काठमाडौं : अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग बढ्दै गएको छ। मृत्यु हुने नेपालीमध्ये दुई तिहाइको नसर्ने रोगका कारण ज्यान जाने गरेको पाइएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा नसर्ने रोगको बोझ : ठोस कदमको आवश्यकता’ प्रतिवेदनमा नसर्ने रोगको अवस्था भयावह रहेको औंल्याइएको छ।
annapurna post
अध्ययनमा मृत्युको मुख्य कारणमा सर्नेभन्दा नसर्ने रोग बढी भएको उल्लेख छ। रोगबाट अकालमा ज्यान गुमाउनेमध्ये झन्डै ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने प्रतिवेदनमा उल्लेख छ। दुर्घटनाबाट चोटपटक लागेर घाइते भएकामध्ये झण्डै ९ प्रतिशतको मृत्यु हुने पाइएको छ।
नसर्ने रोगमध्ये अधिकांशको ज्यान मुटुसम्बन्धी रोगबाट जाने गरेको छ। नसर्ने रोगबाट ज्यान गुमाएका ६ जनामध्ये एकजना मुटुरोगी भएको पाइएको छ। यो नसर्ने रोगबाट मर्नेमध्ये कुल संख्याको १६ प्रतिशत हो। दोस्रोमा स्वास प्रश्वासजन्य रोग (सीओपीडी)का कारणबाट पनि धेरैको मृत्यु हुने गरेको छ। नसर्ने रोग लागेकामध्ये झन्डै १० प्रतिशतको मृत्यु श्वासप्रश्वासजन्य समस्याले हुने गरेको छ। नसर्ने रोगबाट मृत्यु हुने १० जनामध्ये एक जनाको स्वासप्रश्वास सम्बन्धी दीर्घरोगबाट ज्यान जाने गरेको छ।
जनसंख्यामा आधारित अध्ययनमा सीओपीडीबाट र मधुमेह र मिर्गौलासम्बन्धी रोगले ज्यान गुमाउनेहरु बढेका छन्। नसर्ने रोगको भार बढिरहेकाले स्वास्थ्य नीतिमा प्राथमिकता दिनु पर्ने सुझावसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइएको परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झाले जानकारी दिए। उनका अनुसार, मुटु, फोक्सो, मिर्गौला र मधुमेहका बिरामी बढिरहेका छन्। ‘नसर्ने रोगको भार वृद्धिका साथै अन्य ४ विषयमा ध्यान दिन मन्त्रालयमा प्रतिवेदन नै बुझाएका छौं’, उनले भने। परिषद्ले ३ वर्ष लगाएर ७२ जिल्लामा गरेको सर्वेक्षणमा पनि मुटु, श्वासप्रश्वास, मिर्गौला र मधुमेहका बिरामी धेरै पाइएको छ।
प्रदेशगत रूपमा गण्डकी प्रदेशमा मुटु र मिर्गौलाका बिरामी धेरै पाइएको छ। कर्णाली प्रदेशमा सीओपीडी र मधुमेहका बिरामी धेरै देखिएका छन्। परिषद्द्वारा बिहीबार एक कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष डा.चोपलाल भुषालले स्वास्थ्य नीति एवं कार्यक्रम बनाउँदा राखिने पुरातन सोचाइ फेर्नुपर्ने बताए। उनले भने, ‘स्वास्थ्यका विषयमा गरिने अनुसन्धानका लागि बजेट कन्जुस्याईं गर्नु हुँदैन।
अनुसन्धानबाट निस्केका सुझावलाई नीति निर्माणमा समावेश गर्न अप्ठेरो मान्नु हुँदैन।’ हिमाल, पहाड र तराईको भौगोलिक अवस्था र जनसंख्या फरक फरक भएकोले फरक–फरक स्वास्थ्य नीति र कार्यक्रम आवश्यक भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले बताए।
बाल अस्पताललाई जग्गा
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले नेतृत्व गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सरकारले झन्डै ४२ रोपनी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ को कित्ता नं २३ को ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सोमबारको बैठकले जग्गा लिजमा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। संघीय राजधानी काठमाडौंसहित सातवटै प्रदेशमा गैरनाफामूलक सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने डा. कोइरालाको योजना छ।

