काठमाडौं । सूर्तिजन्य पदार्थमा अहिले उठेको करबाट झण्डै ६ अर्ब रकम उठ्ने गरेको पाइएको छ ।
प्रतिनिधि सभा बैठक, २०८० असार ११ गते, सोमबार भएका विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा ४० करोड मात्र पाइरहेको जानकारी दिए । ‘सूर्तिजन्य पदार्थमा लगाएको कर स्वास्थ्य मन्त्रालयले पाउनु पर्ने हो की अन्य मन्त्रालयले पाउनु पर्ने हो ? यसमा माननीयज्यूहरुले सहयोगको अपेक्षा गरेको छुँ,’ उनले भने ।
स्वास्थ्य मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थमा कर बढाउन जरुरत भएको बताए । ‘संसारभर नै सबैभन्दा कम कर लिने मुलुकमा नेपाल परेको छ,’ स्वास्थ्य मन्त्री बस्नेतले भने,‘ करबाट उठेको रकम गरिबको उपचारकोलागि भनेर अर्थ मन्त्रालयमा पेश गरेका थियौं । ’
नेपालको चुरोट बजारमा सूर्य नेपाल प्रालिको एकाधिकारजस्तै छ। बजारमा उपलब्ध चुरोट मध्ये अधिकांश सूर्य नेपाल प्रालिको छ । सूर्य नेपालबाट उत्पादित चुरोटले करिब ९७ प्रतिशत बजार हिस्सा ओगटेको छ। २०४३ सालमा खुलेको सूर्य नेपालले ३७ वर्षदेखि एकलौटी बजार हिस्सा ओगटेको छ ।
सरकारी उद्योग जनकपुर चुरोट कारखाना बन्द छभने निजी क्षेत्रको सूर्य नेपालको सशक्त उपस्थिति छ। तत्कालीन सोभियत संघ (रुस) को सहयोगमा जनकपुर चुरोट कारखाना स्थापना भएको थियो। राजा महेन्द्र शाहले २०२१ पुस २९ मा उद्घाटन गरेको जनकपुर चुरोटले वार्षिक २ अर्ब ३६ करोड खिल्ली चुरोट उत्पादन गथ्र्यो।सुरुमा गरुड, चुचुरा, सिंह, ज्वाला, जानकी नामका चुरोट उत्पादन गरेको जनकपुरले पछि कोसेली, मुनाल, दोभान, कस्तुरी, हिमचुली, आशा ब्रान्ड बजार ल्याएको थियो। गोर्खा लहरीले चुरोट उत्पादन गरे पनि उसको हिस्सा न्यून छ। गोर्खा लहरीको बजार हिस्सा तीन प्रतिशतहाराहारी छ।
यसबीच चौधरी ग्रुपले २०७० सालमा चुरोट उद्योगमा २० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय ब्रान्डको चुरोट क्यामेल नेपाल ल्याएर बिक्री सुरु गरेको थियो।
सूर्य नेपाल आउनुअघि जनकपुरको एकछत्र राज थियो। पछिल्लो चरणमा देउराली, उपहार, गैंडा, याक, सयपत्री तथा लालीगुराँस ब्रान्ड उत्पादन गथ्र्यो।सूर्य नेपाल बहुराष्ट्रिय कम्पनी हो। सूर्य नेपाल प्रालिले सन् १९८६ देखि नेपालमा कारोबार सुरु गरेको हो। यसमा सबैभन्दा बढी सेयर स्वामित्व आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत छ। ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ताको छ। त्यस्तै, २ प्रतिशत सेयर लगानी भने ब्रिटिस अमेरिकन टोबाको इन्भेस्टमेन्टको छ।नेपालमा निजी क्षेत्रको तर्फबाट सञ्चालित कम्पनीमध्ये सबै भन्दा बढी कमाउने कम्पनी नै यही हो।
यसले सन् २०२२ मा २७ अर्ब १ करोड १४ लाख सञ्चालन आम्दानी गरेको छ। नाफाबाट १० अर्ब ४० करोड ३० लाख बराबरको लाभांश घोषणा गरेको छ। यस कम्पनीले सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली, चौतारी, शिखर लेजेन्ड, शिखर २४ क्यारेट ब्रान्डका चुरोट उत्पादन गर्दै आएको छ। नेपालमा आयातीत चुरोट पनि बिक्री हुन्छ, तर त्यसको हिस्सा बजारमा नगण्य छ। नेपालमा बिक्री हुने लगभग सबै चुरोट सूर्य नेपालकै हो। एक वर्षमा २७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार गरेको छ। अघिल्लो वर्ष उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो।
एक वर्षमा सूर्य नेपालको चुरोट कारोबार २ अर्ब ५२ करोड रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। सन् २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो।यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो। चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ।
औद्योगिक व्यवसाय ऐन २०७६ ले चुरोट उद्योगको अनुमतिको लागि स्वीकृति लिनुपर्ने बताएको छ। त्यसकारण नेपालमा लगानी गरेर तत्काल चुरोट उद्योग स्थापना गर्न पाइँदैन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहने औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले अनुमति प्रदान गर्नुपर्ने हुन्छ। बोर्डमा उद्योगमन्त्री, योजना आयोगका सदस्य, राष्ट्र बैंकको गभर्नर, उद्योगसचिव, अर्थ मन्त्रालयका सचिव, श्रम मन्त्रालयका सचिव, भूमि सुधार मन्त्रालयका सचिव, वन मन्त्रालयका सचिव, लगानी बोर्डका सीईओ, उद्योग मन्त्रालयको सम्बन्धित सहसचिव र निजी क्षेत्रको प्रतिनिधि समेत बोर्ड सदस्य हुन्छन्। यसको बैठकले अनुमति प्रदान गर्नुपर्ने हुन्छ। त्यतिले मात्रै पनि लाइसेन्स पाइँदैन। बोर्डले अनुमति दिएको प्रस्ताव सहित उद्योगमन्त्रीले मन्त्रिपरिषद्मा लाइसेन्सको प्रस्ताव पेस गर्नुपर्ने हुन्छ। मन्त्रिपरिषदले पास गरेको खण्डमा मात्रै चुरोट उद्योग सञ्चालनको लाइसेन्स पाइन्छ। सरकारले जनकपुर चुरोट उद्योग सञ्चालन गर्ने सरकारले अध्ययन हरु समेत गरिरहेको छ। तर कुन मोडालिटीमा सञ्चालन गर्ने त्यसको निर्णय सरकारले गरेको छैन। विसं २०६० को दशकभन्दा अघि नेपालमा सबै भन्दा धेरै चुरोट यही कारखानाले उत्पादन गर्ने गर्थ्यो। फिल्टर र ननफिल्टर गरी जनकपुर चुरोट कारखानाले कुल ४८ वटा ब्राण्ड उत्पादन गर्थ्यो। जनकपुर चुरोट कारखाना वा नयाँ लाइसेन्स दुवै पाउने कोसिस भने शंकर ग्रुपले गरिरहेको छ। नयाँ लाइसेन्स वा जनकपुर चुरोटको सेयरको लागि यो ग्रुप मन्त्रालय धाइरहेको एक अधिकारी बताउँछन्। त्यसका अलवा केही समयअघि आईएमई ग्रुपले समेत जनकपुर चुरोट उद्योगमा लगानी गर्न चाहेको थियो।
सूर्यको देशभरि १ सयभन्दा बढी थोक विक्रेता छन्। सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ। सरकारले उद्योगलाई वर्षेनि सम्मान गर्दै आएको छ। सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ। सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।

