दुर्घटनामा मृत्यु भएकामा पैदलयात्रु २१ जना छन् । चालककै लापरबाहीले पैदलयात्रुको मृत्यु हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । गत वर्ष भएको पाँच हजार आठ सय ९० दुर्घटनामा पैदलयात्रुको लापरबाहीका तीनवटा मात्रै घटना भएका छन् । ‘सडकछेउमा रेलिङ हाल्ने हो भने पैदलयात्रु दुर्घटनामा पर्ने सम्भावना न्यून हुन्थ्यो,’ प्रहरी उपरीक्षक पौडेलले भने ।

