प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो दलको पहिचान दिलाउन खोजे । तर तथ्यले एमाले सत्ताको मामिलामा कांग्रेसभन्दा कमजोर नरहेको देखाउँछ । २०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ ।
वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा सामेल एमालेको शासकीय संलग्नता राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘प्रतिगमन आधा सच्चिएको’ सरकारमा समेत थियो । मनमोहन अधिकारीको अल्पमतको एकलदेखि केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारसम्मको नेतृत्वसमेत एमालेले गरेको छ ।
यसबीचमा एमालेबाट चार जना प्रधानमन्त्री भइसकेका छन् । यो बीचमा कांग्रेस १५ वर्ष ८ महिना नेतृत्वसहित २० वर्ष सरकारमा बसेको छ । मूलधारमा आएको १५ वर्ष मात्र भए पनि माओवादी १० वर्ष ५ महिना सरकारमा बसेको छ ।
सरकारको नेतृत्व र सहभागिता
कांग्रेस
– १५ वर्ष ८ महिना नेतृत्वसहित
२० वर्ष २ महिना सरकारमा
– ४ प्रधानमन्त्री, १३ पटक सरकारमा
– एकल सरकार ४ पटक
एमाले
– ७ वर्ष नेतृत्वसहित १६ वर्ष
१ महिना सरकारमा
– ४ प्रधानमन्त्री, १४ पटक सरकारमा
– एकल सरकार १ पटक
माओवादी
– ३ वर्ष १ महिना नेतृत्वसहित
१० वर्ष ५ महिना सरकारमा
– २ प्रधानमन्त्री, ८ पटक सरकारमा
राप्रपा
– २ वर्ष ८ महिना नेतृत्वसहित
८ वर्ष सरकारमा
– २ प्रधानमन्त्री, ९ पटक सरकारमा
– एकल सरकार २ पटक
साभार कान्तिपुर २०७८ साउन ४

