काठमाडौँ, नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले राजनीतिक दलका केन्द्रीय नेताको सहभागितामा कान्तिपुर पब्लिकेशन्स्मा आन्दोलन गरिएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।
महासंघ शाखाका अध्यक्ष अनिल गिरी बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलका केन्द्रीय नेताको सहभागितामा आन्दोलन चलाउनु पत्रकारिता र महासंघको समेत अपमान भएको उल्लेख गरेका छन् । ‘सदस्यता शुद्धीकरण’ अभियान चलाइरहेको महासंघका वरिष्ठ पदाधिकारीले नै महासंघको ब्यानरमा राजनीतिक दलका केन्द्रीय सदस्यलाई समेत सहभागी गराई भाषण गराउनु पत्रकारिता र पत्रकार महासंघको पनि अपमान हो । यसमा सरोकारवाला सबैको ध्यानाकर्षण हुनेछ भन्नेमा हामी विश्वस्त छौं’ विज्ञप्तिमा छ । महासंघ केन्द्रले शाखाको कामकारबाही माथि नै प्रश्न गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष गिरीले शाखा नेपाल पत्रकार महासंघको विधान, २०६० अन्तर्गत लोकतान्त्रिक विधि र पद्धतिअनुसार गठित व्यावसायिक पत्रकारहरुको निकाय भएको स्मरण गराएका छन् ।
‘यसअघि प्रतिष्ठान शाखाले १२ असोज २०८० मा कान्तिपुर व्यवस्थापकसँग राखेका १२ बुँदे मागप्रति महासंघले पत्रमार्फत ऐक्यबद्धता जनाएको थियो । तर प्रतिष्ठान शाखा र व्यवस्थापनबीचका चरणबद्ध वार्तापछि गरिएको सहमतिलाई भने महासंघ केन्द्रले भने अवमूल्यन गरेकामा हामी दुःखी छौं’, विज्ञप्तिमा छ,’कान्तिपुर व्यवस्थापन र पत्रकारका ‘प्रतिनिधिबीच’ भएको सहमति भनी टिप्पणी गर्नु प्रतिष्ठान शाखाको अस्तित्व अनादर हो ।’
महासंघ केन्द्रले ‘प्रतिष्ठान शाखाको लेटरहेड व्यवस्थापन पक्षबाट दुरुपयोग भएको भन्दै लगाएको आरोप मनगढन्ते र कपोलकल्पित मात्र शाखले उल्लेख गरेको छ । ‘ महासंघ केन्द्र के कसरी चल्छ भन्ने विषयमा समेत आशंका पैदा भएको छ,’ शाखाको विज्ञप्तिमा छ,’त्यतिमात्र होइन, प्रतिष्ठान शाखा व्यवस्थापनसँग वार्तामा रहेका बेलासमेत महासंघबाट शृंखलाबद्ध रुपमा विज्ञप्ति जारी गरिनु, पत्रकारको करार सेवा रद्द र सरुवा फिर्ता तथा स्वेच्छिक अवकाशमा जान चाहेका पत्रकारका हकमा प्याकेजसहितको सहमति भएपछि प्रतिष्ठान शाखासँग कुनै सोधपुछ वा परामर्श नगरी रातारात आन्दोलनका कार्यक्रम घोषणा गरिनु दुर्भाग्यपूर्ण छ ।’
नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखा सदैव श्रमजीवी पत्रकारको पक्षमा रहेको र त्यसैअनुसार अघि बढिरहन दृढ रहेको विज्ञप्तिमा छ ।

