काठमाडौं– विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविदहरूले जिकिर गरेका छन् ।
जोशीले बिहीबार तनहुँ १ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस क्षेत्रमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आफूले नपाएपछि जोशीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कानुनविदहरूले भ्रष्टाचारी ठहर भइसकेकाले जोशीको उम्मेदवारी कानुनअनुसार रद्द हुनुपर्ने बताएका छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जोशी उम्मेदवारीका लागि अयोग्य छन् किनभने उनलाई अदालतले भ्रष्टाचार ठहर गरिसकेको छ,’ वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले भने, ‘उनी अहिले सर्वाेच्चमा पुनरावेदन गरिरहेका भए पनि कानुनअनुसार भ्रष्टाचारी नै हुन् र उम्मेदवारीका लागि अयोग्य छन् ।’
यस्तै घटना सन् २००१ मा भारतकी राजनीतिज्ञ जयललिताका सम्बन्धमा पनि भएको थियो । जयललिताले चुनाव जिते पनि सर्वाेच्च अदालतले खारेज गरिदिएको उदाहरण दिँदै थापाले जोशीका हकमा पनि त्यही नै लागू हुने जिकिर गरे ।
भ्रष्टाचार मुद्दा खेपिरहेकी जयललिताले हाई कोर्टबाट धरौटी लिएर तामिलनाडुमा उम्मेदवारी दिइन् र दुई तिहाइ मत पाएर मुख्यमन्त्री पनि बनिन् तर त्यसविरुद्ध सर्वाेच्चमा तुरुन्तै रिट पनि पर्यो । ‘दुई तिहाइ मत पाएकाले जनताको सर्वाेच्चता कायम हुने हुँदा उनको विजय कायमै हुनुपर्ने तर्क उनका कानुन व्यवसायीले गरेका थिए,’ थापाले भने, ‘तर सर्वाेच्चले भ्रष्टाचार ठहर भएको व्यक्ति चुनाव लड्न र सार्वजनिक पदमा बस्न नपाउने संवैधानिक व्यवस्था भएको हुँदा संवैधानिक सर्वाेच्चता कायम हुने र जयललिता मुख्यमन्त्रीबाट बर्खास्त हुने आदेश गर्यो । यो नजिर हामीकहाँ पनि मिल्छ ।’
जोशीलाई विशेष अदालतले १० साउन २०६९ मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो । त्यसविरुद्ध उनले सर्वाेच्चमा पुनरावेदन दिए पनि ऐनअनुसार भने उम्मेदवारी दिन नमिल्ने भएको हो ।
प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन २०७३ को दफा १३ को उपदफा (घ) मा उम्मेदवारहरूको अयोग्यतासम्बन्धी व्यवस्था छ । यसमा भनिएको छ– ‘भ्रष्टाचार, जबरजस्ती करणी….वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ उक्त कानुन प्रस्ट नभएकाले जोशीले छिद्र खोजेर उम्मेदवारी दिएको संविधानविद डा. विपिन अधिकारीले बताए । ‘केलाई अन्तिम अदालतको फैसला मान्ने भन्ने द्विविधा यहाँ छ,’ अधिकारीले भने, ‘किनभने विशेष अदालतले उनलाई भ्रष्ट ठहर गरिसकेको छ तर पुनरावलोकन गरेकाले त्यो निवेदन सर्वाेच्चमा अहिले चलि नै रहेको छ । यस्तो अवस्थामा उम्मेदवारी दिन पाइने नपाइने भनेर ऐनको उक्त दफाले प्रस्ट भनेको छैन । तर नैतिक पतन देखिने कुनै पनि काममा संलग्न भएकाले पनि उम्मेदवार हुन नपाउने पनि भनेको छ । भ्रष्टाचार नैतिक पतन हुने काम भएकाले यसमा उनको उम्मेदवारीविरुद्ध दाबीविरोध गर्नेलाई ठाउँ प्रशस्त छ ।’ निर्वाचन आयोगले यससम्बन्धमा विचार गरेर तुरुन्त निर्णय दिनुपर्ने अधिकारीको जिकिर छ ।2074 kartik 17
‘उम्मेदवारी कानुनसम्मतै’
काठमाडौं (कास)– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी कानुनसम्मतै भएको दाबी गरेका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले भने जोशीको उम्मेदवारी कानुनसम्मत नभएकाले रद्द गरिपाऊँ भनी निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार निवेदन दर्ता गराएका छन् ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएकाले उनको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नुपर्ने पौडेलको माग छ । जोशीले आफू अन्तिम अदालतबाट भ्रष्टाचारी ठहर नभएको र कानुनले सुरु अदालतको फैसलाले रोक लगाउने व्यवस्था नराखेकाले उम्मेदवारी कानुनसम्मतै भएको जिकिर गरेका छन् । आफ्नो उम्मेदवारी अयोग्य भन्ने कानुनविदहरूको अभिव्यक्तप्रति पनि उनले कडा आपत्ति जनाएका छन् ।
‘भ्रष्टाचारसम्बन्धी मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधीन भएकाले समाचारमा उल्लेख भएअनुसार नेपाली कांग्रेसका पूर्वसह महामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी गैरकानुनी भन्ने तर्क निराधार रहेको छ’ शुक्रबार कान्तिपुरमा प्रकाशित उनको उम्मेदवारीप्रति कानुनविदहरूको भनाइको खण्डन गर्दै विज्ञप्तिमार्फत् उनले भनेका छन् । निर्वाचन निर्देशिकामा ‘भ्रष्टाचारलगायत
फौजदारी अभियोग, नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवार निम्ति अयोग्य हुने’ व्यवस्था छ ।
जोशीको उम्मेदवारी खारेज
काठमाडौं (कास)– निर्वाचन आयोगले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ । जोशीविरुद्ध उनकै पार्टीका नेता रामचन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उजुरी गरेका थिए । पौडेल सोही क्षेत्रबाट पार्टीको आधिकारिक उम्मेदवार हुन् ।
जोशी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । उनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चबाट फैसला नभएको भन्दै जोशीले आफू उम्मेदवार हुन पाउने दाबी गरेका थिए । उनीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पत्र पठाई निर्देशन मागेको थियो । आयोगका प्रवक्ता नवराज ढकालले शनिबारको बैठकले नैतिक पतन देखिने व्यक्ति उम्मेदवार हुन अयोग्य हुने भन्दै जोशीको उम्मेदवारी खारेज गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको बताए । आयोगको निर्णयमा ‘जोशीले नैतिक पतन देखिने भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सजाय पाएको देखिन आएको’ उल्लेख छ ।
‘प्रधानमन्त्री’ सपना
पाँचपटक तनहुँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेका पौडेललाई कार्यकर्ताले भावी प्रधानमन्त्रीका रुपमा मत मागिरहेका छन्, तर उनको यो चाहना चुनौतीको चाङले घेरिएको छ
– दुर्गा खनाल,भीम घिमिरे
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबार दमौलीमा चुनावी सभालाई सम्बोधन गर्दै । तस्बिर : भीम/कान्तिपुर
तनहुँ– दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे ।
पौडेलमाथि मुलुकभर कांग्रेसलाई जिताउने जिम्मेवारी पनि छ । तर, आफ्नै निर्वाचन क्षेत्रमा थपिएको चुनौतीले उनलाई गाँजेको छ । एकातिर वामपन्थी गठबन्धन, अर्कोतर्फ आफ्नै दलका नेता गोविन्दराज जोशी पक्षको असहयोग । त्यसमाथि ‘पटकपटक एउटै व्यक्ति उम्मेदवार किन ?’ भन्ने प्रश्न पनि झेल्नुपरेको छ । पाँचपटक तनहुँबाट सांसद भइसकेका पौडेल यी चुनौतीका बीच छैटांैपल्ट किन उम्मेदवार बनेका छन् त ?
प्रश्नको जवाफ उनले घुमाउरो शैलीमा दिए । जवाफभित्र उनको स्पष्ट संकेत थियो– प्रधानमन्त्री बन्ने चाहना ।
‘मेरो केही मिसन छ, त्यो पूरा भएको छैन,’ उनले कान्तिपुरसंँग भने, ‘प्रधानमन्त्री मैले आफंै भन्ने कुरा होइन, तर मेरा केही भिजन छन्, आर्थिक योजना छन्, त्यसलाई कार्यान्वयन गर्न मैले पाउनुपर्छ भन्ने मेरो दाबी छ ।’
आफूले कांग्रेसमा इमानको राजनीति गरेको र आफ्ना कारण दलको इज्जत र सम्मान बढेको उनको दाबी छ । त्यसैले चुनावपछि दलसँग त्यसको हिसाब माग्ने तयारीमा पौडेल छन् ।
‘मैले जिम्मेवारी पाएँ भने पार्टीको प्रतिष्ठा र सम्मान झन् बढ्छ, पार्टी सम्मानित हुन चाहन्छ भने मेरो कदर हुनुपर्छ,’ उनले भने, ‘जसरी पनि जोडघटाउ गरेर आफैंले मात्र सत्ता अँठ्याएर राख्दा पार्टीको विकास कसरी हुन्छ भन्नेतर्फ नेताहरूले अब सोच्न जरुरी छ ।’
०४८ सालमा तनहुँ १ बाट चुनाव जितेका पौडेल त्यसयताका चारवटा निर्वाचनमा तनहुँ २ बाट सांसद निर्वाचित भए । निर्वाचन क्षेत्र पुन:संरचनापछि तनहुँका ३ निर्वाचन क्षेत्र घटेर २ वटा भए । यसपटक उनी तनहुँ १ बाट उम्मेदवार छन् । यसपालि निर्वाचित भए आफ्नो मिसन पूरा गर्न सफल हुने ठानेका छन् उनले । त्यसैले युवा पुस्तालाई अवसर नदिएको भन्ने आक्रोशलाई उनले ‘भावी अवसर’ को आश्वासन दिँदै थुमथुम्याइरहेका छन् । ‘राजनीतिमा संन्यास भन्ने हँुदैन तर एक/दुई वर्ष समय पाएँ भने मेरो उद्देश्य पूरा हुन्छ,’ नेता पौडेलले भने, ‘त्यसपछि नयाँ व्यक्तिहरूका लागि अवसर आइहाल्छ, अहिले पनि म उहाँहरूकै प्रतिनिधिका रूपमा उभिएको छु ।’
भावी प्रधानमन्त्रीकै रूपमा कार्यकर्ताले पौडेलको प्रचार गरिरहेका छन् । ‘लोकतन्त्र र शान्तिका लागि उहाँ वर्षौंदेखि लड्नुभयो, जे जिम्मेवारी दिइएको छ, त्यो पूरा गर्नुभयो,’ शनिबारको एउटा चुनावी जमघटमा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले भने, ‘अब प्रधानमन्त्री पनि हामीले पाउने अवस्था छ, त्यसैले उहाँलाई जिताउनुपर्छ ।’
पौडेलमाथि पहिलो तगारो पार्टीभित्रैबाट तेर्सिएको छ । सुरुमा उनलाई उम्मेदवार नै बन्न नदिन पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले जुलुसै निकाले । त्यसरी रोक्न नसकेपछि स्वतन्त्र उम्मेदवारी दिए । जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि पौडेललाई केही सहज त भयो तर आयोगको निर्णय पौडेलकै दबाबमा भएको भन्दै जोशी पक्ष आक्रोशित छ । उम्मेदवारी नै खारेज भएपछि जोशीले खुला रूपमा त केही भनेका छैनन् । तर, जोशीप्रति सहानुभूति राख्नेहरू अझै पौडेलको पक्षमा उभिएका छैनन् ।
‘झन्डै ३० वर्षदेखि उहाँले तनहुँमा एकछत्र शासन गर्दै आउनुभएको छ, २/४ जनाको घेरामा मात्र बस्नुभएको छ,,’ शनिबार पौडेलकै चुनावी कार्यक्रमनजिक भेटिएका जोशी पक्षका अगुवा कार्यकर्ता नरनाथ काफ्लेले भने, ‘सबैलाई समेट्ने प्रयास गर्नुभएन भने अहिले उहाँले राम्रो पाठ सिक्नुहुनेछ ।’ राष्ट्रिय नेता भए पनि पौडेलले जिल्लामा केही गर्न नसकेको र पार्टीभित्रको सबै पक्षलाई नमिलाएको आक्रोश जोशी पक्षको छ ।
मतदानको दिन नजिकिँदै गर्दा पौडेलले जोशी पक्षका कार्यकर्तालाई सन्तुष्ट पारेर आफ्नो पक्षमा ल्याउनुपर्ने चुनौती छ । जोशी पक्षको असन्तुष्टि पौडेलले राम्ररी बुझेका छन् । जोशीको असन्तुष्टिले कति असर गर्छ त ? ‘उम्मेदवारी रद्द भएको छ अबै केही मिलाउनुपर्ने कुरा छन् भने त्यसका लागि मैले पहल गरिरहेको छु,’ पौडेलले भने । पौडेल उपप्रधानमन्त्री, सभामुख, गृह, सञ्चार, कृषि, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेका छन् । पार्टीभित्र संसदीय दलका नेता र उपसभापति पनि भइसकेका हुन् । उनले प्रधानमन्त्री र पार्टी सभापति पदमा भने पराजय बेहोरेका छन् ।
कांग्रेसभित्रको यो असन्तुष्टिले वाम गठबन्धनलाई भने उत्साहित पारेको छ । गठबन्धनका तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठ उम्मेदवार छन् । अघिल्लो चुनावमा पौडेलसँगै पराजित श्रेष्ठले यसपटक जितको मूल आधार नै गठबन्धनको मत र कांग्रेसको असन्तुष्टिलाई ठानेका छन् । जोशीको उम्मेवारी रद्द गर्ने निर्णयबाट उनी आक्रोशित छन् ।
‘२०६४ सालमा पनि मुद्दा यही हैसियतमा थियो तर जोशी उम्मेदवार बन्नुभएको थियो । अहिले पनि मुद्दा त्यही हालतमा छ तर, षड्यन्त्रपूर्वक उहाँको उम्मेदवारी रद्द गरियो,’ श्रेष्ठले भने ।
उनले जोशी पक्षका कांग्रेस कार्यकर्ताको सहानुभूति आफूप्रति रहेको सुनाए । जोशी आफैंले सहयोगको वचन त दिएका छैनन् तर उनको पक्षको मत आफूलाई आउनेमा श्रेष्ठ ढुक्क छन् । ‘झन्डै ३० वर्षदेखि एउटै व्यक्ति हुनुहन्छ, कहिले प्रधानमन्त्री त कहिले अन्य के–के आश्वासन दिँदै चुनाव जित्नुभएको छ तर जितेर गएपछि केही गर्न सक्नुभएको छैन,’ श्रेष्ठले भने, ‘त्यसैले यसपटक जनताले परिवर्तन खोजेका छन् । कांग्रेसकै मतदाता पनि वाक्क छन् ।’ गत स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रको मत जोड्दा कांग्रेसको भन्दा १ हजार ७ सयले बढी छ । यसपटक पौडेलको किल्ला तोड्न सकिने विश्वास वामपन्थी गठबन्धनमा छ ।
तनहुँ १ मा भानु, आँबुखैरेनी, देवघाट र व्यास नगरपालिकाका १२ वटा वडा पर्छन् । स्थानीय तह निर्वाचनमा बन्दीपुर माओवादी केन्द्रले जित्दा कांग्रेस कार्यकर्ताभित्रैको असन्तुष्टिले उम्मेदवारलाई सहयोग भएको सार्वजनिक भएको थियो । देवघाटमा निकै थोरै मतान्तरले प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको थियो । सदरमुकाम दमौली रहेको व्यास नगरको एउटाबाहेक सबै वडा कांग्रेसले जितेको थियो । निर्वाचन क्षेत्र पुन:संरचनापछि पहिलेकै आकारभन्दा १ र २ नम्बर क्षेत्रका ठाउँ फरक र केही विस्तारित भएका छन् । कांग्रेस कमजोर नभए पनि पार्टीभित्रैको असन्तुष्टि पौडेलका लागि ठूलो चुनौती देखिएको छ ।

