बेइजिङ । चीनमा कोभिडसम्बन्धी प्रतिबन्धहरु एकाएक खुकुलो पारिएपछि देशव्यापी रुपमा कोरोना संक्रमण उच्च दरमा फैलिँदै गएको छ ।
कोरोनाको ताजा लहर आएको र अस्पतालहरु बिरामीले भरिँदै गएको भन्दै विश्वस्वास्थ्य संगठन डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका आपतकालीन प्रमुख डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीको संख्या तुलनात्मक रुपमा कम रहेको बताए पनि सघन उपचार कक्षहरु व्यस्त रहेको बताएका छन् ।
डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रिएससले चीनमा विकसित भइरहेको परिस्थितिप्रति विश्व स्वास्थ्य संगठन अत्यधिक चिन्तित रहेको बताएका छन् । उनले यथास्थितिको समीक्षा गर्न, रोगको गम्भीरता, अस्पताल भर्ती र संघन उपचार कक्षका आवश्यकताबारे चीनले विस्तृत जानकारी दिनु पर्ने बताएका छन् ।माध्यमले जनाएका छन् ।
चीनमा आगामी दिनमा कोरोना संक्रमण थप बढ्न सक्ने र आगामी वर्षमा दश लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्नेतर्फ अनुसन्धान प्रक्षेपणहरुले देखाएको रोयटर्सले उल्लेख गरेको छ ।
चीनले जारी गरेको आधिकारिक तथ्यांकमा बुधबार कोरोनाका कारण कसैले पनि ज्यान नगुमाएको देखाएपनि रोगको यथार्थ असरबारे जानकारी नगराइएको आशंका गरिएको छ ।
पछिल्ला दिनमा बेइजिङ र देशका अन्य सहरका अस्पतालहरु कोरोना संक्रमितका कारण भरिँदै गएको छ । शून्य कोभिड नीतिअन्तर्गत चीनले २०२० देखि नै लकडाउन लगायतका कठोर स्वास्थ्य प्रतिबन्धहरु लगाउँदै आएको थियो । तर विरोध प्रदर्शन चर्किएपछि दुई साताअघि मात्रै चीनले ती प्रतिबन्धहरु खुकुलो पारेको थियो । त्यसयता कोरोना संक्रमण निकै बढेको छ ।
संक्रमितको संख्या उच्च भएपनि आधिकारिक तथ्यांकले भने कोभिडका कारण सोमबार दुई जना र मंगलबार पाँच जनाको मात्र मृत्यु भएको देखाएको छ ।
ओमिक्रोनको सब भेरिएन्ट (बीएफ सेभेन) का कारण चीनमा कोरोना संक्रमण उच्च भएको जनाइएको छ । भारतमा पनि उक्त सब भेरिएन्टका चार बिरामी फेला परेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

