काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पपुलिजम अब एउटा रोग नै बनिसकेको बताएका छन् । उनले यस्तो बेला लोकतन्त्र रक्षाका लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहेको बताए । बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा महामन्त्री थापाले पपुलिजम कुनै राजनीतिक दल वा राजनीतिमा मात्रै समस्याका रुपमा नरहेको बताए ।
‘पपुलिजम नेपालमा मात्रै होइन, अहिले विश्वभरि नै लोकतन्त्रका लागि सबैभन्दा चुनौतीको विषय बनेको छ । यो पपुलिजम फेरि एउटा आकार वा एउटा रंग वा एउटा स्वरुपमा मात्रै आइरहेको छैन । पपुलिस्ट पनि हामी एकपटक एउटा दलको एउटालाई ऊ त्यो फलानोचाहिँ पपुलिस्ट छ भनेर भनिरहेका हुन्छौँ । तर त्यो त्यतिमै सीमित भएको पाइँदैन । यसले राजनीतिलाई मात्रै होइन, यसले मिडियालाई पनि गाँजेको छ,’ थापाले अघि भने, ‘यसले संसद्लाई, हाम्रा संस्थाहरूलाई, अदालतलाई समेत गाँजेको छ । पपुलिजम अब एउटा रोग नै बनिसकेको छ ।’

