– अखण्ड भण्डारी,भरत जर्घामगर,भूषण यादव,सन्तोष सिंह
सिरहा/वीरगन्ज/जनकपुर- सर्लाही ४ बाट कांग्रेसका अमेरश सिंहले नउठी नछाड्ने अडान जब राखे, त्यही क्षेत्रका राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो झाँक्किएर धनुषा ३ पुगे । त्यहाँ कांग्रेस नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेका थिए । निधिसँग महतोले भिड्ने निर्णायक विन्दुमा पुग्नुअघि बुधबार साँझसम्म कांग्रेस र राजपा–फोरम लोकतान्त्रिक तालमेलकै बैठकमा थिए ।
अमरेशको अडानले लोकतान्त्रिक र मधेसवादी गठबन्धनलाई अन्तत: टक्करमा उतार्यो । त्यसकै जोडघटाउले प्रदेश २ को चुनावी राजनीति तातिएको छ । वाम गठबन्धनलाई एक्ल्याएर खुम्च्याउने गृहकार्यबाट बाँकी दुई गठबन्धनले हात झिकेपछि सिंगै प्रदेशको भिडन्त त्रिकोणात्मक बन्न पुगेको छ ।
देशको राजनीतिमा प्रदेश २ ले केही पृथकता बोकेको छ । मधेसवादी दलकै असहमतिका कारण यहाँ स्थानीय तहको निर्वाचन छुट्टै तेस्रो चरणमा भएको थियो । यो एउटा मात्र यस्तो प्रदेश छ, जसको भूगोल मधेस मात्र छ । सिंगै प्रदेशको चुनाव एउटै चरणमा हुन गइरहेको पनि प्रदेश २ मै हो । ‘पहिलो संविधानसभाको निर्वाचनदेखि अहिले हुन लागिरहेको चुनावसम्म आइपुग्दा मधेसका मतदाताहरूमा धेरै परिवर्तन आइसकेको छ,’ सिरहाका राजनीतिशास्त्रका सहप्राध्यापक डा. नमोनारायण झाले भने, ‘विगतबाट पाठ सिक्दै मधेसका जनताले वास्तविक प्रतिनिधित्व कसले गरिदेला, आवश्यकता पूर्ति कसले गर्न सक्छ भन्ने चासो राख्न थालेका छन् । अहिले उनीहरूको तराजुमा तीनवटै गठबन्धन उस्तैउस्तै वजनका भएका छन् । त्यसैले प्रतिस्पर्धा त्रिकोणात्मक हुने अवस्था छ ।’
यस पटकको चुनाव ऐतिहासिक भएको र अझ प्रदेश २ को चुनाव परिणामलाई उत्सुकतापूर्वक हेरिएकाले पनि कसले बाजी मार्न सफल होला भन्ने आकलन गर्न सहज नभएको सिरहाका बुद्धिजीवीको प्रतिक्रिया छ । तीनमध्ये कुन गठबन्धनले थोरबहुत ल्याउला भन्ने अड्कल फरक भए पनि सबैजसोको अवधारणा समान–समान हैसियतमा आउने देखिन्छ ।
अर्थशास्त्रका प्राध्यापक धरणीधर अधिकारी दलहरूबीच तालमेल भए पनि प्रदेश २ मा कुनै दलको स्पष्ट बहुमत आउन नसक्ने आकलन गर्छन् । ‘स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा पनि यो चुनावमा कुनै दलको बहुमत आउने अवस्था देखिँदैन,’ उनले भने, ‘केही मात्रामा मधेसवादी गठबन्धनको बढ्ता सिट आउला ।’
सिरहा क्याम्पसका सहप्राध्यापक चन्देश्वर यादवले मधेसवादी दलसहित लोकतान्त्रिक गठबन्धन हुन नसक्दा वाम गठबन्धनको बोलवाला हुने तत्कालीन मनोविज्ञान देखापरेको हो कि भन्ने भान भए पनि धरातलमा त्यस्तो नहुने तर्क गरे । ‘यो चुनावले प्रान्तीय सरकार निर्माण गर्ने भएकाले पनि मधेसी जनतामा अपनत्व ग्रहण गर्न भोटमा भावनात्मक संवेगले काम गर्छ,’ उनले भने, ‘यसले गर्दा पनि फोरम–राजपा गठबन्धनसँगै कांग्रेसको सिट वाम गठबन्धनभन्दा बढी हुन्छ । तर, फरक ठूलो हुँदैन । भिडन्त त्रिपक्षीय नै हो ।’
नेपाल अर्बुद्ध रोग निवारण संस्था सिरहाका अध्यक्ष एवं बुद्धिजीवी अशोक अमात्यले निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा रहने बताए । ‘मधेसमा एमालेको कमजोर उपस्थिति रहे पनि वाम गठबन्धनकै कारण अन्य दललाई चुनौती दिएको छ,’ उनले भने, ‘कांग्रेसको जनाधार क्षेत्र मधेस भएको र पछिल्लो पटक फोरम र राजपाको तालमेलका कारण पनि यी दुई दल प्रदेश २ मा मूलधारमै रहन्छन् ।’
तातियो माहोल
मौसम विस्तारै चिसो हुँदै गए पनि चुनावी सरगर्मीले मधेसको बजार तथा गाउँ तताएको छ । प्रतिनिधिसभाको ३२ र प्रदेशसभाको ६४ सिट भएको प्रदेश २ मा चुनावी रौनक पनि बढेको छ । दसैंलगत्तै परिवर्तन भएको राजनीतिक ‘डिस्कोर्स’ ले मधेसको चुनाव अझ रोमाञ्चकारी बनाइदिएको छ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनको केही दिनमै मधेसका प्रमुख दुई दल संघीय फोरम र राजपाले पनि तालमेल गर्ने निर्णय लिएका थिए । मधेसको परम्परागत र बलियो पार्टी कांग्रेसले पनि राप्रपालगायत दललाई मिलाएर लोकतान्त्रिक गठबन्धन बनाएको छ । विजय गच्छदारको फोरम लोकतान्त्रिक गत महिना मात्र कांग्रेसमा विलय भयो । गत असोज २ मा सम्पन्न भएको स्थानीय तहको चुनावमा एक्लाएक्लै लडेका दलहरू अहिले गठबन्धन बनाएर चुनावी अभियानमा होमिएका छन् ।
प्रदेश २ मा एक सय ३६ स्थानीय तहमध्ये कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, एमालेले १८, फोरम लोकतान्त्रिकले र अन्यले तीन/तीन तह जितेका थिए । स्थानीय तहको सिट संख्या र अहिलेको गठबन्धन/तालमेल विश्लेषण गर्दा थोरैले मधेसवादी गठबन्धन अगाडि देखिन्छ । तर, टिकट नपाएका असन्तुष्ट र बागी व्यवस्थापन हुन नसके परिणाम उल्टो पनि हुन सक्छ ।
वीरगन्जका राजनीतिक विश्लेषक विनोद गुप्ता प्रदेश २ मा मिश्रित परिणाम आउने अनुमान गर्छन् । ‘गठबन्धन र तालमेलको अवस्था हेर्दा कसैले पनि बहुमत ल्याउने अवस्था छैन,’ उनले भने, ‘तर, कतिपय अवस्थामा स्थानीय तहको तथ्यांक तार्किक हुन्न ।’
बदल्न सक्छ बागीले
टिकटको आशा लिएर पार्टी प्रवेश गर्नेदेखि लामो समयदेखि पार्टीमा काम गरेका अधिकांशले टिकट पाएका छैनन् । पार्टीका वरिष्ठ नेताको क्षेत्रमा समेत बागी उम्मेदवारी परेको छ । महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध उनकै पार्टीका नेता चन्देश्वर झा उठेका छन् । झा पूर्वस्वतन्त्र सांसद हुन् । गत महिना मात्र ठाकुरले झालाई टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाविरुद्ध संघीय फोरमका नेता बबन सिंहले बागी उम्मेदवारी दर्ता गराएका छन् । पहिलो संविधानसभा निर्वाचनमा सिंह स्वतन्त्रबाट निर्वाचित भएका थिए । केन्द्रीय नेताको मात्र नभई जिल्लास्तरीय नेताविरुद्ध पनि अधिकांश क्षेत्रमा बागी उम्मेदवार परेका छन् । समयमै यसको व्यवस्थापन नभए चुनावी परिणाममा असर गर्ने जनकपुरका राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभको बुझाइ छ । त्रिकोणात्मक भिडन्त देख्ने उनी भन्छन्, ‘तर, असन्तुष्ट र बागीले मधेसी दललाई केही घाटा पुर्याउन सक्छन् । बागीले धेरै नबिगारे भिडन्त त्रिकोणात्मक नै देखिन्छ ।’
एमाले र माओवादी केन्द्रको गठबन्धन निर्माण भएपछि यसअघि मधेसमा कमजोर देखिएको वामशक्ति यसपालिको निर्वाचनमा बलियो भएर आएको उनको विश्लेषण छ । मधेसको परम्परागत शक्ति कांग्रेस लोकतान्त्रिक गठबन्धनले झन् बलियो भएको छ ।
उनको विश्लेषणमा प्रदेश २ मा त्रिकोणात्मक टक्कर भए पनि ‘संगठन राम्रो भएकाले प्रारम्भिक अवस्थामा वाम गठबन्धन नै अगाडि देखिन्छ ।’ प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा जिल्लाअनुसार फरक दलको पक्षमा हुने तर्क राख्दै उनले तैपनि वाम गठबन्धनलाई बलियो देख्नुको कारण ‘मजबुत संगठन’ लाई देखाए ।
हालसम्मको अवस्था हेर्दा दोस्रो स्थानमा कांग्रेस र तेस्रोमा मधेस केन्द्रित दललाई देखेका उनले नतिजा चुनावी माहोलमा भर पर्ने बताए । उनले भने, ‘मतदाताले प्रदेशमा नजिककालाई र प्रतिनिधिसभा बलियालाई दिने माहोल छ । माहोलको आकलन मात्रै गर्न सकिन्छ । यकिन गर्न मुस्किल छ ।’
चुनावी रणनीति र राजनीतिक रणनीति फरक भएकाले यस प्रदेशमा मधेसवादीले सम्मानजनक मत पाउने जनकपुरका अधिवक्ता सूर्यनरायण महासेठको तर्क छ । ‘आन्दोलनको छाप मेटिएको छैन,’ उनले भने, ‘उम्मेदवार छनोटले वाम र कांग्रेसमा असन्तुष्टि बढेको छ । असन्तुष्टि, मधेसी दलको तालमेल र आन्दोलनको छापले फोरम–राजपालाई मद्दत पुग्नेछ । आसन्न चुनावमा असन्तुष्ट पक्षको मत नै निर्णायक हुने उनी बताउँछन् ।
प्रदेश २ मा संविधान संशोधनको मुद्दाले वाम गठबन्धन र कांग्रेसलाई घाटा र मधेस केन्द्रित दललाई फाइदा पुग्ने जनकपुरका अर्का अधिवक्ता विमलकुमार झाको तर्क छ । संविधान संशोधनका लागि लडेको मधेस केन्द्रित दललाई कांग्रेस, माओवादी र एमालेले असहयोग गरेका कारण मतदाताले निर्वाचनमा सही/गलत छुट्याउने उनी बताउँछन् । ‘मधेसको प्रतिनिधित्व प्रदेश २ ले गर्छ,’ उनले भने, ‘संविधान संशोधनको आन्दोलनले जनतामा फरक छाप परेको छ । त्यसको फाइदा मधेस केन्द्रित दललाई पुग्न सक्छ ।’
पुरानो परिणामको विश्लेषण
पुरानो परिणामको उदाहरणका लागि धनुषालाई लिन सकिन्छ । उक्त जिल्लामा गत स्थानीय चुनावमा अध्यक्ष/उपाध्यक्षले पाएको मत हेर्दा कांग्रेसले ७० हजार १ सय ५२, एमालेले ५२ हजार ७ सय ९०, माओवादी केन्द्रले ३८ हजार १ सय ७४, राजपाले ३५ हजार ५ सय ६ र संघीय फोरमले ३० हजार ६ सय ८ पाएका थिए । वाम गठबन्धनको ९० हजार ९ सय ६४ र मधेसवादी गठबन्धनको ६६ हजार १ सय १४ हुन आउँछ ।
२०७० को संविधानसभा निर्वाचन परिणामलाई हेर्दा पनि परिणामको अनुपात खास फरक देखिँदैन । त्यति बेलाका ७ निर्वाचन क्षेत्रमा दलहरूले पाएको समानुपातिक मतमा कांग्रेसको ६१ हजार ६ सय २०, एमालेको ४७ हजार ५५, माओवादी केन्द्रको २६ हजार ८ सय ६ (दुइटा जोड्दा ७३ हजार ८ सय ६१) तथा फोरम र वर्तमान राजपा बनेका तमलोपा, सद्भावना, सद्भावना नेपाल, तमसपा, रामसपा, फोरम गणतान्त्रिकको जोडदा ४८ हजार ९ सय ८६ पुग्छ ।
‘मधेसमा मतदाता त्यति बहकिएका छैनन्,’ बुद्धिजीवीहरूको निचोड छ, ‘दलहरूको समीकरण, उम्मेदवारको वजन, निर्वाचन क्षेत्रको बनोटजस्ता कुराले सिट तलमाथि पार्ने हो, नत्र हरेक चुनावमा मत उही ढंगले दिइरहेका छन् । यस पटक अलिकतिले कसले बाजी मार्छ, थोरैले मार्छ ।’ 2074- 07-18

