काठमाडौं (कास)– कान्तिपुर पब्लिकेशन्स् लिमिटेडले विविध कार्यक्रम गरी ३० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले हरेक क्षेत्रमा संकट देखिएको बताएका छन् । उनले भ्रामक र मिथ्या सूचनासँग जुध्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले कान्तिपुरलाई दुई हजार जनाको साझा परिवार भन्दै हरेक चुनौती सामना गर्न सक्ने क्षमता रहेको उल्लेख गरे । टिमवर्क नै कान्तिपुरको मुख्य उपलब्धि भएको उनले बताए । ‘विभिन्न विभागमा रहेका कर्मचारीको लगन र इमान्दारिताका कारण कान्तिपुर सधैं एक नम्बर छ,’ उनले भने, ‘यसको श्रेय कान्तिपुरको टिमवर्कलाई जान्छ ।’
कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले नेपालको निजी क्षेत्रको व्यावसायिक मिडिया ३० वर्षसम्म निरन्तर चल्नुको ठूलो महत्त्व रहेको बताए । सामाजिक सञ्जाललाई आधार बनाएर ‘पपुलिस्ट पोलिटिक्स’ गर्ने बढेको बताउँदै उनले ‘मासलाई कन्फ्युजन’ गराउने परिपाटी सुरु भएकाले मास मिडियाको भूमिका बढी हुने धारणा राखे । ‘अहिले यसो हेर्दा सोसल मिडियालाई आधार बनाएर पपुलिस्ट पोलिटिक्स गर्ने अनि के झूटो, के सही हो भन्ने कन्फ्युज गराउने काम राजनीतिज्ञहरूले गरिरहेका छन्, हाम्रोमा पनि त्यो सुरु भएको छ,’ शर्माले भने, ‘यस्तो बेलामा हाम्रो भूमिका बढी हुन आउँछ । विश्वसनीय समाचार विश्वसनीय ढंगले यो संस्थाले दिन सक्छ भन्ने अहिले विश्वास छ, त्यसलाई कायम राखेर अगाडि बढ्ने चुनौती छ ।’ प्रधान सम्पादक शर्माले सामाजिक सञ्जालको प्रयोग बढेसँगै खोजी र फरक पत्रकारितामा फड्को मार्नुपर्ने बताए ।
पब्लिकेशन्स्का सीईओ महेश स्वाँरले शुभकामना मन्तव्य व्यक्त गर्दै ३० औं वर्षसम्म आइपुग्दा कान्तिपुरले धेरै संघर्ष गरेको बताए । ‘हामीले चुनौतीको सामना अझ सशक्त रूपमा गरेका छौं,’ उनले भने, ‘सबैको उत्साह र आत्मबलका कारण नै कान्तिपुरले राम्रो काम गर्न सकेको छ ।’ उनले आउँदा दिनमा कान्तिपुर झन् उज्ज्वल र सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । सीईओ स्वाँरले आम पाठकलाई कसरी धेरै केन्द्रित गराउने भन्नेमा पनि आफू र टिम लागेको बताए । उनले कान्तिपुर अझ बढी उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत
वार्षिकोत्सवको अवसरमा कान्तिपुर दैनिकका तुफान न्यौपाने, ईकान्तिपुरका उपेन्द्रराज पाण्डेय, द काठमान्डु पोस्टका अनिल गिरी, फोटो पत्रकार केशव थापा, कान्तिपुर रेडियोकी दिवा भट्टराई र कार्यक्रम सञ्चालिका प्रियंका प्रसाईंलाई यस वर्षको उत्कृष्ट कर्मचारी अवार्डबाट पुरस्कृत गरिएको छ । अध्यक्ष एवं प्रबन्ध निर्देशक सिरोहियाले प्रमाणपत्र र नगदसहित उनीहरूलाई सम्मान गरे । यस्तै फाइनान्स विभागका भास्कर खनाल, मार्केटिङका सनोज पाण्डे, सर्कुलेसनका किशोर बस्नेत, प्रेसका विनोद सुवेदी, सर्कुलेसन विभागका डेलिभरी स्टाफ विकास केसी र प्रशासन विभागका चालक छिरिङ तामाङ उत्कृष्ट कर्मचारी अवार्डबाट सम्मानित भए ।
यसैगरी कान्तिपुर दैनिककी मधु शाही, नारी मासिककी सुजाता मुखिया र कान्तिपुरका चितवन संवाददादता रमेशकुमार पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । मार्केटिङका सन्तोष ढकाल, मानव संसाधनकी लक्ष्मी उप्रेती, प्रशासन विभागकी सरु महर्जन, फाइनान्सका सुरेश दयाल, प्रेसका अर्जुन मगर, आईटीका ललितकुमार चौधरी, प्रशासनका चालक पेमा दोर्जे तामाङ, सुरक्षा गार्ड होमनाथ दाहाल, भरतपुर प्रेसका यमकान्त भुसाल, पोखरा मार्केटिङकी सीतादेवी अधिकारी, विराटनगर स्क्यानिङ विभागका दीपेन्द्र लामा र नेपालगन्जका डिजाइन तथा लेआउट विभागका गोविन्द क्षेत्रीले पनि ‘प्रोत्साहन पुरस्कार’ प्राप्त गरे । यस्तै, पब्लिकेशन्स्ले २१ जना डेलिभरी स्टाफलाई प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गर्यो । जसमा बल्खु ड्रप प्वाइन्टका शिवराम विष्ट, वनस्थलीका मदन बस्नेत, चुच्चेपाटीका तुलाराम चौधरी, गौशालाका मोहन चौधरी, जोरपाटीका बिपुल श्रेष्ठ, कलंकीका शंकरलाल चौधरी, कौशलटारका विष्णुहरि अधिकारी, महाराजगन्जका गणेश विष्ट, नयाँ बानेश्वरका रोमनाथ भट्टराई, नयाँ बसपार्कका सविन महर्जन, न्यु प्लाजाका गणेश राउत, पुल्चोकका नानीबाबु अधिकारी, सातदोबाटोका सजित राजथला, सल्लाघारीका राजु त्वाती, सुविधानगरका हरेराम रायमाझी, ठमेलका शिवराम मगर, थानकोटका अनिश श्रेष्ठ, टोखा दोबाटोका गणेश कार्की, त्रिपुरेश्वरका ताराबहादुर थापा, प्वाइन्ट इन्चार्ज रमेश लुइँटेल र प्रेसका ध्रुव रायमाझीले पनि प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
कान्तिपुरले यस वर्षको कान्तिपुर पत्रकारिता पुरस्कार पनि प्रदान गरेको छ । प्रेस इन्स्टिच्युटले सञ्चालन गरेको आधारभूत पत्रकारिता तालिममा उत्कृष्ट भएका गगन ढकाल, दस जोड दुईअन्तर्गत पत्रकारिता विषयमा उत्कृष्ट हुने विद्यार्थी रिशेका जोशी र त्रिविअन्तर्गत पत्रकारिता विषयमा स्नातकतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने अनुशा रोक्कालाई कान्तिपुर पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही ७ हजार र प्रमाणपत्र छ ।

