काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम हो– कुनै पनि खाद्यवस्तुको अनुगमन, गुणस्तर परीक्षण र नियमन गर्नु । परीक्षणका क्रममा कैफियत देखिए विभागले कानुनअनुसार कारबाही गर्छ । पानी, दुग्ध पदार्थ, मिठाई, होटल, रेस्टुराँ, तिनमा बन्ने परिकारदेखि चाउचाउ, ड्राईफुड, दानालगायत वस्तुको गुणस्तर यसले हेर्छ । अनुगमन गरेर नमुना परीक्षणलगायत काम विभागले गर्छ । तर तिनमा बढीजसो कैफियत पिउने पानीमा भेटिने गरेको विभागको प्रयोगशाला परीक्षणले देखाउँछ । विभागले सार्वजनिक गर्ने मुद्दा पनि बढीजसो पानीकै विषयमा हुने गरेका छन् ।
उदाहरणका रूपमा विभागले अर्धवार्षिक अवधिमा ८९ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ । त्यसमध्ये करिब आधाजसो पिउने पानीकै छन् । अर्थात् दूषित, न्यून गुणस्तर, लेबल नभएकोलगायत कसुरमा ३८ वटा पानी उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।
‘अर्धवार्षिक अवधिमा सबैभन्दा बढी पानी उद्योगविरुद्ध मुद्दा दायर भएका छन् । पानी उद्योग बढी उपत्यकामै छन्, बढी समस्या पनि यहीं नै देखिन्छ,’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘दूषित, न्यून गुणस्तर र लेबल नराखिएको कसुरमा मुद्दा दर्ता भएको छ ।’ विभागका अनुसार प्रशोधित खानेपानीको हकमा पनि पीएच भ्यालु र ब्याक्टेरियाकै समस्या देखिन्छ । पानीको पीएच भ्यालु ६ देखि ८ को बीचमा हुनुपर्छ । ब्याक्टेरिया हुनुहुँदैन । तर बजारमा पाइने धेरैजसो पानी र जारमै समस्या देखिन्छ ।
‘सरकारले कडाइसाथ नियमन गरे सबै पानी उद्योगमा कैफियत देखिन्छ । बजारमा पाइने जारमा समस्या उस्तै छ । कडा रूपमा प्रस्तुत नहुँदा सुधार हुन सकेन । प्रशोधित पानीका नाममा सर्वसाधारण ठगी गर्नेलाई तत्काल कारबाही हुन जरुरी छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सरकारले कानुनी दायरामा नल्याउँदा व्यवसायीले सुधार गर्न चाहेनन् ।’
विभागको विवरणअनुसार दूध तथा दुग्ध पदार्थका १० वटा मुद्दा दायर भएका छन् । तेल–घिउका ६ वटा मुद्दा दर्ता भएको महर्जनले जनाए । दूधमा फ्याटको समस्या, दहीमा कोलिफर्म र घिउमा कम गुणस्तर देखिने गरेको छ । घिउको आरएन भ्यालु २८ भन्दा कम हुनुहुँदैन । दहीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर प्रयोगशाला परीक्षण गर्दा नमुनामा समस्या देखिने गरेको छ । विभागका अनुसार मसलाजन्य पदार्थका ४, मिठाईका ४, खाद्यान्न दलहनका ४, महका ३, दानाका ३, चाउचाउका २ र अन्य खाद्य पदार्थका १५ वटा मुद्दा दायर भएका छन् ।
‘८९ मुद्दामध्ये ३५ वटा दूषित, ३२ वटा न्यून गुणस्तर, १० वटा लेबलसम्बन्धी र १२ मुद्दा खाद्य ऐन–नियम निर्देशिका उल्लंघन गरेका छन्,’ महर्जनले भने, ‘खाद्य ऐन २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर भएका छन् ।’
विभागको विवरणअनुसार खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमनका क्रममा १,१६७ नमुना संकलन गरिएको छ । त्यसमध्ये ९०४ वटा नमुनाको विश्लेषण परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ४५ वटा नमुना प्रतिकूल पाइएको विभागले जनाएको छ । प्रशोधित पिउने पानीकै हकमा ३४ वटा नमुना संकलन गर्दा ५ वटा नमुना प्रतिकूल भेटिएको बताइएको छ ।
खाद्यान्न र दलहनजन्यका ३१० वटा नमुना परीक्षण गर्दा ७ वटा प्रतिकूल, तेल तथा घिउजन्यका १२१ वटा नमुना परीक्षण गर्दा १० वटा नमुना प्रतिकूल भेटिएको विभागले जनाएको छ । दूध तथा दुग्ध पदार्थका ३७ वटा नमुना परीक्षण गर्दा दुई वटामा समस्या देखियो । विभागले यस अवधिमा म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन–नियमबमोजिम नपाइएका करिब ३४ लाख मूल्य बराबरका विभिन्न खाद्य तथा पेयपदार्थ नष्ट गरिएको विभागको भनाइ छ ।
प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली सुरु
राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको सेवा थप प्रभावकारी बनाउन प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली (एलआईएमएस) सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहत सञ्चालनमा रहेको केन्द्रीय प्रयोगशालाको नयाँ प्रणालीको उद्घाटन बुधबार भयो । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले एलआईएमएस उद्घाटन गरे ।
प्रयोगशालाले प्रदान गर्ने सेवा छिटोछरितो तरिकाले सम्पन्न गर्न प्रणाली सहयोगी हुने विभागकी महानिर्देशक मतिना वैद्य जोशीले बताइन् । यसअघि सेवाग्राहीले प्रयोगशाला सेवा लिन विभागमै उपस्थित भई नमुना परीक्षणका लागि नमुनासहित निवेदन दिनुपर्थ्यो । विभागमा पुगेर परीक्षण प्रतिवेदन तयार भए/नभएको जानकारी लिनुपर्ने बाध्यता
थियो । नमुनाको दर्ता, कोडिङ र डिकोडिङ, विश्लेषकलाई जिम्मेवारी तोक्ने, विभिन्न प्रयोगशालाको
रिपोर्ट एकीकृत गरी प्रतिवेदन तयार गर्ने कागजी प्रक्रिया पूरा गर्नुपर्थ्यो । तर यो प्रणाली लागू भएपछि सेवाग्राहीले लिन चाहेको प्रयोगशाला सेवा, लाग्ने राजस्व दस्तुर, नमुनाको परीक्षण सकिएको अवस्थाबारे अनलाइनबाट जानकारी लिन सकिने जोशीले जनाइन् ।

