लास चिर्ने डाक्टर र बिरामी जाँच्ने डाक्टरबीच एक मुठी सासको अन्तर छ।
एउटाको काम सास चलुञ्जेल चल्छ, अर्कोको काम सास थामिएपछि बल्ल सुरू हुन्छ।
हाम्रो यो कथा तिनै लास चिर्ने पोस्टमर्टम डाक्टरहरूको हो।
पुस १३ गते शुक्रबार ठ्याक्कै २ बजेर ११ मिनेट गएको थियो। टिचिङ अस्पताल महाराजगन्जको पोस्टमर्टम कक्षबाहिर १०-१२ जना मान्छे झुत्तिएका थिए। तीमध्ये एक जनाको हाँपदाँप अलि बढ्तै थियो। घरि भित्र पस्थे, घरि बाहिर निस्किन्थे। घरि सडकतिर नजर दौडाउँथे, घरि घडी नियाल्थे।
उनी आफैंसँग बर्बराए, ‘साढे २ हुन लागिसक्यो, पुलिसको चिठी आउने छाँटकाँट छैन!’
हामीले आफ्नो परिचय दियौं र उनको बर्बर विस्तार लगाउन आग्रह गर्यौं।
‘आफन्तको लास पोस्टमर्टम गर्न आएको,’ उनले परिचय नखुलाई भने, ‘साढे २ भित्र पुलिसको चिठी आएन भने आज काम हुँदैन।’
‘चिठी लिएर को आउँदैछ? पुलिस!’
‘पुलिस आइदिए त टेन्सनै थिएन नि!’ उनी झोँक्किए, ‘एउटा साथीलाई लिन पठाएको छु।’
उनले फेरि घडी हेरे।
आफन्तको लास ढोकामा लम्पसार थियो। सासले साथ छाडेको उहिल्यै हो, तर पर्खाइले मृत्युपछि पनि छाडेको थिएन।
‘कहिले चिठी आउला! कहिले पोस्टमर्टम होला! अनि कहिले मुक्ति पाउला यो लासले!’ उनले लामो सास फेरे।
निधारमा छटपटीका रेखा मुजा परे।
उनलाई आफ्नै छटपटीसँग छाडेर हामी पोस्टमर्टम कक्षभित्र छिर्यौं।
भित्र तीनवटा लाससँग जम्काभेट भयो — एउटा पोस्टमर्टम गर्न ठिक्क पारिएको, दुइटा पालो पर्खिरहेका।
पालो पर्खिरहेका लासको अनुहार हामीले प्रस्टै देख्यौं।
एउटा महिलाको रहेछ, अर्को पुरूषको।
महिलाको आधाआधी ज्यान सेतो कपडामा गुट्मुटिएको थियो। कपालका फुस्रा रौं छ्यालब्याल थिए। एउटा हात फत्रक्क भुइँतिर झुन्डिएको थियो। पैतालाहरू दलिनतिर फर्केका थिए। औंलाका कापमा मयल कट्कटिएको थियो।
पुरूष लासको हालत पनि ठ्याक्कै यस्तै थियो।
तिनै लास छिचोल्दै हामी पोस्टमर्टम कक्षबाट अगाडि बढ्यौं।
त्यो ठाउँ यति चिसो थियो, हाम्रो शरीरका रौं ठाडा भएका थिए।
यति सुनसान थियो, आफूले फेरेको सासधरि प्रस्ट सुन्दै थियौं।
एउटा मधुरो बत्तीको धिपधिपे प्रकाशमा हामीले राता र निला प्लास्टिकका झोलाहरू देख्यौं। ती झोलामा स-साना बट्टा थिए। पोस्टमर्टम कक्षमा जतनसाथ राखिएका यी बट्टाभित्र के होलान्!
अँध्यारो कोठाबाट बढ्दै गर्दा तिख्खर अमिलो गन्धले नाकको प्वाल हुँदै छातीसम्मै पोल्न आयो। यो गन्ध केको होला!
हामी भर्याङ चढेर पहिलो तलामा पुग्यौं। दायाँतर्फ कुनामा थियो — फरेन्सिक मेडिसिन विभाग।
त्यहीँ भेटिए फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी, जो मृत्युको कारण पत्ता लगाउन लास चिरफार गर्छन्।
हामीले यताउता हेर्यौं। सुनसान कोठामा उनी एक्लै थिए।
डा. चौधरीले हत्तपत्त भनिहाले, ‘दिउँसो २ देखि ३ बजेसम्म साथीहरू खाजा खान जानुहुन्छ। मैले चाहिँ तपाईंहरू आउँदै हुनुहुन्छ भनेर चाँडै खाएँ।’
बिहान ८ बजे नै आउने चौधरी खाना-खाजा यतै खान्छन्। सुरूसुरूमा त लास चिरेपछि केही निल्नै सक्थेनन्। एक वर्षसम्म मासुका परिकार छुँदा पनि छोएनन्।
‘अहिले सामान्य लाग्छ,’ उनले भने, ‘जसरी मृत्यु प्रकृतिको नियम हो, मेरो काम पनि त्यस्तै। जस्तोसुकै कुहिएको लास चिर्नुपरे पनि घिन लाग्दैन।’
६ हजारभन्दा बढी लास चिरिसकेका चौधरीले थपे, ‘सायद हामी पोस्टमर्टम गर्नेहरूले लासको गन्ध पचाइसक्यौं। मान्छे मरेको दुई-तीन घन्टापछि नै लासबाट गन्ध आउँछ। बाह्र घन्टापछि बिस्तारै सड्न थाल्छ। सुरूको गन्ध चाल पाउन हामीजस्ता विशेषज्ञहरूको अनुभवी नाक चाहिन्छ। जति पुरानो हुँदै गयो, गन्ध उति चर्किँदै जान्छ। पहिलोचोटि सहन गाह्रो पर्छ। हामी त घुलमिल भइसक्यौं, पत्तै पाउँदैनौं।’
हामीले एकछिन अगाडि छातीसम्मै पोल्न आएको तिख्खर अमिलो गन्ध सम्झियौं।
डा. चौधरीले कम्तीमा आधा दर्जन लास नचिरेको दिन हुँदैन। शुक्रबार हामीले भेट्नुअघि नै चारवटा पोस्टमर्टम गरिसकेका थिए। तीनटा तयारी अवस्थामा थिए।
हामीले पोस्टमर्टम कस्तो हुँदो रहेछ भनेर विस्तारमा जान्ने इच्छा देखायौं।
उनले हामीलाई आफूसँगै पोस्टमर्टम कक्षमा लगे।
भित्र छिर्नासाथ उनले क्याप, मास्क, गाउन, प्लास्टिकको एप्रोन र हातमा पञ्जा लगाए। कालो रङका केही प्लास्टिकका बुट थिए। आफ्नो खुट्टाको नापअनुसार छानेर लगाए।
डा. चौधरी अब पोस्टमर्टम निम्ति तयार थिए।
सँगसँगै, उनका सहयोगीहरू सुनिल थापा मगर र सुरेश लामा पनि तयार भए।
२५ वर्षीय सुनिल दुई वर्षदेखि यहाँ काम गरिरहेका छन्। २१ वर्षीय सुरेशले काम थालेको छ महिना मात्र भयो। उनीहरू लासको कपडा खोल्छन्, चिरफार गर्दा पानी हाल्छन् र दायाँबायाँ घुमाउन मद्दत गर्छन्।
हामीले देख्यौं — पोस्टमर्टम कक्षको भित्ता निख्खर सेतो थियो। भित्ताको आधा भागमा सेतै मार्बल टाँसिएको थियो। बीचमा जाली राखेको पानी जाने निकास थियो। बाल्टिन, डिजिटल तराजु, जग, स-साना बट्टा, कुनामा हात धुने बेसिन — यस्तै थियो कोठाको आवरण। वातावरण सधैं चिसो!
त्यसमा हरेकचोटि फेरिने भनेको लासको लिंग, उमेर र प्रकृति मात्र हो!
यसपालि तीनटा लास पोस्टमर्टम गर्न ठिक्क पारिएका थिए। तीमध्ये एउटा महिला लास अगाडि सारियो।
सुनिल र सुरेशले लास छोपेको सेतो कपडा हटाए। ती महिलाले रातो चौबन्दी र लुंगी लगाएकी रहिछन्।
दुवैले मिलेर महिलाका सबै लुगा फुकालिदिए। कपाल र घाउमा बाँधिएको पट्टी हटाइदिए।
त्यसपछि डा. चौधरीले लासका हात, खुट्टा, शरीरका अगाडि-पछाडिका भाग ओल्टाइपल्टाइ पारे। सबै अंगको नाप लिए। र, एक-एक नाप फाइलमा टिपे।
मान्छे लासमा परिणत भएपछि मूढाजस्तै हुँदो रहेछ। जुन अंग जता पल्टायो, त्यतै स्थिर रहने। हातखुट्टा उचालेर जस्तो छाड्यो, त्यस्तै रहने।
चौधरी आफ्नो कामको बीच-बीचमा हामीसँग कुरा पनि गर्दै थिए।
‘यी धादिङकी महिला हुन्, उमेर ५४ वर्ष,’ उनले भने, ‘विष खाएकी रहिछन्। नेसनल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो।’
‘बुढेसकालमा विष खानुपर्ने के बाध्यता आइलाग्यो होला है!’ उनी भावुक सुनिए।
‘आफैं खाइन् कि कसैले खुवाइदिए?’ हामीले सोध्यौं।
‘त्यो चाहिँ एकछिनमा थाहा हुन्छ,’ उनले जबाफ दिए।
यति भनेपछि चौधरीले हातमा चक्कु लिएर लासको चिउँडोदेखि नाइटो मुनिसम्म चर्रर चिरे र शरीरको अन्तरकुन्तर ह्वांग पारे।
आलो लासबाट भल्भल्ती रगत बग्यो।
सुनिल र सुरेशले लासमाथि पानी खन्याए।
चौधरीले मुटु, कलेजो, फोक्सो, आन्द्रा लगायत शरीरका सबै अंग नियाले।
उनी एक-एक अवलोकन फाइलमा टिप्दै थिए।
‘अरूले खुवाइदिएको भए मुख आसपास दाग हुन्थ्यो, त्यो छैन,’ उनले भने, ‘आफैंले विष खाएको देखिन्छ।’
‘मृत्युको कारण चाहिँ विष सेवन नै हो कि अरू केही भन्ने भिसेरा परीक्षणबाट थाहा हुन्छ,’ उनले यति भनेर भिसेरा परीक्षण निम्ति लासका केही अंगको टुक्रा र रगतको नमूना एउटा सानो बट्टामा राखे।
पोस्टमर्टम कक्षमा जतनसाथ राखिएका बट्टाभित्र लासका विभिन्न अंगको नमूना हुँदो रहेछ।
भिसेरा परीक्षण टिचिङ अस्पतालमा हुँदैन। त्यसैले यी नमूना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाउनुपर्छ।
‘शरीरमा चोटपटक देखियो भने घाउ भएको ठाउँ चिरेर हेर्नुपर्छ,’ चौधरीले भने, ‘एउटा लास चिरफार गर्न एकदेखि तीन घन्टा लाग्छ।’
मृत्युको कारण पत्ता लगाइसकेपछि जुन अंग जहाँबाट झिकेको हो, त्यहीँ राखेर सिलाइन्छ। गिदी नै निकाल्नुपर्यो भने चाहिँ जस्ताको तस्तै हाल्न मिल्दैन।
एउटा लासको पोस्टमर्टम पूरा भएपछि चौधरीले बाँकी कामको जिम्मा आफ्ना सुनिल र सुरेशलाई दिए।
हामी उनलाई पछ्याउँदै कार्यकक्षमा फर्कियौं।
‘मेरो हरेक दिनको काम यही हो,’ भर्खरै साबुनपानीले धोएको हात रूमालले पुछ्दै उनी कुर्सीमा बसे, ‘दिनको सुरूआत नै लास चिरेर हुन्छ।’
‘कहिलेकाहीँ ठूलो दुर्घटनामा धेरै जना मारियो भने त भ्याइनभ्याइ हुन्छ। रातभरि बसेर पोस्टमर्टम सक्नुपर्छ,’ उनले भने, ‘कहिलेकाहीँ कुनै घटनामा तुरून्तै पोस्टमर्टम नगरे प्रमाण नष्ट हुने डर हुन्छ। यस्तो बेला पनि हाम्रो दिन लम्बिन्छ।’
चौधरीले यसरी लास चिरफार गर्न थालेको १३ वर्ष भयो।
सुनसरीको रामधुनी नगरपालिका-६ का उनी सानैदेखि डाक्टर बन्न चाहन्थे। तर लास चिर्ने डाक्टर होइन।
उनको सपना थियो, मुटुको डाक्टर बन्ने — भगवान कोइरालाजस्तै।
सन् २०१० मा एमबिबिएस अन्तिम वर्ष पुग्दासम्म उनी यही सपना पछ्याउँदै थिए। त्यसपछि भने उनको सपनाले नयाँ बाटो समात्यो।
एमबिबिएस अन्तिम वर्ष फरेन्सिक मेडिसिन पढ्नुपर्छ। त्यसमा पोस्टमर्टम कसरी गर्ने भनेर सैद्धान्तिक र प्रयोगात्मक दुवै सिकाइन्छ। त्यसै क्रममा फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीसँग उनको भेट भयो।
‘नेपालमा पोस्टमर्टम गर्ने डाक्टर एकदमै कम छन्,’ वस्तीले भने, ‘नयाँ पुस्ता यो क्षेत्रमा आउनुपर्छ।’
वस्ती आफैं पनि पोस्टमर्टमका चर्चित डाक्टर हुन्। त्यो बेला उनीसहित तुलसी कँडेल र प्रमोद श्रेष्ठले एमबिबिएस विद्यार्थीलाई फरेन्सिक मेडिसिन पढाउँथे।
यिनै डाक्टरको प्रेरणाले आफूलाई पनि पोस्टमर्टममा रूचि बढेको चौधरी बताउँछन्।
रूचि त बढ्यो, तर परिवारलाई मनाउन सजिलो भएन।
उनीहरू भन्थे —
डाक्टरी पढेर जसले बिरामीको ज्यान बचाउँदैन, ऊ केको डाक्टर!
धिपधिप गरिरहेको ज्यानमा जसले प्राण भर्दैन, ऊ केको डाक्टर!
मान्छेलाई मर्न नदिने पो डाक्टर, मरिसकेको मान्छे चिरफार गर्ने केको डाक्टर!
परिवार र साथीभाइ सबैले यस्तै भनेर सम्झाएपछि चौधरीलाई पनि अलमल त भएकै थियो, तर फेरि सोचे —
डाक्टरी पढेर सबैले उपचार मात्र गरे, अपराध अनुसन्धानमा कसले सघाउने!
धिपधिप गरिरहेको ज्यानमा प्राण मात्र भरे, हिंसामा प्राण गुमाएकाहरूलाई न्याय कसले दिलाउने!
मान्छेलाई मर्न नदिनु साँच्चिकै पुण्य हो, तर मृत्युको कारण खोजेर मुक्ति दिनु पनि कम पुण्य पक्कै होइन!
एमबिबिएस पढ्ने बहुसंख्यक विद्यार्थी बिरामीको ज्यान बचाउन चाहन्छन्, भगवान कोइरालाजस्तै बन्न चाहन्छन्; तर सबै भगवान कोइराला बने हरिहर वस्ती बन्ने को!
जुन काम धेरैले गर्न चाहँदैनन्, त्यही काम पनि कसै न कसैले त गर्नैपर्यो!
नभए नेपालमा फरेन्सिक मेडिसिनको भविष्य के!
यस्तै सोच मनमा आएपछि गोपाल चौधरीले निधो गरे — जसले जे भनोस्, म फरेन्सिक मेडिसिन नै पढ्छु!
फरेन्सिक मेडिसिन पढ्न एमबिबिएसपछि तीनवर्षे कोर्स गर्नुपर्छ। एमडीका विभिन्न हाँगामध्ये यो एक हो। त्यो बेला फरेन्सिक पढ्ने विद्यार्थी एकदमै नगन्य थिए, उनले भने, ‘मैले यसमा राम्रो भविष्य देखेँ। प्रतिस्पर्धा कम भएकाले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने लाग्यो।’
उनका अनुसार नेपालमा पोस्टमर्टम कहिलेबाट सुरू भयो ठ्याक्कै थाहा छैन। वीर अस्पताल सञ्चालनमा आएदेखि सुरू भएको अनुमान गरिन्छ। २०५७ सालमा जापानले टिचिङ अस्पतालमा भौतिक पूर्वाधारसहित पोस्टमर्टम भवन बनाइदिएपछि यता सरेको हो।
यति हुँदाहुँदै पोस्टमर्टम गर्ने विशेषज्ञ डाक्टरहरूको संख्या अहिले पनि कम छ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २० मा नेपालको भूभागभित्र दुर्घटना, आत्महत्या वा शंकास्पद मृत्यु भए सरकारले नै सम्पूर्ण खर्चसहित पोस्टमर्टम गरिदिने व्यवस्था छ। आकस्मिक र अप्राकृतिक मृत्यु भए प्रहरीको अनुरोधमा पोस्टमर्टम गरिन्छ। यसले मृत्युको कारण पत्ता लगाएर अनुसन्धान टुंगोमा पुर्याउन सहयोग गर्छ।
पोस्टमर्टमलाई नीतिगत रूपमा संस्थागत गराउन डा. हरिहर वस्ती लगायत पहिलो पुस्ताका फरेन्सिक विशेषज्ञहरूको ठूलो हात छ।
फरेन्सिक मेडिसिन पनि चिकित्सा क्षेत्रको एउटा महत्वपूर्ण विधा हो भनेर नयाँ पुस्तालाई बाटो देखाउने काम उनीहरूले नै गरे।
आज त्यही बाटो पछ्याइरहेका छन्, डा. चौधरी।
बाटो सजिलो चाहिँ थिएन।
दुर्घटनामा परेका क्षतविक्षत लास ओल्टाइपल्टाइ पार्नु र कुहिएर कीरा परेका लास चिरफार गर्नु डाक्टरकै निम्ति पनि दह्रो मुटु चाहिने काम हो।
सुरूआती दिनमा त त्यस्ता लास देखेरै उनको भाउन्न छुट्थ्यो। त्यस्ता विदारक लास नआइदिए हुन्थ्यो भन्ने उनी कामना गर्थे।
तर जसरी मेडिकल डाक्टरले बिरामी छान्न सक्दैन, त्यस्तै लास कस्तो होस् वा कस्तो नहोस् भन्ने पोस्टमर्टम डाक्टरको हातमा हुँदैन।
जस्तोसुकै अवस्थाको लास चिरफार गर्नुपरे पनि घिन मानेर पन्छाउने सुविधा उनीहरूले पाउँदैनन्।
‘सुरूको छ महिना त मलाई कामै छाडूँजस्तो भएको थियो। परिवार र साथीभाइको सल्लाह नमानेकोमा थकथकी लाग्थ्यो,’ चौधरीले भने, ‘हरेकचोटि लास चिर्दा मन चिसो हुन्थ्यो। निन्द्रामा पनि कुहिएका लासहरू मात्र देख्थेँ।’
जसोतसो उनले वर्षदिन काटे।
बिस्तारै चिरफारमा चासो बढ्दै गयो। क्षतविक्षत लास देखेर मुटु छिया पर्न छाड्यो। कुहिएका लासको गन्ध पनि गनाउन बन्द भयो।
आफ्नो कामबाट अपराध अनुसन्धान टुंगो लाग्दैछ र दुःखमा डुबेको परिवारजनको आँखामा न्यायको आस जाग्दैछ भन्ने अनुभूतिले उनी सन्तुष्ट हुन थाले। उनलाई आफ्नो कामप्रति गर्व लाग्न थाल्यो।
सबभन्दा ठूलो कुरा, प्रहरीको साथ लागेर घटनास्थल पुग्दा आममानिसले दिने मानले यही क्षेत्रमा टिकिरहने हौसला पाए।
‘मान्छेहरू हाम्रो कामको नतिजा पर्खेर बस्छन्,’ उनले भने, ‘हाम्रो रिपोर्टले अपराध अनुसन्धानमा आनका तान परिवर्तन ल्याइदिन्छ। आत्महत्या भनेर अड्कल काटिएको घटनामा पोस्टमर्टमले हत्या पुष्टि गरेपछि अनुसन्धानले नयाँ दिशा लिन्छ। हत्यारा पक्राउ पर्छ। त्यस्तो बेला मृतकको परिवारले खुसी हुँदै आशीर्वाद दिँदा मलाई यो काम रोजेकोमा सन्तुष्टि हुन्छ।’
‘तपाईंलाई आफ्नो करिअरकै विदारक क्षण चाहिँ कुन लाग्छ?’
जबाफमा चौधरीले दुइटा यस्ता घटना सम्झे, जसले आज पनि उनको मुटु चिसो हुन्छ।
एउटा घटना नौ वर्षअघिको हो।
फागुकै दिन थियो या फागु आसपासको, त्यो चाहिँ उनलाई ठ्याक्कै याद छैन!
उनको अगाडि पोस्टमर्टम टेबलमा तीन वर्षीया बालिकाको लास थियो।
हातले छुँदा पनि दाग लाग्लाझैं सिनित्त सफा ज्यान! दिनभरि खेल्दा खेल्दा थाकेर मस्त निदाएझैं अनुहार!
सलक्क परेको केस! भर्खरै उठेर मुसुक्क हाँस्लाजस्तो ओठ!
त्यस दिन ती बालिकाको ज्यानमा छुरी चलाउनुपर्दा डा. चौधरीको हातमा सिहरन दौडिएको थियो। मुटु चिसो भएर गाँठो परेको थियो।
पोस्टमर्टमपछि थाहा भयो, घाँटीमा बेलुन अड्किएर उनको मृत्यु भएको रहेछ।
‘बेलुन फुक्दा सासले भित्र तानिएर घाँटीमा अड्किएको हुनसक्छ,’ उनले भने, ‘ती बालिकाको अनुहार सम्झिँदा आज पनि मन खल्लो हुन्छ।’
अर्को घटना पाँच वर्षअघिको हो — २०७५ फागुन २५ गते।
ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा चौधरीकै एक निकट साथी पनि थिए।
जसै पोस्टमर्टमका लागि लासहरू ल्याइए, तिनमा आफ्नै साथीको लास देखेपछि चौधरीलाई चक्कर लागेझैं भयो।
त्यस दिन पनि उनको हातमा सिहरन दौडिएको थियो।
यी दुई घटनाबाहेक टाउको काटिएका, हातखुट्टा छुट्टिएका, कुहिएर वीभत्स भएका थुप्रै लास पोस्टमर्टम गर्दा पनि मनमा कहाली नछुटेको उनी बताउँछन्।
बरू कहिलेकाहीँ स-साना लापरबाहीले मान्छेको ज्यान गएको देख्दा उनलाई दिक्क लाग्छ।
उदाहरणका लागि, जाडो याममा कोइला वा ग्यास हिटर बालेर सुत्दा र गिजरको तातोपानीले नुहाउँदा मृत्यु भएका घटना धेरै छन्।
‘जाडोमा झ्यालढोका थुनेर ग्यास वा कोइला बाल्दा कार्बन मोनोअक्साइडले कोठा भरिन्छ। यस्तो धुवाँको रङ, स्वाद वा बास्ना हुँदैन। यो भनेको मान्छेलाई बिस्तारै मृत्युको मुखमा लैजाने विषाक्त ग्यास हो। यसमा १५-२० मिनेट सास फेर्यो भने ज्यान जान्छ। यति सामान्य कुरा थाहा नहुँदा बर्सेनि धेरैको ज्यान गइरहेको छ,’ चौधरीले भने।
पोस्टमर्टमकै क्रममा वीभत्स हत्या गरिएका मान्छेको लास देख्दा उनी कहिलेकाहीँ हैरान पनि हुन्छन्।
घाँटी काटिएका, चक्कु वा खुकुरीले शरीर छियाछिया पारिएका, हातखुट्टा छिनालिएका, आँखा निकालिएका, पेट चिरिएका लासले मान्छेको बढ्दो रिस र क्रूरता झल्काउने उनको भनाइ छ।
उनले २०७७ साउन २५ गते गोंगबु गणेशस्थाननजिकै भेटिएको लासको उदाहरण दिए।
उक्त पुरूष लासको टाउको र शरीर फरक फरक ठाउँमा भेटिएको थियो। कतै सुटकेसमा हालिएको त कतै जेब्रा झोलामा फालिएको।
‘त्यो लास देखेर म छक्क परेँ,’ उनले भने, ‘चक्कु घोपेर शरीर छियाछिया पारिएको थियो। मान्छेमा यस्तो क्रूरता कसरी आउँछ!’
कुराकानीकै सिलसिलामा डा. चौधरीले फरेन्सिक मेडिसिन विभागले गर्ने कामको विस्तार पनि लगाए।
उनका अनुसार यो विभागको काम लास चिरफार मात्र होइन, अपराध अनुसन्धानका लागि जीवित मान्छेको शारीरिक परीक्षण पनि हो।
शरीरका विभिन्न भागको तरल पदार्थ परीक्षण, मस्तिष्क जाँच, एक्स-रे, आन्तरिक परीक्षण लगायत काम यही विभागबाट हुन्छ। खासगरी बलात्कार मुद्दामा आरोपित र पीडित पक्षको शारीरिक परीक्षण यही विभागले गर्छ। यस्तो घटनामा आरोपित र पीडितको शरीरमा भेटिने वीर्य, र्याल, रगत लगायत तरल पदार्थले अनुसन्धानमा ठूलो सहयोग पुर्याउँछ।
‘डाक्टरको काम मान्छेको ज्यान बचाउने मात्र हो भन्ने धेरैलाई लाग्छ। कतिले त हामी पोस्टमर्टम गर्नेहरूलाई डाक्टर नै ठान्दैनन्। यही कारण आज पनि फरेन्सिक मेडिसिन पढ्छु भन्नेलाई हतोत्साहित गरिन्छ,’ उनले भने, ‘एक किसिमले हेर्दा त्यो सही हो, तर पूर्ण सही होइन।’
‘मान्छेको मृत्यु के कारणले भयो, मृत्यु प्राकृतिक हो कि अप्राकृतिक, त्यसमा कुनै शंकास्पद घटना जोडिएको छ कि छैन; यस्ता कुरा पत्ता लगाउने काम पनि डाक्टरकै हो।’
उनले थपे, ‘मृत्यु चाहे प्राकृतिक होस् वा अप्राकृतिक, त्यसमा शरीरको जैविक पक्ष जोडिएको हुन्छ। जैविक पक्ष जोडिएको मृत्युजस्तो घटनामा दूधको दूध, पानीको पानी छुट्टयाउने काम डाक्टरहरूले मात्र गर्न सक्छन्। हामी फरेन्सिक डाक्टरहरू त्यही काम गर्छौं।’
‘हामीले नगरे कसले गर्ने?’ उनले प्रश्न गरे।
यही कामले कतिपय अवस्थामा अनुसन्धानको बाटो मोडिएको अनुभव चौधरीसँग छ।
उनले ६ वर्षअघिको घटना सुनाए — सिन्धुपाल्चोकका एक वृद्धको लास पोस्टमर्टमका लागि ल्याइएको थियो।
प्रहरीसँग सोधपुछ गर्दा घर बनाउने क्रममा छानाबाट लडेर मृत्यु भएको भनियो। जब पोस्टमर्टम गरियो, टाउकोमा गहिरो चोट लागेर रगत जमेको फेला पर्यो। कसैले बल प्रयोग गरेर हानेको दाग पनि भेटियो।
यही आधारमा प्रहरीले छानबिन सुरू गर्यो।
छानबिनबाट बाबु-छोराबीच झगडा हुँदा छोराले काठले हानेको तथ्य खुल्यो।
बाबुको हत्या गर्ने छोरा पक्राउ परे।
‘पोस्टमर्टमका आधारमा धेरै अपराधी पक्राउ परेका छन्,’ डा. चौधरीले भने, ‘पक्राउ परेकाहरू निर्दोष साबित भएर छुटेका पनि छन्।’
‘कहिलेकाहीँ कर्तव्य ज्यान भन्दै निर्दोष व्यक्ति पक्राउ परेको हुन्छ। पोस्टमर्टममा हृदयघात वा कालगतिले मृत्यु भएको देखिएपछि पक्राउ परेको व्यक्ति निर्दोष साबित हुन्छ,’ उनले भने।
‘मृत्यु भएको २४ घन्टाभित्र पोस्टमर्टम भयो भने वास्तविक कारण पत्ता लाग्न सक्छ,’ उनले भने, ‘मेरो अनुभवमा अहिलेसम्म ९० प्रतिशत पोस्टमर्टममा मृत्युको कारण पत्ता लागेको छ, १० प्रतिशतमा कारण खुल्दैन।’
कहिलेकाहीँ अनियन्त्रित तरिकाले मुटु धड्किएर ज्यान जान्छ। पोस्टमर्टम गर्न ल्याउँदा दुई-चार घन्टा बितिसकेको हुन्छ। त्यस्तो अवस्थामा मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गर्नुपर्छ। त्यसमा पनि ढिला भयो भने रिपोर्ट नेगेटिभ नै आउने उनी बताउँछन्।
आत्महत्या वा विष सेवनका घटनामा जीवन बीमा रकम दाबी गर्न गलत रिपोर्ट बनाउने दबाब आएका प्रसंग पनि उनले सुनाए।
परिवार र साथीभाइको दबाबविपरीत फरेन्सिक मेडिसिन रोजेका चौधरीले पछिल्लो समय परिवर्तनका केही संकेत देख्न थालेका छन्।
पोस्टमर्टम गर्ने फरेन्सिक डाक्टरलाई समाजले सकारात्मक रूपमा लिन थालेको उनको अनुभव छ। फरेन्सिक मेडिसिन पढ्नेको संख्या पहिलेभन्दा बढेको छ। सन् २०१३ देखि २०२२ सम्म लगभग ६५ जनाले यसमा एमडी गरेका छन्।
सबभन्दा सकारात्मक पक्ष भनेको यो क्षेत्रमा महिला डाक्टरको प्रवेश बढ्दो छ। डा. युगेन डोल्मा वालुङ नेपालकी प्रथम महिला फरेन्सिक विशेषज्ञ हुन्। उनी एक दशकदेखि टिचिङमा काम गरिरहेकी छन्।
हामीले यो स्टोरी लेख्ने क्रममा उनलाई पनि भेटेका थियौं। उनी आफ्नो कामबारे मिडियामा खुल्न चाहिनन्। तर डोल्मा फरेन्सिक मेडिसिनमा आउन चाहने महिला निम्ति प्रेरणा बनेकी छन्। देशभर ६५ जनाले फरेन्सिक मेडिसिनमा एमडी गरिरहँदा २७ जना महिला छन्।
पाटन अस्पतालमा त फरेन्सिक मेडिसिन विभाग नै तीन जना महिलाले सम्हालेका छन्। ती हुन् — सिर्जना कुँवर, सम्झना घिमिरे र सलमाली यादव।
‘सुरूमा लास छोएर जाँदा घरमा सुनपानी छर्किने, नुहाउन लगाउने गर्थे,’ विभागीय प्रमुख सिर्जनाले भनिन्, ‘अहिले कति हिम्मतवाली भन्छन्!’
‘पोस्टमर्टम भनेको लासको आवाज हो,’ उनले अगाडि भनिन्, ‘लास आफैं बोल्न सक्दैन, त्यसैले हामी उनीहरूको आवाज बनेर उभिन्छौं।’
यति हुँदाहुँदै फरेन्सिक मेडिसिनमा भौतिक पूर्वाधारको समस्या चरम छ। बेवारिसे लासहरू राख्न पर्याप्त ठाउँ छैन। टिचिङमा लास राख्ने फ्रिज त छ, तर जेनेरेटर भरपर्दो छैन। बत्ती आउने-जाने भइरहँदा माइनस ४ डिग्री सेल्सियस तापक्रममा राख्दा पनि लास कुहिने डा. चौधरीले बताए।
‘दुई-तीन घन्टाभन्दा बढी बत्ती गयो भने फ्रिजमा राखेको लास सड्न थाल्छ,’ उनले भने, ‘लामो समय राख्दा लासको हड्डी मात्र बाँकी रहन्छ।’
कतिपय अवस्थामा बेवारिसे लासका बाँकी हड्डी एमबिबिएस विद्यार्थीलाई अध्ययन गर्न दिने गरेको उनी बताउँछन्।
त्यस्तै, फरेन्सिक मेडिसिन पढ्ने विद्यार्थी बढे पनि तीमध्ये मुस्किलले २० प्रतिशत मात्र नेपालमा टिकेको पाइन्छ।
‘पोस्टमर्टम सरकारी अस्पतालमा मात्र हुन्छ। मेडिसिनका अरू विषय पढे धेरै अवसर पाइन्छ, फरेन्सिकमा अवसर कम छ,’ डा. चौधरीले भने, ‘विद्यार्थी संख्या बढे पनि पोस्टमर्टम डाक्टरको अभाव झेलिरहेका छौं। हामी अदालतमा बयान दिन दौडिरहनुपर्ने हुँदा कामको सधैं चापाचाप हुन्छ।’
सरकारले दरबन्दी खुलाएर पोस्टमर्टम डाक्टरहरूलाई प्रोत्साहन दिने हो भने बिदेसिने तयारीमा रहेकाहरूलाई रोक्न सकिने उनको भनाइ छ।
त्यसो भयो भने अहिले जसरी पोस्टमर्टम कक्षमा लासको थुप्रो लागिरहन्छ; र जसरी डा. चौधरी र उनको टिमले दिनकै कम्तीमा आधा दर्जन लास चिरफार गर्नुपर्छ, त्यो चाप केही कम हुन सक्छ।
उनले प्रत्येक लास मिहिन अवलोकन गर्न समय पाउने छन्।
‘पोस्टमर्टम जति चुस्त भयो, प्रहरी अनुसन्धान उति चुस्त हुन्छ,’ उनले भने, ‘कसको सास कसरी गयो; दूधको दूध, पानीको पानी छुट्टिन्छ।’
टिचिङ अस्पतालका पोस्टमर्टम डाक्टर गोपाल चौधरीसँग कुरा गरेर निस्किँदा साँझ ५ बजेर २७ मिनेट गएको थियो।
उनी हामीलाई छाड्न गेटसम्मै आए। पोस्टमर्टमको पालो पर्खिरहेका केही लास अझै गेटबाहिर लम्पसार थिए। प्रहरीको चिठी पर्खिरहेका ती व्यक्ति भने वरपर कतै देखिएनन्।
डा. चौधरीले अगाडिको खाली ठाउँ देखाए। र, भने —
यहाँ २०७२ सालको भुइँचालोमा ज्यान गुमाएका र पहिचान नखुलेका ३७ जनाको लास गाडिएको छ! साभार : सेतोपाटी प्रकाशित मिति: बुधबार, चैत २१, २०८०

