पाल्पा–रामपुर नगरपालिका–१ गाडाकोटकी ४३ वर्षीया विनीता मल्ल स्वास्थ्योपचारका लागि रामपुर बेझाँडस्थित मेडिकल पुगिन् । त्यहाँ डाक्टरलाई मात्र ४ सय रुपैयाँ बुझाइन् । औषधि, ल्याब, एक्सरे, अल्ट्रासाउन्डको अलग्गै पैसा । ‘मैले डाक्टरले जाँचेको मात्र चार सय तिरेकी हुँ,’ उनले भनिन्, ‘अन्य सेवाको छुट्टै लाग्छ ।’ तर, यसरी डाक्टरलाई दिइने रकमको बिलसम्म काट्दैनन् मेडिकल सञ्चालक ।
सञ्चालकहरूले साप्ताहिक रुपमा तानसेन र बुटवलबाट विशेषज्ञ डाक्टर बोलाउने गरेका छन् । हड्डीको समस्या रहेका तानसेन नगरपालिका–१० का ५८ वर्षीय तुलबहादुर अस्लामीले पनि तानसेनकै एक मेडिकलमा देखाए । उनले डाक्टरी जाँचको छुट्टै ४ सय तिरे । ‘डाक्टरले जाँचेको अलग्गै पैसा लिइएको हो भन्ने सुनँे,’ उनले भने, ‘तर, मलाई यसको रसिद दिइएन ।’ औषधि खरिद, ल्याब, एक्सरेलगायतको भने रसिद पाएको उनले जानकारी दिए ।
यसरी जिल्लाका निजी क्लिनिक र मेडिकल हलबाट दिइने डाक्टरी सेवामा कर छली हुने गरेको छ । कतिपय क्लिनिक जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता नै भएका छैनन् । रामपुरस्थित श्रेष्ठ मेडिकलका सञ्चालक राजकुमार श्रेष्ठले अहिलेसम्म डाक्टरले लिने पैसाबारे छलफल नै नभएको बताए । ‘हामीले यस प्रकारको अभ्यास अहिलेसम्म गरेका छैनौं,’ उनले भने, ‘आगामी दिनमा व्यवस्थित होला ।’ उनका अनुसार डाक्टरको फिसबापत लिइने चार सय रुपैयाँको रसिद काटिँदैन । बिरामीबाट लिएर सोझै डाक्टरलाई बुझाइन्छ । ‘हामीले बिरामीसँग लिएर कर बुझाउनुपर्ने हो,’ श्रेष्ठले भने, ‘औषधि व्यवस्था विभाग र कम्पनी ऐनअन्तर्गत तिर्नुपर्ने कर छुट्टै तिर्दै आएका छौं, वार्षिक तिर्नुपर्ने स्वास्थ्य सेवा कर पनि तिरेका छौं ।’
रामपुर र तानसेनमा बिरामी जाँच गर्ने अर्थोपेडिक डा. महेश घिमिरेले आफूहरूले लिने शुल्कको कर तिरे, नतिरेको थाहा नभएको बताए । ‘जुन मेडिकलमा गइन्छ, उसैले हाम्रो कर तिर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने ।
रामपुरका कुनै पनि मेडिकलले डाक्टरको फिसबापत रकमको कर तिर्ने गरेका छैनन् । अहिलेसम्म करदाता सेवा कार्यालयले पनि अनुगमन गरेको छैन । बिनादर्ता सञ्चालित मेडिकलले सबैभन्दा बढी कर छली गर्ने गरेका छन् । स्वास्थ्यमा प्रतिसेवा १० हजार रुपैयाँको कर तिरेर दर्ता हुनुपर्छ । न्यूनतम मापदण्डसमेत पुगेको हुनुपर्छ । तर, थुप्रैले जथाभाबी रुपमा ल्याब, एक्सरे, अल्ट्रासाउन्ड चलाएका छन् ।
तानसेनस्थित शाक्य क्लिनिकका सञ्चालक डा. राजु शाक्य आफैं बिरामी जाँच्छन् । उनले ५० देखि ३ सयसम्म फिस लिने गरेका छन् । उक्त रकमको रसिद काट्ने गरे पनि उनी करको दायरामा भने गएका छैनन् । ‘अहिलेसम्म त्यत्तिकै सञ्चालन गरियो, आगामी दिनमा करको दायरामा जानेछु,’ उनले भने ।
लुम्बिनी मेडिकल कलेज, बुटवल र भैरहवाका विभिन्न अस्पतालबाट तानसेन, रामपुर र मेडिकल कलेजमा विशेषज्ञ सेवाका लागि आउने डाक्टरले लिने शुल्कको कर छली हुँदै आएको स्वयं मेडिकल सञ्चालक स्विकार्छन् । तानसेनस्थित संगम मेडिकल हलका सञ्चालक रुक्मागत शर्माले विशेषज्ञ डाक्टरले लिने रकमको कर तिर्ने अभ्यास नरहेको बताए । ‘डाक्टर हुन् वा अन्य विशेषज्ञ, उनीहरूले लिने रकमको रसिद काटिँदैन र कर पनि तिरिएको हुँदैन,’ उनले भने, ‘आगामी दिनमा यस विषयमा सचेत हुनेछांै ।’ तानसेनका केही मेडिकलमा अल्ट्रासाउन्ड गर्न डाक्टर र अन्य विशेषज्ञ जान्छन् । यसबापत बिरामीसँग ७ सय रुपैयाँ उठाइने गरेको छ । ६ सय रुपैयाँ विशेषज्ञ र सय रुपैयाँ मेडिकलले राख्छन् । यसको पनि कर तिरिँदैन ।
स्वास्थ्य कार्यालयका अनुसार डाक्टरसहितको सेवा दिने सञ्चो मेडिकल हल, सञ्चो क्लिनिक, सञ्चो प्रयोगशाला दर्ता छन् । यस्तै, लुम्बिनी मेडिकल कलेजको टाउन क्लिनिक, शाक्य क्लिनिक, संगमको एक्सरे, उपकारको प्रयोगशाला, इशा फार्मेसीको अल्ट्रासाउन्ड, रामपुरका कालीगण्डकी र कान्तिपुर डेन्टलले स्वास्थ्यमा दर्ता गरेका छन् । स्वास्थ्य कार्यालयका फोकल पर्सन ईश्वरी न्यौपानेका अनुसार केही मेडिकल प्रदान गरिने सेवा दर्ताका लागि प्रक्रियामा छन् । उनीहरू मापदण्ड नपुगेर रोकिएका हुन् । यीबाहेक जिल्लाका ७० प्रतिशत मेडिकलले प्रदान गर्ने सेवा भने दर्ता गरिएको छैन । ‘सबैभन्दा पहिला सञ्चो क्लिनिक दर्तामा आयो,’ उनले भने, ‘विस्तारै अरूले पनि दर्ताका लागि प्रक्रिया अगाडि बढाए ।’ सञ्चो क्लिनिकका डा. झपेन्द्र ढकालले अहिले सबै प्रकारको सेवाबापतको कर अनुशासित ढंगले बुझाउने गरिएको छ । साभार कान्तिपुरः २०७४ पुस १६
डाक्टरी जाँचमा कर छली
डाक्टरी जाँचमा कर छली
"मेडिकल सञ्चालकले डाक्टरको फिसबापत बिरामीबाट ४ सय रुपैयाँ लिन्छन् रसिद काट्दैनन्, सेवा दर्तासमेत गरेका छैनन् "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

