काठमाडौं– तीनपटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि पोखरेलले आठ कक्षामा पढ्दाताका साथी संगतमा लागेर लहैलहैमा चुरोट खान सुरु गरेका थिए । किशोर उमेरमा सुरु भएको चुरोटको लतलाई करिब एक दशकपछि सार्वजनिक रूपमै घोषणा गरेर उनले त्यागे । यसरी त्याग्न सक्ने थोरैमा उनी पर्छन् । स्कुले जीवनमै लहैलहैमा चुरोट, सुर्ती, रक्सी सेवन सुरु गरेर जीवनपर्यन्त यसले दिने स्वास्थ्य समस्याको भारी बोक्नेको संख्या मुलुकमा कम छैन । ८.१ प्रतिशत किशोरावस्थाकाले सुर्ती र ५.२ प्रतिशतले मदिरा सेवन गर्ने गरेको तथ्यांक ‘ग्लोबल स्कुल बेस्ड स्टुडेन्टस सर्भे, नेपाल २०१५’ ले देखाएको छ । अध्ययनअनुसार हाम्रा स्कुले बालबालिकाहरू मुटुसम्बन्धी रोगको उच्च जोखिममा छन् । सातामा एक घण्टाको शारीरिक गतिविधि नगर्ने किशोरावस्थाका व्यक्ति करिब ८५ प्रतिशत छन् । यति मात्र नभएर ३२ प्रतिशत बालबालिकाले कार्बोनेटेड पेय पदार्थ उपयोग गर्छन् भने ६.१ प्रतिशत बढी तौलका छन् । मुटुरोग अधबैंसे वा यो भन्दा पछि देखापर्ने भए पनि यो रोगको जोखिम किशोरावस्थामै लागेको आनीबानीले गर्दा हुने गरेको विज्ञहरू बताउँछन् ।
‘स्कुले विद्यार्थीलाई मुटुरोगको जोखिमबारे जानकारी दिएर यसले ऊमात्र नभएर परिवार तथा अन्य व्यक्तिको जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिन्छ,’ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले भाष्कर सम्झना प्रतिष्ठानद्वारा आयोजित भाष्कर स्कुल हृदय स्वास्थ्य सशक्तीकरण गोष्ठीमा बताए । किशोरावस्था वा योभन्दा पहिले अस्वस्थ खानपान, निष्क्रिय जीवनशैली, सुर्ती, मदिरा सेवन तथा तनावलगायतले मुटुरोगको जोखिम बढाउने पनि उनले बताए । मुटु स्वास्थ्यप्रति सचेतता बढाउनका लागि स्कुले विद्यार्थीहरूलाई पाठ्यक्रमअन्तर्गत नै तालिम दिनुपर्ने पनि उनले बताए । ‘मुटुसम्बन्धी समस्याबाट बचाउन सकिन्छ तर यसका लागि स्कुले जीवनदेखि नै नसर्ने रोगबारे उचित वैज्ञानिक र व्यावहारिक ज्ञान दिनुपर्छ,’ उनले भने, ‘हामी कहाँ शिक्षित जनसमुदायमा समेत मुटुसम्बन्धी स्वास्थ्यबारे उचित ज्ञानको कमी देखिएको छ ।’
सहरको फेरिएको जीवनशैलीलाई अधिकांश चिकित्सकहरू मुटुरोगको प्रमुख कारक मान्दछन् । उच्च रक्तचाप भएका ६० प्रतिशत नेपालीलाई आफू उच्च रक्तचापबाट पीडित रहेको जानकारी नभएको अनुमान गरिन्छ । जीवनशैलीसम्बन्धी सकारात्मक परिवर्तन, तनाव नियन्त्रण, नियमित व्यायाम र उपयुक्त आहारले मुटुको रोग, हृदयाघात हुने सम्भावनामा निकै कमी ल्याउने ओममूर्ति बताउँछन् । युवाहरू मुटुरोगको जोखिममा रहेको जनाउँदै डा.अभिनव वैद्यले केही स्कुलमा गरिएको अध्ययनलाई आंैल्याउँदै भने, ‘सात प्रतिशत विद्यार्थी चुरोट खान्छन्, सात प्रतिशत मदिरा सेवन गर्छन्, उनीहरू जंक फुड खान बाध्य छन् भने शारीरिक सक्रियतासमेत अत्यन्त कम छ अझ निरन्तर तनाव त छँदैछ ।’

