मोबाइलको ज्यादा प्रयोगले धेरैलाई आँखा बिग्रिने चिन्ता हुन्छ । झन् बालबालिकालाई रोक लगाउँछौं । यसका बैगुन मात्र रहेनछन् । सही प्रयोगले लाभ मिल्ने रहेछ । जिल्लामा मोबाइलबाटै आँखा उपचार, समस्याको जानकारी र सुरक्षा प्रदानको काम भइरहेको छ । त्यो पनि एसएमएस आदानप्रदानबाट ।
काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानको लगानीमा रोल्पा सामुदायिक आँखा केन्द्रले जिल्लाका १ सयभन्दा बढीलाई मोबाइल वितरण गरेको छ । दुर्गममा कार्यरत महिला स्वयंसेविका र शिक्षक गरी ४४ जनाले नियमित मोबाइलबाट सर्वसाधारणका आँखा सुरक्षामा योगदान पुर्याइरहेका छन् । बिरामीले उपचार सेवा पाएका छन् । स्वास्थ्यकर्मीले प्रभावकारी सेवा दिन पाएका छन् । यो सेवाको गाउँमा अहिले चर्चा चलिरहेको छ । तालिम प्राप्त शिक्षक र महिला स्वयंसेविकालाई तिलगंगाले १/१ मोबाइल, सिम र आवश्यक पर्ने रिचार्ज खर्चसमेत प्रदान गरिरहेको छ । मोबाइल प्रयोगकर्तालाई आधारभूत आँखा हेरचाहसम्बन्धी तालिम दिइएको छ ।
आँखा सुरक्षाबारे गुनासो आउनासाथ निश्चित सफ्टवेयर जडित मोबाइल प्रयोगकर्ताले लेखिपठाएको सन्देश सदरमुकामस्थित आँखा केन्द्र र तिलगंगा आँखा प्रतिष्ठानमा एकैसाथ पुग्छ । आँखा रोग, लक्षण र समस्याबारे मोबाइल सन्देशमार्फत नेत्र विशेषज्ञले जानकारी लिन्छन् । ‘एसएमएस प्राप्त गरेपछि हामीले बिरामीको अवस्था र उपचार प्रक्रियाबारे निर्णय गरेर उपचार तरिका बताइदिन्छौं,’ तिलगंगा आँखा प्रतिष्ठानका नेत्र अधिकृत हरिबहादुर कार्कीले भने, ‘छिटो उपचार गर्ने अभियान लोकप्रिय बनेको छ ।’ अभियानबारे तिलगंगाले समीक्षा गरिरहेको बताए ।
स्वयंसेविका र शिक्षकले एसएमएसमार्फत बिरामीको नाम, ठेगाना दर्ता गर्छन् र तिनको समस्या र अवस्थाबारे आँखा स्वास्थ्यकर्मीलाई छिट्टै जानकारी पठाउँछन् । आँखा केन्द्रका प्रमुख तारा लामाका अनुसार मोबाइलको सहयोगले बिरामी सोझै सम्पर्कमा आइपुग्छन् । गत आर्थिक वर्षमा ७ सयभन्दा बढी आँखाका बिरामी मोबाइल प्रयोगबाट उपचार गराउन आए । उनका अनुसार अघिल्लो वर्षदेखि सुरु उक्त अभियानबारे समीक्षापछि तिलगंगाले विस्तार योजना बनाउन सक्नेछ ।
प्रतिष्ठानले मुलुकमै पहिलोपटक जिल्लाका अति दुर्गम मानिएका एक दर्जन गाउँमा उक्त कार्यक्रम चलाएको हो । पाछाबाङ, राङसी, घर्तीगाउँ, जिनाबाङ, तालाबाङलगायत पश्चिमी रोल्पाका साबिकका एक दर्जनभन्दा बढी गाविसमा उक्त कार्यक्रम सञ्चालित छ । ती सबै गाउँमा मोबाइलबाटै आँखासम्बन्धी सुरक्षा (एम हेल्थ) गर्न सकिने प्रविधि प्रयोग गरेर कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रमका लागि जिल्लाका ४ सय शिक्षक र ३ सयभन्दा बढी महिला स्वयंसेविकालाई आधारभूत आँखा हेरचाह तालिमसमेत दिइएको छ ।

