काठमाडौं, बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेले उक्त आदेशविरुद्ध गत मंसिर २९ गते उच्च अदालत पाटनमा निवेदन दिए । उनले बेरीतको आदेश बदर गरी पाऊँ’ भन्दै साधारण तारेखमा बसेर मुद्दाको प्रतिरक्षा
गर्न पाउनुपर्ने माग राखेका थिए ।
‘जिल्ला अदालतको थुनछेक आदेश मिलेन । बेरीतको भयो भनेर उच्च अदालत पाटनमा निवेदन दिइएको हो’, उनका कानुन व्यवसायी अधिवक्ता बलराम
सापकोटाले भने । त्यसको एक सातापछि उक्त मुद्दा पुस ७ गते न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी चढेको थियो । तर, लामिछानेकै कानुन व्यवसायीले स्थगन गराए । ।।।बार डे’ परेका कारण कानुन व्यवसायीले स्थगन गराएका कारण सुनुवाइ हुन पाएन ।त्यसपछि पुस १४ गते अर्को पटक पेसी चढ्यो । तर, हेर्न नभ्याइने’मा परेपछि सुनुवाइ हुन पाएन । ।।।त्यो मुद्दा पाँच नम्बरमा परेको थियो । चार नम्बरमा रहेका मुद्दाको सुनुवाइ भयो । पाँच नम्बरको मुद्दाको पालै आएन । त्यसकारण हेर्न नभ्याइनेमा परेको हो’, उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले भने । उक्त दिन न्यायाधीशद्वय सुभास पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । हेर्न नभ्याइने’मा परेपछि मुद्दाको सुनुवाइ हुन सकेन । रजिस्ट्रर कट्टेलका अनुसार सुनुवाइ नभएकाले सो मुद्दा बिहीबार पनि पेसीमा चढेको छ । पेसी तोकिएको छ । बिहीबार सुनुवाइ हुनेमा आसावादी छौं’, अधिवक्ता सापकोटाले भने । उनका अनुसार थुनामा रहेका लामिछाने मानसिक तनावमा परेकाले मनोपरामर्श दिइएको छ ।
मुद्दा गम्भीर भएको र कानुन व्यवसायी धेरै भएका कारण पनि मुद्दाको सुनुवाइमा धेरै समय लाग्ने रजिष्ट्रार कट्टेलको भनाइ छ । ‘यो गम्भीर इस्यू हो । पेसीमा अगाडि नम्बरमा प¥यो भने सुनुवाइ होला । हेर्दाहेर्दै राख्ने चलन छैन’, उनले भने, ‘कानुन व्यवसायी धेरै छन् । छिटोछिटो बहस गरे त सकिहाल्थ्यो ।’ यो मुद्दामा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, मुरारी सापकोटा, बलराम सुबेदीलगायत कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ । लामिछानेका कानुन व्यवसायीले ।।।पीडित किशोरी’ नाबालिग नभएको दाबी गर्दै आएका छन् । जबरजस्ती करणी मुद्दामा सजाय निर्धारण गर्न पीडित महिलाको
उमेरलाई महत्वपूर्ण आधार मानिन्छ । प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छिन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले पुस १२ गते पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको थियो । उमेरसम्बन्धी विवादमा इजलासले किशोरीको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो । इजलासले अर्का क्रिकेट खेलाडी देव खनाल र पीडितको स्वास्थ्य परीक्षण गरेका
चिकित्सकलाई पनि झिकाउन आदेश दिएको छ । खेलाडी र चिकित्सकलाई पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ । पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
OOO
कहिले भए कारागार चलान ?
नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भए । वादी र प्रतिवादी दुवैतर्फको थुनछेक बहसपछि शुक्रबार ( कात्तिक १८ गते )काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मुद्दाको किनारा नलागेसम्म प्रतिवादीलाई थुनामा राख्न आदेश भएबमोजिम सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथ देवल चलान गरिएको छ ।
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतबाट लेखिआएबमोजिम उनलाई ‘भद्र ब्लक’ मा राखिएको छ ।सन्दीपले अब कारागारमै बसेर आफूमाथि लागेको अभियोगको प्रतिरक्षा गर्नु पर्नेछ । पीडितका तर्फबाट बहस गरेका सरकारी वकिलहरूले सन्दीपले नाबालिग बलात्कार गरेको तथ्य र प्रमाणबाट पुष्टि भएकाले उनलाई थुनामा राखेर मुद्दाको किनारा लगाउन माग गरेका थिए । यता प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले तारेखमा राख्न माग गरेका थिए । तर, अदालतले प्राप्त प्रमाणका आधारमा उनलाई तारेखमा छाड्न इन्कार गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार मुलुकी अपराध संहिता २०७४ को दफा २ सय १९ अनुसार १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउनुपर्ने मागदाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार सन्दीपलाई सजाय हुनुपर्ने मागदाबी छ । उक्त उपदफामा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ । काठमाडौं प्रहरी वृत्त गौशालाले गत कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । त्यसको अर्को साता सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनको सुझावअनुसार नै सजाय मागदाबी लिएर अभियोगपत्र अदालतमा दायर गरेको थियो ।लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैरोबी उड्नु अघिल्लो रात घटना भएको उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् ।
सन्दीपले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा पीडित नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट भदौ २२ मा प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । जाहेरी पर्दा सन्दीप केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका उनी असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उनी वेस्ट इन्डिजमै रहँदा नेपाली क्रिकेट टिको कप्तानबाट निलम्बनमा परेका थिए । अदालतले पक्राउ गरी अनुसन्धान अघि बढाउन भदौ २३ मा आदेश दिएलगत्तै फरार सूचीमा समेटिनुका साथै कप्तानबाट निलम्बनमा परेका थिए । त्यसपछि विदेशबाटै सम्पर्कविहीन सन्दीप उतैबाट अमेरिका पुगेका थिए । असोज ७ मा इन्टरपोलले समेत फरार सूचीमा राखेर खोजी थालेपछि उनी अमेरिकाबाट कतार हुँदै असोज २० मा नेपाल आएका थिए ।
पक्राउ गरेलगत्तै उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए ।
पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्नेछ । त्यसपछि लामिछानेलाई अदालत उपस्थित गराइनेछ । पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
OOO
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।
अदालतले पक्राउ अनुमति दिएलगत्तै लामिछाने प्रहरीको फरार सूचीमा समेटिएका थिए भने त्यही दिन नेपाल क्रिकेट संघ ९क्यान० ले कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीको फरार र अध्यागमनको कालो सूचीमा समेटिँदा तथा अदालतले पक्राउ गर्न अनुमति दिँदा लामिछाने सीपीएलमै आबद्ध थिए । भदौ २४ मा जमैकाबाट फेसबुक र ट्वीटरमार्फत लामिछानेले आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताए पनि त्यसको केही दिनमै उनी अमेरिका उडेका थिए । स्रोतका अनुसार लामिछाने अमेरिका पुगेको सुइँको नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई दिएको थियो । लामिछानेले भने आफू रहेको स्थानबारे केही खुलाएका थिएनन् ।
दोस्रो पटक असोज ९ मा लामिछानेले पुनः फेसबुकमार्फत नै आफू छिट्टै नेपाल आएर कानुनी लडाइँ लड्ने बताएका थिए । त्यसबेला अमेरिकामा रहेका उनले आफू रहेको मुलुकबारे पनि केही उल्लेख गरेनन् । तर, त्यसको दुई दिनअघि नै प्रहरीले असोज ७ मा विश्वका प्रहरीको साझा संगठन इन्टरपोलको डिफ्युजन नोटिसमा समेटेर खोजी कार्य अघि बढाएको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

