काठमाडौं–जलवायु परिवर्तनका कारण नेपालको उच्च पहाडी क्षेत्रमा समेत कीटजन्य रोग देखिन थालेका छन् । डेंगु, चिकनगुनिया, हात्तीपाइले, कालाजारलगायतका कीटजन्य रोग २ हजार मिटरभन्दा माथिका सबै भूभागमा पुगेका छन् भने जिका रोग देखिनसक्ने जोखिमसमेत छ । एक डिग्री तापक्रम वृद्धि हुँदा औलाका बिरामी २७ प्रतिशतले बढ्न सक्ने मानिन्छ । यस्तै, बालबालिकामा पनि झाडापखालामा वृद्धि देखिएको छ ।
विकसित देशबाट हुने हरित ग्यास उत्सर्जनलगायत समस्याको मारमा नेपालजस्ता मुलुक पनि परेको भन्दै यसको रोकथाममा सरकारले विशेष रणनीति अपनाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । बिहीबार काठमाडौंमा पहिलोपटक सुरु भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनमा यस्तो कुरा उठेको हो । ‘डेंगु, चिकनगुनियाजस्ता कीटजन्य रोग काठमाडौंमा मात्र नभई रसुवाको धुन्चेसम्म पुगेको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य मन्त्रालयद्वारा आयोजित दुईदिने सम्मेलनमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भने । उनले जलवायु परिवर्तनले कुपोषणको समस्यामा कमी आउन नसकेको र उदासी रोग (डिप्रेसन) तथा आत्महत्या बढेको पनि उल्लेख गरे ।
जलवायु परिवर्तनले तापक्रममा वृद्घि भई मुलुकको मौसमी चक्रसमेत प्रभावित भएको छ । वातावरण परिवर्तन र प्रदूषणको दोहोरो मारले गर्दा हाल नेपालीको मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या पनि बढेको चिकित्सकहरूले बताए । केही वर्षअघि वर्षायाममा मात्र देखिने रोगहरू हिउँदमा समेत देखिन थालेका छन् । नेपालमा गरिएको अध्ययनले औसत एक डिग्री सेन्टिग्रेडका दरले तापक्रम बढा पाँच वर्षमुनिका बालबालिकामा झाडापखाला ४.४ प्रतिशतले बढ्ने देखाएको सिर्जनलाल श्रेष्ठले बताए ।
देशका विभिन्न भागमा खडेरीमा समेत वृद्घि देखिएको छ । यो समस्यासँग जुध्न लगाइने विशेष प्रकारको बीउ, विजनबाट उत्पादित खाद्यान्न सेवन गर्दा ‘एफ्रोटक्सिन’ ले मिर्गाैला फेल हुने सम्भावनासमेत बढेको डा. धिमाल बताउँछन् । तापक्रममा वृद्घिले गर्दा हाल पहाडी क्षेत्रमा समेत विषादी प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यसले गर्दा क्यान्सर, मधुमेहलगायत नसर्ने रोगमा समेत वृद्घि देखिएको छ ।
तापक्रम वृद्घिले हिमाली क्षेत्रमा समेत प्रभावित पारेको अध्येता धिमाल बताउँछन् । पहिले हिमाली क्षेत्रमा प्रशोधनबिना पानी उपयोग गरिने स्थिति रहे पनि हाल शुद्घीकरण गर्नैपर्ने भएको छ । ‘हाल हिमालमा भरियाहरूले पहिलेको दाँजोमा कम भारी बोक्न सकेका छन्, काम नै कम गर्ने अवस्था, हिउँ छिटो पग्लँदा कम ट्रेकिङ हुनेजस्ता समस्या देखिन थालेका छन्,’ धिमालले भने । नेपालमा २ हजार ३ सय ३२ ग्लेसियर लेक (हिम नदी र हिम ताल) सहित जम्मा ५ हजार ३ सय ५८ ताल छन् । देशमा भएका करिब ६ हजार नदीको लम्बाइ ४५ हजार किलोमिटर छ ।

