पोखरा– सडक, शिक्षित जमात र राजनीतिक चेतना बढेका निर्वाचन क्षेत्रमा मतदाताको स्वविवेक निर्णायक हुन्छ । यस्तो अवस्थामा उम्मेदवारले दिने आश्वासन र मतदाताका प्रश्नको जवाफ सहज हुँदैन । यही अनुभव गरिरहेका छन् कास्की २ बाट प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी उम्मेदवार एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसे ।
बिहीबार चालिसे महानगरको २१ नम्बर वडामा पर्ने निर्मलपोखरीका पहाडी बस्तीमा थिए भने अधिकारी त्यसैको पल्लो छेउको अर्को डाँडा कृस्तिनाच्ने चौरमा । पोखरा उपमहानगरबाट महानगरमा रूपान्तरित हुँदा साविकका यी दुवै गाविस गाभिएका हुन् ।
निर्मलपोखरीको शिवालय चोकको घुम्तीमा दिउँसो घाम ताप्ने मेलोको छलफलमा भेटिएका स्थानीय गंगादत्त भण्डारी यस पटकको निर्वाचनमा भोट माग्न आउनेले स्थानीय तहको काम, कर्तव्य र अधिकारबारे कर्मचारीलाई राम्रोसँग बुझाइदिनुपर्ने धारणा राख्छन् । ‘पहिले गाविस थियो, गाविसमा गएर योजना माग्दा सजिलो थियो,’ उनले भने, ‘अब महानगरपालिका पुग्नुपर्छ, कर्मचारी कुरा बुझ्दैनन्, सजिलो कामका लागि पनि मेयर/उपमेयरलाई नभेटी नहुने कस्तो चलन बसेको होला ?’ भण्डारीजस्ता धेरैको प्रश्न स्थानीय तहले गर्ने कामकारबाही र दिने योजनाकै विषयमा छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले पनि यस्तै प्रश्नका जवाफसँगै आश्वासन बाँड्नुपरेको छ । कास्कीमा ३ क्षेत्र छन् । पोखरेलीका अधिकांश चुनावी छलफल भने २ नम्बर क्षेत्रका वाम गठबन्धन र कांग्रेस उम्मेदवारबीचको प्रतिस्पर्धाले खिचेको छ । दुई पटक संविधानसभा र संसद्मा प्रतिनिधित्व गरिसकेका अधिकारीसँग प्राध्यापन पेसामा रहेर पार्टीको बुद्धिजीवी मञ्चहरूमा आफ्नो उपस्थिति जनाइरहेका चालिसे प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।
४९ वर्षीय अधिकारीको प्रतिबद्धतापत्रमा कोरला नाका खुलाउनेदेखि पर्यटन पूर्वाधार, स्याटलाइट सिटी निर्माणसम्मका महत्त्वाकांक्षी योजना छन् । चालिसेले पनि महानगरको बृहत्तर विकाससँगै जिल्लाको पूर्वाधार विकास, रोजगारी सिर्जनाका योजनालाई चुनावी मुद्दामा
समेटेका छन् ।
मतदाता भेट्दै हिँडेका ५७ वर्षीय चालिसेको कार्यकर्तासहितको टोली बिहीबार शिवालय चोक आइपुग्दा अपराह्न ४ बजेको थियो । टोलीको बिहानको खाना खाने समय बल्ल भयो । ‘हामी योजनाबद्ध काम गर्नमा धेरै पछि छौं, सडक होस् वा नालाका योजना,’ चालिसेले भने, ‘कति वर्षपछि त्यसको कति बिस्तार गर्ने, अहिले कसलाई कति जग्गा छाड्नुस् भन्नुपर्ने भन्नेमा ठ्याक्कै हेक्का छैन । अनि धेरै योजनामा सुझबुझ देखिँदैन ।’ सांसद पदको उम्मेदवारले स्थानीय तहले गर्ने विकास पूर्वाधारका कामको आश्वासन दिन बाध्य हुनु विडम्बना भएको उनले सुनाए ।
‘मतदातासँग धेरै प्रश्न छन्, पहिले जितेर सरकारमा पठाएका, स्थानीय तहमा जिताएकाहरूबारे पनि धेरै गुनासो गर्छन्,’ उनले भने, ‘मैले नसकिने कुरामा कसैलाई वाचा गरेको छैन ।’ फेरिएको परिवेशमा करिब ६० प्रतिशत मतदाता सचेत र राजनीतिक सुझबुझ भएको भए पनि ४० प्रतिशत निर्णायक हुने मतदाता रिझाउन सजिलो नभएको उनले बताए । लामो समय विद्यार्थी राजनीति अनि प्राध्यापन पेसामा बिताएका चालिसेको यो पहिलो प्रत्यक्ष चुनावी अनुभव हो । तर, उनी सन्तुलित शैलीमा मतदाताका प्रश्नको उत्तर दिन्छन् । वाम गठबन्धनका अधिकारी उनका प्रतिस्पर्धी उम्मेदवार भएकाले पनि उनले संयमसँगै जनताले बुझ्ने भाषामा आफ्ना एजेन्डा राखिरहेका छन् । ‘मैले प्रतिस्पर्धी उम्मेदवारका विषयमा व्यक्तिगत कुरा भन्नुपर्ने केही छैन, लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘परिवर्तन चाहने जनताले सधैं एउटैलाई चुनिरहन्छन् भन्ने हुँदैन ।’ चार दशकदेखि पार्टीमा क्रियाशील भए पनि प्रत्यक्ष उम्मेदवारीको पहिलो मौका पाउनासाथ यसपालि उनी प्राध्यापन पेसा छाडेर निर्वाचनमा होमिएका हुन् । राजनीतिक आन्दोलनका क्रममा २ वर्ष ३ महिना जेल बसेका चालिसे धेरै पटक सम्भावित उम्मेदवारको अन्तिम सूचीबाट हटाइन्थे । यस पटक बलियो उम्मेदवारका रूपमा कांग्रेसले उनको नाम अघि सारेको हो ।
संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा विजयी एमालेका अधिकारीले संसद्को विकास समिति सभापति हुँदै राष्ट्रिय स्तरमा आफ्नो विकासप्रेमी छवि बनाइसकेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी राजनीति हुँदै कीर्तिपुरमा पनि आफ्नो क्षमता देखाएका उनी सम्भावना भएको नेता मानिन्छन् ।
२०५१ मा एमाले, ०५१ र ०५६ मा कांग्रेसले जितेको क्षेत्रमा अधिकारीले दुई पटक हात परेको जित यस पटक भने त्यति सहज नहुन सक्छ । तर, उनी भने जित्नेमा निश्चिन्त छन् । ‘मैले चुनाव आएपछि मात्रै मतदातासँग भेटघाट गर्ने र संवाद गर्ने गरेको होइन,’ अधिकारीले भने, ‘पहिल्यैदेखि मतदातामाझ छु । निरन्तर छलफलमा सहभागी छु । मलाई चुनावले अत्याएको अवस्था छैन ।’
अधिकारी यसअघि कास्की ३ बाट विजयी भइआएका हुन् । निर्वाचन क्षेत्र पुन:संरचनापछि कास्कीमा निर्वाचन क्षेत्र ४ बाट घटेर ३ भएको छ । ३ नम्बर क्षेत्र २ भएको छ, यसमा केही ठाउँ थपघट पनि भएका छन् । त्यसैले आफू निश्चिन्त छु भने पनि अधिकारीले चुनाव प्रचारको अभियानलाई शिथिल हुन दिएका छैनन् । हुन त उनीसँग यस पटक वाम गठबन्धन बनेकाले माओवादीको मत पनि जोडिएको छ । ‘बिहानै निस्कने, दिनभरि चुनावी सभा, भेटघाट अनि साँझ समीक्षा गरेर भोलि कता जाने भन्ने तय गर्छौं,’ उनले भने, ‘मतदाता के चाहन्छन्, आवश्यकता केके हुन् भन्ने थाहा छ ।’ पार्टीको घोषणापत्र, वाम गठबन्धनले चुनावमा मतदातामाझ पार्ने असर केलाएका उनको भनाइमा धेरैले मतदाता चुनावमा बालेका कुराप्रति जितेर गएपछि कति प्रतिबद्ध रहन्छ, हेर्छन् । ‘हामी बहुमतको पाँचवर्षे पूरा अवधि चलाउन सक्ने सरकार, राजनीतिक संकटको निकास चाहन्छौं, जनताले खोजेको पनि यही हो,’ उनले भने, ‘विकास पूर्वाधारमा हामीले गर्न सक्नेसम्मका प्रतिबद्धता पनि जरुरी छ ।’ आफूले सांसद हुँदा विकास क्षेत्र र पूर्वाधारका लागि विनियोजन गर्न पाएको बजेटको खर्च पारदर्शी रहेकाले प्रश्न उठाउने ठाउँ नभएको उनले बताए ।
राष्ट्रिय तहमा पहिचान बनाएका अधिकारीसँग चालिसेको प्रतिस्पर्धा सहज छैन । तर, आफ्नो निर्वाचन क्षेत्रमा चालिसे चिनिएका नेतामध्ये पर्छन् । पहिलो पटक मैदानमा आएकाले उनले मतदाताका धेरै प्रश्नको सामना गर्नुपरिरहेको छैन । अधिकारीले भने आफूले दुई पटक जितेर गएपछि गरेका कामसँगै स्थानीय तहमा पनि अधिकांश स्थान जितेका आफ्नै पार्टीका जनप्रतिनिधिका गुनासाको जवाफसमेत दिनुपरिरहेको छ । ३३ हजार मतदाता रहेको कास्की २ मा पोखरा महानगरका ११ वटा वडा पर्छन् । पोखरा महानगरमा बिस्तार गरिँदा परेका क्षेत्र धेरै भएकाले स्थानीय तहको विकास योजना वितरणमा धेरै क्षेत्र पछाडि छन् ।
2074\08\16
अधिकारीको ह्याट्रिक दाउमा चालिसेको चुनौती
अधिकारीको ह्याट्रिक दाउमा चालिसेको चुनौती
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

