
सर्लाही– २०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे । २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने । उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे । विजय गच्छदारले जब फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाए, यादव उतै जोडिए ।
पार्टीमा गच्छदारपछिको भूमिकामा (वरिष्ठ उपाध्यक्ष) रहेका उनी गत स्थानीय तह निर्वाचनताका सपरिवार माओवादी केन्द्रमा प्रवेश गरे । छोरा विक्रमलाई तत्काल माओवादीबाट टिकट दिलाएर चक्रघट्टा गाउँपालिकाको अध्यक्ष बनाए । नवप्रवेशी उनै रामेश्वर माओवादीबाट सर्लाही ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएका छन् । आफूले ‘बिग जम्प’ गरेको (ठूलो फडको मारेको) विशेषण दिने यादव स्वयं निर्वाचनको मैदानमा ‘केही असहज’ महसुस गरिरहेका छन् । ‘यो पृथ्वीको एक ध्रुबबाट अर्कामा गएजत्तिकै हो । तर म जस्तो वातावरणमा पनि भिज्ने र रम्ने व्यक्ति भएकाले हुनुपर्ने जति असहजता भएको छैन,’ उनले भने, ‘वाम गठबन्धनका कार्यकर्ताबाट पनि उत्साहजनक सहयोग पाइरहेको छु ।’
यादव मात्र होइन, माओवादीबाटै सर्लाही ४ मा प्रतिस्पर्धा गरिरहेका शिवपूजन राय राजपाका केन्द्रीय सदस्य थिए । चुनावका बेला पार्टी फेरेका उनले माओवादीमा रगत–पसिना बगाएका धेरैलाई पछि पार्दै सजिलै टिकट पाए । राजपाकै जिल्ला अध्यक्ष मण्डल छाडेर आएका दिनेश यादव अर्का भाग्यमानी हुन्, जसले सर्लाही २ बाट माओवादीको उम्मेदवारी पाए ।
रोचक संयोग नै मान्नुपर्छ– सर्लाहीबाट माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ जनालाई उम्मेदवार बनाएको छ, सबै आयातित अर्थात् अन्य पार्टीबाट आएका । कांग्रेसले पनि जिल्लाका ४ क्षेत्रमध्ये दुइटा प्रतिनिधिसभाका र दुइटा प्रदेशसभाका गरी ४ जना आगन्तुकलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनको बाँडफाँडमा क्षेत्र १ एमालेको भागमा पर्यो । माओवादीबाट उक्त क्षेत्रमा उठ्ने आसमा रहेका शम्भुलाल श्रेष्ठको बाटो नै थुनियो । माओवादीबाट सांसद र ऊर्जा राज्यमन्त्री भइसकेका उनी अन्तत: कांग्रेसमा पसे र त्यहींबाट टिकट पाए ।
कांग्रेसबाट क्षेत्र २ को प्रतिनिधिसभामा भिडिरहेका जंगीलाल राय राजपाका महामन्त्री थिए । चुनावअघि पार्टी बदलेका उनलाई आउँदाआउँदै ठूलै अवसर मिल्यो । त्यहाँ कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय मुख्य आकांक्षी थिए । ‘सर्लाही २ मा कांग्रेस कमजोरै थियो । जंगीलालजीले यता आएर उठ्ने चाहना राख्नुभयो । जित्न सक्नुहुन्छ भनेर म ब्याक भइदिएँ,’ सभापति रायले भने, ‘जित्नुपर्ने र वाम गठबन्धनलाई तोड्नुपर्नेजस्ता कारण पार्टीले यस्ता उम्मेदवार खोजेको हो । यसले कार्यकर्ता पंक्तिमा खुसी नै छाएको छ ।’
प्रदेशमा पनि आगन्तुकै आगन्तुक
माओवादीबाट सर्लाही १ (ख) मा प्रतिस्पर्धा गरिरहेका रामचन्द्र कुसबाह राजपाबाट, २ (क) का राजकुमार यादव राजपाबाटै, २ (ख) का सुरेश साह कांग्रेसबाट र ४ (ख) का रासनारायण राय राप्रपाबाट आएका हुन् । एमालेबाट गाविस अध्यक्ष जितेका फकिरा महतो पछि सद्भावनामा प्रवेश गरे । त्यसलाई पनि छाडेर केही वर्षअघि माओवादीमा आएका उनी ४ (क) बाट उम्मेदवार बनाइएका छन् । ३ (ख) बाट उठाइएका रामबाबु सिंह कुसबाहको पृष्ठभूमि पनि मधेसवादी दल नै हो । उनी केही वर्षअघि तमलोपा छाडेर माओवादीमा आएका थिए ।
कांग्रेसतर्फ ३ (ख) का कृष्णदेव यादव संघीय फोरमबाट आएका हुन् भने २ (क) मा उठाइएका नागेन्द्रप्रसाद यादव स्वतन्त्रबाट मलंगवा नगरपालिकाको दुई पटक मेयर भए । गत स्थानीय तहमा पनि स्वतन्त्रैबाट मेयरमा उठेका थिए, कांग्रेसका निरसल साहसँग थोरै मतान्तरले हारे । संसदीय चुनावमा भने आफैंलाई हराउने कांग्रेसमा पसेर प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिनिधिसभामा १ र प्रदेशमा २ गरी ३ वटा उम्मेदवारी भागमा पाएको एमालेले भने आयातित खोजेको छैन । मधेसवादी दलको तालमेल भएकाले त्यहाँ पनि उम्मेदवार यता–उता भएका छैनन् ।
आकांक्षी निराश
माओवादीले क्षेत्र ३ मा बाहिरबाट ल्याएर रामेश्वर रायलाई टिकट दिएपछि त्यही क्षेत्रका प्रबल दाबेदार माओवादीका राजकुमार राय आक्रोशित भएका छन् । नवप्रवेशीलाई टिकट दिएर इमानदार कार्यकर्तामाथि पार्टीले अन्याय गरेको उनले गुनासो गरे । १५ वर्षदेखि माओवादी राजनीतिमा क्रियाशील उनले इमानदारीपूर्वक पार्टीको झोला बोक्नु अर्थहीन रहेको बिलौना सुनाए । ‘जनयुद्धमा भाइ गुमाएँ,’ उनले भने, ‘पार्टी संगठन मजबुत बनाउन लगातार मेहनत गरें । संगठन बलियो भएपछि नवप्रवेशीलाई टिकट दिनु अन्याय हो । यो अन्यायले दिएको पीडा व्यक्त गर्ने मसँग कुनै शब्द छैन ।’ पार्टी निर्णय ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तै भएको उनको टिप्पणी छ ।
कारक गठबन्धन
जब वाम गठबन्धन बन्यो, प्रतिवादस्वरूप लोकतान्त्रिक गठबन्धन पनि बन्यो । थ्रेसहोल्डको कानुनी प्रावधानका कारणसमेत साना दल ठूलामा समाहित हुन थाले । ठूला दललाई आफ्ना गठबन्धन बलियो पार्नुपर्ने भयो । त्यसको प्रभावस्वरूप उम्मेदवार ‘आयात’ गर्नुपर्ने अवस्था आयो । ‘जसरी पनि चुनाव जित्नुपर्छ भन्नेमा दुवै गठबन्धन कस्सिएर लागेका छन्, होडबाजी छ,’ माओवादी केन्द्रका जिल्ला नेता रमेश बुढाथोकीले भने, ‘त्यही कारण जित्ने उम्मेदवार खोज्नु परेको हो । हाम्रो पार्टीमा त्यही भएको हो, सायद कांग्रेसमा पनि त्यस्तै भएको हुन सक्छ ।’ उनले पार्टीले निर्णय गरेर बनाइएका उम्मेदवारलाई लिएर कार्यकर्ता पंक्तिमा कुनै किसिमको असन्तुष्टि नरहेको दाबी गरे । रायले पनि गठबन्धनकै कारण ‘प्रतिस्पर्धात्मक’ स्थिति आएको प्रस्ट पारे । तर यसले आफ्नो दलको छवि नबिगारेको, कार्यकर्तामा निराशा नबढाएको उनको दाबी छ । उम्मेदवार भने आफूलाई दल मन परेर आएको र योग्यता हेरेर पार्टीले मौका दिएको बताउँछन् । क्षेत्र ३ का माओवादी उम्मेदवार यादवले भने, ‘पुरानो दलमा नेताहरू सानातिना स्वार्थमा अल्झिएका, मिसनभन्दा कमिसनमा लागेका थिए । माओवादीमा त्यस्तो छैन । नेतालाई भन्दा नीतिलाई हेरिन्छ ।’
क्षेत्र ४ मा राजपा छाडेर माओवादीको टिकटमा लडिरहेका शिव पुजनले मधेसको मुद्दा सम्बोधनमा माओवादीको भूमिका अग्रस्थानमा रहेका कारण आफूले दल बदलेको बताए । मधेसवादी दलमा १० वर्ष बिताएका उनी स्थानीय चुनावअघि माओवादीमा प्रवेश गरेका हुन् । प्रतिस्पर्धी उम्मेदवारले दल बदल्दै हिँड्ने भनेर प्रचार गरेको बाहेक नवआगन्तुक भएकै कारण कुनै समस्या नव्यहोरेको उनले सुनाए ।
माओवादी छाडेर कांग्रेसबाट टिकट लिएका क्षेत्र १ का प्रत्याशी शम्भुलाल श्रेष्ठले पुरानै पार्टीमा फर्केकाले साथीहरूले नवप्रवेशीका रूपमा नहेरेको बताए । उनी पहिला कांग्रेसबाट माओवादीमा गएका थिए । ‘प्रवेश गर्नेबित्तिकै टिकट दिएकामा थोरै साथीमात्र असन्तुष्ट छन् । घरदैलोमा जाँदा मतदाताले यो प्रश्न उठाउन सक्छन्,’ उनले भने, ‘जवाफ त दिनैपर्ने हुन्छ । मैले सुरुदेखि नै काम गरेको पुरानै पार्टीमा फर्केको हुनाले अलि सहज ठानेको छु ।’
जहिल्यै पाहुना
-दुर्गालाल केसी र गिरुप्रसाद भण्डारी
प्यूठान– पहिलो संविधानसभा चुनावमा बर्दियाबाट पराजित भएपछि एमाले नेता वामदेव गौतम दोस्रो संविधानसभा चुनावमा प्यूठान आए । उनले हरेक चुनावी सभामा भने, ‘म प्यूठान फर्कें, अब कतै जाँदिनँ, यहीं मर्नेछु । मलाई यहींको श्रीखण्डले जलाइदिनू ।’
केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेता जिल्ला फर्किएपछि अधिकांश मतदाताको उनीप्रति सहानुभूति रह्यो । जन्मस्थल फर्केको नाराले उनलाई चुनाव जित्न सजिलो पनि भयो । जिल्लावासी पनि गौतमलाई जिल्लाबाहिर पठाउन चाहँदैनथे । त्यही भएर उनलाई जिताउन सबै लागि परे । उनीप्रति सबै आशावादी पनि थिए । गौतमले ३४ बुँदे विकासका प्रतिबद्धता पनि सार्वजनिक गरे । निर्वाचन जितेर उनी उपप्रधान तथा गृहमन्त्री भए, यसले मतदातालाई हौस्यायो । जिल्लाको विकासमा गौतमले ठूलै भूमिका निर्वाह गर्ने आशा थियो ।
तर उनले आफ्नो सभासद र मन्त्रीकालमा चुनावी प्रतिबद्धता पूरा गर्न सकेनन् । उनको सभासद पद नसकिँदै यसपालिको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु भयो । अघिल्लोपटक चाहे जति गर्न नभ्याए पनि अब फेरि निर्वाचित गरे केही गर्लान् भन्ने आशा अझै मतदातामा थियो । यही कारण यसपालिको निर्वाचनमा पनि जिल्ला पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उनको मात्र नाम सिफारिस गरी पठायो । गौतम आफैंले पनि प्यूठानमै आउने आश्वासन दिएका थिए । तर वाम गठबन्धनका क्रममा प्यूठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार भइन् । गौतमले फेरि बर्दिया नै रोजे । प्यूठान नगरपालिका–२ दाखाक्वाडीमा जन्मेका गौतमले हाईस्कुलसम्मको अध्ययन यहीं गरेका थिए । उनले यहींबाट कम्युनिस्ट राजनीति गरेका थिए । पछि बसाइँसराइ गरी बर्दिया गएका थिए । यो घटनाक्रमले प्यूठानी मतदातालाई दु:खी बनाएको छ । उनी पाहुनाका रूपमा आएको मतदाताको गुनासो छ । ‘हामीले गौतमलाई सधैंका लागि घर फर्कायौं भन्ने सोचेका थियौं तर उहाँ पाहुना भएर आउनुभएको रहेछ,’ एमाले जिल्ला सचिवालय सदस्य हिक्मत थापाले भने, ‘यसले हामीलाई निराश बनाएको छ । नेताहरू आउने, चुनाव जित्ने र पाहुना बनेर फर्कने प्रवृत्तिले प्यूठानलाई ठूलो घाटा लागेको छ ।’
अहिले प्रतिनिधिसभाको चुनावी मैदानमा रहेका उम्मेदवार पनि गौतम जस्तै पाहुना बन्ने आशंका मतदाताको छ । बाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेल र कांग्रेस उम्मेदवार गोविन्दराज पोख्रेल जिल्लामा पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् । पौडेल लामो समयदेखि राजनीतिमा क्रियाशील रहे पनि जिल्लाको राजनीतिमा उनी कुनै भूमिकामा थिइनन् ।
पोखरेल पनि लामो समय सरकारी सेवामा रहेर चुनावमा आएका छन् । ऐरावती गाउँपालिका–५ रस्पुरकोटमा जन्मेर हाईस्कुलसम्मको अध्ययन प्यूठानमै गरेका पोखरेल अध्ययन र जागिरका क्रममा राजधानीमै रहे । उनले यसअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय योजना आयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नेतृत्व सम्हालेका थिए । उनी प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।
प्यूठान शिक्षित र सचेत जिल्ला मानिन्छ । यहाँबाट धेरै नेता र शिक्षक जन्मिए । धेरै नेताहरू शिक्षकका रूपमा रुकुम, रोल्पादेखि कर्णाली पुगेर राजनीतिक प्रशिक्षणसँगै सेवा गरेका थिए । त्यसपछि कति राजनीतिमै सक्रिय रहे भने कति अझै शिक्षक छन् । वामदेव गौतम, मोहनविक्रम सिंह, मोहन वैद्य जस्ता नेता जन्माएको प्यूठान नेताहरूको अस्थिरताकै कारण विकासमा पछि परेको जिल्लावासीको गुनासो छ । जिल्लाले जन्माएका ठूला नेताले राष्ट्रियस्तरमा राजनीतिक बहस धेरै गरे पनि यहाँको विकासमा ध्यान दिन नसकेको मतदाताको गुनासो छ ।
जिल्लाका ठूला विकास योजना लामो समयदेखि अलपत्र छन् । नेताहरूले स्वर्गद्वारी नगरपालिकास्थित बर्जिबाङको चाल्नेटारमा विमानस्थल सञ्चालनको कुरा गर्न थालेको ४० वर्ष बितिसक्यो । नौमुरे जलविद्युत्, झिम्रुक नदी कटान नियन्त्रण, स्वर्गद्वारी केबुलकार, पर्यटन विकासजस्ता धेरै ठूला विकासका कुरा हरेक नेताले उठाए । तर कसैले पनि पूरा गर्न सकेनन् ।
नेताहरूको पाहुना प्रवृत्तिले गर्दा नै यस्तो भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य पितबहादुर एमसीको भनाइ छ । ‘जिल्लामा खटेर काम गर्ने नेताहरू एक थरी छन् । माथिबाट सीधै आएर अवसर लिने अर्का थरी छन्,’ उनले भने, ‘यो तरिकाले जिल्लाको विकास हुँदैन । जनताको सुख–दु:खसँग खेल्ने नेता चाहियो । अहिलेको चुनाव मात्रै होइन, पछिसम्म टिक्ने नेता आवश्यक छ ।’
नेताहरूमा चुनावका बेला अनेक थरी प्रतिबद्धता गर्ने तर पछि जिल्ला नफर्कने प्रवृत्ति भएको पुण्यखोलाका सामाजिक अगुवा उमाराम पौडेल बताउँछन् । ‘चुनाव आउँदा केन्द्रीय नेताहरूको हाइफाई ठूलै देखिन्छ, त्यसपछि सबै बिर्सन्छन्,’ उनले भने, ‘विगतमा यस्तो धेरै भोगियो, फेरि पनि त्यस्तै उम्मेदवार छन् । यही समस्याले जिल्लामा चाहे जस्तो विकास हुन सकेन । पाहुना नेताले प्यूठान पछि पर्यो ।’
वाम गठबन्धनकी उम्मेदवार पौडेलले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग २०५७ मा विवाह भएपछि प्यूठानकै राजनीतिमा रहेको बताइन् । ‘महिला संगठन र पार्टीका विभिन्न भूमिकामा हुँदा प्यूठानमै काम गरेको छु । सभासद हुँदा पनि सांसद विकास कोषको रकम प्यूठानकै विकासमा खर्चिएँ,’ उनले भनिन्, ‘ओखरकोटमा ग्रामीण पर्यटन विकासको खाका तयार पारी त्यसका लागि खटिरहेको छु । म पहिले पनि यहीं थिएँ र अब पनि यहीं नै हुन्छु । शंका गर्नु पर्दैन ।’ कांग्रेस उम्मेदवार पोख्रेलले पनि काठमाडौंमा सरकारी सेवामा रहँदा जिल्लाको विकासमा भूमिका निर्वाह गरेको बताए । ‘मैले विभिन्न पदमा हुँदा जिल्लाको विकासमा योगदान पुर्याएको छु,’ उनले भने, ‘मेरी श्रीमती पनि यहीं फर्केकी छन् । म राजनीतिमा होमिएको छु ।’ उनले जिल्लामै रहन रस्पुरकोटस्थित भत्केको घर मर्मत गरी बस्न थालेको जानकारी दिए । पोखरेलले अब आफू विकासको खाकासहित आएको दाबी गरे ।

