काठमाडौं । सर्वोच्च अदालतले सौतेनी आमाले आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराको हक लाग्ने व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू डा. नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले गरेको फैसलाको हालै जारी भएको पूर्णपाठमा अंशबण्डा मुद्दामा सौतेनी आमाले जुनसुकै स्रोतबाट पाएको सम्पत्तिमा आफ्नो छोरासरह सौतेनी छोरामा पनि समान हक लाग्छ भनी व्याख्या गरेको हो । शशि पराजुली उप्रेतीविरुद्ध राहुल पराजुली र तुलसा बस्नेतको अंश चलन मुद्दामा सर्वोच्चले २०८१ चैत्र २१ गते भएको फैसलाको पूर्णपाठमा अंश हकमा सौतेनी छोरालाई पनि समान हक लाग्छ भनी व्याख्या गरेको हो । अंशबण्डा गर्दा जियजियैको बण्डा गर्नुपर्ने व्यवस्था गरेको देखिएबाट सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना कानुनले गरेको नदेखिएकोले सौतेनी छोरा समान सम्पत्तिको हकदार रहने भनी व्याख्या गरेको छ ।
तुलसा बस्नेत पराजुली र छोरा राहुल पराजुलीले अंशबण्डाको माग गर्दै पति नवराज पराजुली र शशि उप्रेती पराजुलीलाई विपक्षी बनाएर दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौंले राहुल पराजुलीले सम्पत्तिको हक पाउने फैसला गरेको थियो । बाबुआमाले जुनसुकै बेहोराबाट प्राप्त गरेको भए पनि छोराछोरीको हकमा पैतृक सम्पत्ति हुन जाने हुँदा उक्त घरजग्गाबाट निजलेसम्म बण्डा पाउने ठह¥याएको फैसलालाई उच्च अदालत पाटनले पनि सुरु सदर गरिदिएपछि यो मुद्दा सर्वोच्चसम्म पुगेको हो ।
“आमा” शब्दले सौतेनी आमा समेतलाई र “छोरा” शब्दले सौतेनी छोरासमेतलाई समेटेको भनी बुझ्नुपर्ने
सर्वोच्च अदालतले “आमा” शब्दले सौतेनी आमा समेतलाई र “छोरा” शब्दले सौतेनी छोरासमेतलाई समेटेको भनी बुझ्नुपर्ने भनी व्याख्या गरेको छ । कानुनले स्पष्ट अलग गरेको अवस्थामा बाहेक अंशबण्डासम्बन्धी कानुनमा प्रयुक्त “आमा” शब्दले सौतेनी आमा समेतलाई र “छोरा” शब्दले सौतेनी छोरासमेतलाई समेटेको भनी बुझ्नुपर्ने भनी सर्वोच्चले व्याख्या गरेको हो ।
सर्वोच्चको व्याख्यामा भनिएको छ, ‘विधायिकाले सौतेनी आमाको सम्पत्ति आ-आफ्नो हाँगातर्फ मात्र जाने परिकल्पना गरेको भए जसरी अंशबन्डा गर्दा दाजुभाइबिच बन्डा गरी दाजुभाइका छोराछोरीबिच आ-आफ्नो बाबुआमाको भागको अंश लाग्ने गरी व्यवस्था गरेको छ त्यसै गरी एकभन्दा बढी स्वास्नी भएमा निजहरूबिच अंश गरी छोराछोरीको हकमा आ-आफ्नो हाँगाको सम्पत्ति मात्र बन्डा लाग्ने गरी व्यवस्था गर्न सक्नेमा बन्डा गर्दा जियजियैको बन्डा गर्नुपर्ने व्यवस्था गरेको देखिएबाट बिमातृक सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना उल्लिखित कानुनले गरेको देखिएन ।’ यो मुद्दामा सर्वोच्चको पूर्ण इजलासले जिल्ला र उच्चको फैसला मिलेकै देखिएको भन्दै सदर गर्दै सौतेनी आमाले बकस पत्र, दाइजो जुन स्रोतबाट प्राप्त गरेको सम्पत्ति भए पनि सौतेनी छोरालाई पनि समान हक लाग्छ भनी फैसला गरेको हो ।
सर्वोच्चले सो व्याख्या गर्दा यसअघिको नजिरलाई पनि आधार मानेको छ । अदालतबाट पुनरावेदक शारदादेवी खतिवडा विरुद्ध सावित्रीदेवी खतिवडा भएको अंश चलन मुद्दामा बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक सरह हुन्छ । सौतेनी आमाले बकस पत्र दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैतृक हुने, सौतेनी तर्फबाट जन्मेका छोराछोरीको लागि नहुने भनी व्याख्या गर्न नमिल्ने भनी व्याख्या भैसकेको उल्लेख गरेको छ ।
उक्त व्याख्यासँग असहमत हुनुपर्ने कुनै कारण देखिन आउँदैन, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कानुनले बन्डा गर्दा सबै अंशियारहरूबिच बराबर अंश पर्ने गरी जियजियैको बन्डा गर्नुपर्ने व्यवस्था गरेको र आमाछोरा वा सौतेनी आमाछोराबिच फरक नगरेको अवस्थामा स्त्री अंशधनको महल अन्तर्गत हुने सम्पत्ति आफ्नो हाँगातर्फका छोराछोरीलाई मात्र बन्डा लाग्ने सौतेनी छोराछोरीलाई बन्डा नलाग्ने भन्दा समान पुस्ताका अंशियारबिच बन्डा घटीबढी हुन गई सबै अंशियारको बराबर बन्डा गर्नुपर्ने अंशबन्डा सम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्था समेतको विपरीत हुने देखिन्छ ।’
नवराज पराजुलीले तुलसा बस्नेतबाट जन्मिएका राहुल पराजुली आफ्नो छोरा नभएको दाबी गर्दै डीएनए परीक्षण हुनुपर्ने माग राखेकोमा सो विषयमा सर्वोच्चले व्याख्या गर्दै नाता प्रमाणित गर्न डीएनए परीक्षण अनिवार्य हुन्छ भन्न मिल्दैन भनी व्याख्या गरेको छ ।
फैसलामा भनिएको छ, ‘मुलुकी ऐन, अंशबन्डाको महलको १० नं.मा मुख्य गरी लोग्ने वा बाबुआमाले स्वास्नी छोराछोरीलाई इज्जत आमद अनुसार खान, लाउन र आवश्यकताअनुसार उचित शिक्षा दीक्षाको व्यवस्था गर्नुपर्ने वा सो नगरे अंश दिनुपर्ने कानुनी व्यवस्था गरी बाबुआमा वा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई अंश दिनुपर्ने दायित्व निर्धारण गरेको देखिएकोमा सौतेनी छोरा पनि आफ्नो उदरको छोरा सरह पछिल्लो पुस्ताको भएको र सौतेनी आमा अघिल्लो पुस्ताको भई अंश दिनुपर्ने दायित्व देखिएको अवस्थामा त्यस्तो सम्पत्ति आफ्नो उदरतर्फको छोराले मात्रै पाउने भन्नु समान पुस्ताका अंशियारबिच बराबर बन्डा गर्नुपर्ने र अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई बन्डा दिनुपर्ने भन्नेसमेतका कानुनी व्यवस्था अनुरूप हुने देखिएन ।’ स्त्री अंशधन अन्तर्गतको सम्पत्ति आफ्नो उदरतर्फको छोरालाई मात्र पैतृक सरह हुने हो, सौतेनी छोराको हकमा हुन सक्दैन भनी व्याख्या गर्नु न्यायोचित तथा उल्लिखित कानुनी व्यवस्थाको मर्म र भावना अनुकूल हुने जिकिर सर्वोच्चले लिएको हो ।

