काठमाडौँ — घरघरमा आइपुग्दै छ, तिहार । यति बेला उपभोग मात्र होइन, उपहारमा पनि मिठाई दिइन्छ । यही बेला मिठाईको व्यापार अस्वाभाविक रूपमा बढ्छ । उपभोक्तालाई आकर्षित गर्न व्यवसायीले मिठाई र पसल चिटिक्क पारेका छन् ।
तर मिठाई बनाउने किचनलगायत सरसफाइको अवस्था भने प्रश्नयोग्य रहेको पाइएको छ । यसले गुणस्तरमा समेत प्रश्न उठेको छ ।
‘विगतको तुलनामा केही सुधार भए पनि मिठाई पकाउने भान्साको सरसफाइ सन्तोषजनक देखिएन । तेलको गुणस्तरमा सुधार देखिएन,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘समग्रमा सर्भे गर्ने ठाउँ चिटिक्क छ । तर किचन साँघुरो अनि फोहोर देखियो । सरसफाइमा सुधार आवश्यक छ ।’
तिहार सुरु भएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले अनुगमन सुरु गरेका छन् । खाद्य प्रविधिले गुणस्तर र सरसफाइको अनुगमन गरिरहेको छ । वाणिज्यले मूल्य हेरिरहेको छ । महानगरपालिकाले पनि मिठाई पसलमै अनुगमनलाई तीव्रता दिएको छ ।
‘खाद्य प्रविधिले प्रतिदिन २ टोली मिठाई पसलमा खटाइरहेको छ । मागअनुसार महानगरपालिकालाई पनि प्रतिनिधि दिएको छ,’ महर्जनले भने, ‘केही मिठाई पसलमा फ्राई गरेको तेलको गुणस्तरमा प्रश्न उठेको छ ।’ खाद्यका अनुसार तेल तथा घिउमा टोटल पोलार मटेरियल (टीपीएम) को अधिकतम सीमा २५ प्रतिशत नाघ्नु हुँदैन । खाद्य पदार्थ तार्ने वा पकाउने प्रयोजनका लागि प्रयोग हुने तेल वा घिउमा टीपीएम २५ प्रतिशतभन्दा बढी भए गुणस्तरहीन मानिन्छ । उक्त तेलमा फ्राई गरेको खाद्यवस्तुले मुटुलाई असर पुर्याउँछ ।
तर, केही मिठाई पसलमा टीपीएमको मात्रा बढी देखिएको महर्जनले बताए । ‘टीपीएम बढी भएको तेलमा फ्राई गरेको वस्तुले ट्रान्सफ्याट बढाउँछ । एसिड विकास हुन्छ, त्यो स्वास्थ्यका लागि हानिकारक हो,’ प्रवक्ता महर्जनले भने, ‘मिठाई पसलमा २९ पटक अनुगमन गर्यौं । त्यस क्रममा सरसफाइमा कमी देखियो । केही मिठाई पसलको तेलको टीपीएम २६ देखि ३० प्रतिशतसम्म देखियो ।’ उनका अनुसार केही पसलबाट नमुनासमेत संकलन गरिएको छ ।
तिहारमा बर्फी, पेडा, लालमोहन, जेरी, दुधमलाई, रसमलाई, लड्डु, रसबरी, गुलाब जामुन, क्रिम र काजुको मिठाई बढी बिक्री हुन्छ । गाँजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, काजु कमल, खोया बदाम, राजभोगलगायतको माग पनि उच्च हुन्छ । हाल उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएका) मिठाई पनि बजारमा उपलब्ध छन् । स्वदेशी प्रडक्टसँगै भारतीय ब्रान्डका हल्दीराम, गुलाब, सजनगोठ, बिकाजी, बिकानोलगायतका भारतीय उद्योगका मिठाई पनि छन् । संगम स्विट्स, रामेश्वरम स्विट्स, पशुपति फुड्सको आँगन ब्रान्डका मिठाई पनि बजारमा पाइन्छन् ।
शालिमार हस्पिटालिटी एन्ड फुड्स प्रालिको मिठाई पसलको भान्सा अत्यन्तै दुर्गन्धित पाइएको महर्जनले जनाए । भान्सा फोहोर देखेपछि २४ घण्टाका लागि मिठाई पसल बन्द गरी सरसफाइ गर्न निर्देशन दिइएको उनले बताए । ‘सफाइ सकेको विवरणसहित विभागमा निवेदन दिन निर्देशन दिएका छौं,’ उनले भने । अनुगमनका क्रममा न्युरोडको गौतम स्विट्स, रामेश्वरम् स्विट्स, ॐ सहयोगी नेपाल स्विट्स सेन्टरको भान्सामा झिँगा, साङ्लालगायतका किरा भेटिएको विभागले जनाएको छ ।
संगम स्विट्स प्रालि बानेश्वरमा उत्पादन स्थलको सिलिङमा फोहोर देखिएकाले सरसफाइ गर्न निर्देशन दिइएको महर्जनको भनाइ छ । पूजा स्विट्समा किचन तथा व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको र खानेकुरा नछोपी राखेको पाइएको थियो । चन्द्रागिरि मिठाई पसलको सरसफाइ पनि सन्तोषजनक नरहेकाले सुधार गर्न निर्देशन दिएको उनले बताए ।
केही पसलमा सुधार देखिए पनि धेरैको सरसफाइ सन्तोषजनक नभएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले जनाए । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पनि बनाउने ठाउँको सफाइमा ध्यान नदिइएको भेटिएको बताए । अनुगमन गरिएका मिठाई पसलमध्ये करिब २५ प्रतिशतमा समस्या देखिएको उनको भनाइ छ ।
मिठाईमा प्रयोग हुने फुड कलरको प्रयोगमा भने कमी आएको खाद्य प्रविधिको निष्कर्ष छ । खाद्य प्रविधिका अनुसार केही वर्षअघि अखाद्य रङको प्रयोग छ्यापछ्याप्ती थियो । अहिले भने कमी आएको महर्जनले जानकारी दिए ।

