नसर्ने रोग धनी व्यक्तिलाई लाग्ने भन्ने अवधारणा समेत पुरानो भएको नयाँ तथ्यले उजागर गरेको छ । मुटु, सीओपीडी, स्ट्रोक, आस्थामा लगायतका रोगहरुबाट धनी भन्दा गरीब बढी प्रताडित भएका छन् ।
विकसित देशहरुमा युवापुस्तामा नसर्ने रोगको भार कम हुँदै गईसकेको छ तर हाम्रो मुलुकमा भने यसको ठिक उल्टो होला जस्तो छ । नसर्ने रोग विरुद्ध तत्काल कदम नचाल्ने हो भने अवको १०-१५ बर्ष भित्र यसले भयावह अवस्था निम्त्याउने निश्चित छ
डव्लुएचओले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा नसर्ने रोगको भार ६६ प्रतिशत पुगेको छ । सोही तथ्यांक अनुसार बार्षिक रुपमा एक लाख २१ हजार नेपालीले नसर्ने रोगबाट ज्यान गुमाउने गर्दछन् ।
ती मध्ये मुटु रोगबाट ३० प्रतिशत अर्थात ३६ हजार ३ सय, क्यान्सरबाट ९ प्रतिशत अर्थात १० हजार ८९०, सीओपीडी र दुर्घटनाबाट १० प्रतिशत अर्थात १२ हजार एक सय, मधुमेहबाट ४ प्रतिशत अर्थात ४ हजार ८४० र अरु नसर्ने रोगबाट १३ प्रतिशत अर्थात १५ हजार ७३० जनाको मृत्यु हुने उल्लेख छ । यद्धपी यो तथ्यांक अपुरो रहेको कतिपय सरोकारवालाहरुले बताउने गरेका छन् ।
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुद्धत्त पौडेलले क्यान्सर रोगको बढ्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे । सो क्रममा उनले क्यान्सर जस्तो नसर्ने रोग समयमै पत्तो नलाग्दा व्यक्तिको ज्यानसंगै उपचार गर्दा परिवार नै उठिवास भएको बताए ।
क्यान्सरबाट बर्षमा साढे १६ हजार बढी नेपालीले ज्यान गुमाउने गरेको जानकारी दिए । भन्दै उनले तत्काल नियन्त्रण सम्वन्धी कदम नचाले यसले भयावह रुप लिने ठोकुवा गरे ।
सूर्तिजन्य पदार्थ नियन्त्रणका अभियन्ता समेत रहेका एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ रहेको भन्दै यसलाई नियन्त्रण गर्नु राज्यको पहिलो दायित्व भएको बताए । ‘बार्षिक १ लाख २१ हजार बढी नेपालीको मृत्यु नसर्ने रोगबाट भएको छ । दैनिक हिसाव गर्दा ३३२ जना हुन आउँछ । महिनामा हिसाव गर्दा यो संख्या १० हजार ८३ जना भन्दा बढी हुन्छ र बर्षभरीको जोडदा १ लाख २१ हजार पुग्छ । यसलाई रोक्न अब पनि कदम चाल्नु पर्दैन ?’ प्रश्न गर्दै उनले अगाडी थपे, ‘यसका लागि कानून त पहिले नै बनिसकेको छ सरकारले कार्यान्वनय मात्रै गरिदिए पनि धेरै सुधार हुनसक्छ ।’

